२० बैशाख २०८१, बिहिबार | May 2, 2024

जनआन्दोलनको सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती मनाइँदै



काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका उनी सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । ऐतिहासिक सो जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा सिंहले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मेका उनको २०५४ असोज २ गते निधन भएको हो । काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंह विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा सक्रिय थिए ।

राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायत नेतालाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि नै भद्रगोल जेल फोडेर भाग्न सफल हुनुभएका जोशिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भएका थिए । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । केही सहयोगीका साथ विसं २००३ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको विसं २००७ को क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरे । देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहे। नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील थिए ।

विसं २०१५ मा पहिलो निर्वाचनपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले विसं २०१७ मा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए। विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे । विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरूद्ध सक्रिय रहेका थिए ।

तत्कालीन पञ्चायती सरकारले बिपीसँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट सफाइ पाए। गणेशमानले विसं २०३६ को विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले विसं २०४२ को सत्याग्रह आन्दोलनको नेतृत्व गरेका थिए । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान विसं २०४६ मा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बने ।

नेता सिंहलाई विसं २०१७ पुस १ गतेको ‘कू’पछि विसं २०२५ सम्म बिपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । २०२५ मा जेलमुक्त भएपछि बिपीसँगै भारत निर्वासनमा जानुभएका नेताहरुलाई २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा दोस्रोपटक थुनियो ।

विसं २०६१ भदौ २४ गते बन्दीगृहलाई बिपी सङ्ग्रहालयमा रुपान्तरण गरिएको थियो । गणेशमान जयन्तीका अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ७ : ३८ बजे

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ