२० मंसिर २०८२, शनिबार | December 6, 2025

पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’



रामपुर । कोरोनाको बाबजुद तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ । दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको सङ्ख्या यहाँ बढ्दो छ ।

पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक बढेका छन् । अहिले दैनिक चार सय हाराहारी मानिसहरु आउने गरेको डुङ्गा चालक भगवान देवकोटा बताउँछन् ।

उनी भन्छन्, ‘माघे सङ्क्रान्ति पश्चात् मानिसहरु दिनहुँ बढेका छन्, हामीलाई पनि डुङ्गा चलाउने काम पुगेकै छ, जाडोको समय भएकाले दिउँसो घाम ताप्दै ताल वरपर घुम्नेहरु धेरै आउने गर्नुहुन्छ’ । ताल वरपर डुङ्गामा घुम्न प्रतिव्यक्ति रु ५० शुल्क लाग्छ । यहाँ हाल काठका दुईसहित तीन वटा डुङ्गा प्रयोगमा ल्याइएको छ । विशेषगरी तालपोखरामा युवायुवती र बालबालिका डुङ्गा सयर गर्दै सेल्फीमा रमाउँने, भिडियो तथा टिकटक बनाउने र फोटो खिचाउनेको भीड लाग्छ ।

एक सय पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचिकृत पर्यटकीयस्थल तालपोखरामा हालसालै विभिन्न पूर्वाधार स्तरोन्नतिका कामहरु सम्पन्न गरिएपछि यसको सुन्दरताले पर्यटकलाई लोभ्याएको छ । कोरोना कहरमा केही समय बन्द गरिएपनि अहिले भने नियमित रुपमा डुङ्गा चलिरहेको छ । डुङ्गा सयर गर्न विभिन्न ठाउँबाट मानिसहरु तालपोखरा आउने गरेको तालपोखरा संरक्षण समितिका सदस्य जनक भण्डारी बताउँछन् ।

मानिसको चहलपहल बढ्दै गएपछि हाँसको आकार भएको आठ जना बस्न मिल्ने छानोसहित फाइवरको डुङ्गा एउटा र २३ फिटको छानासहित काठको एउटा डुङ्गा तयारी रहेको उनले बताए । अहिले मिनी फेवातालका रुपमा परिचित बनेको छ, ‘तालपोखरा । पोखराको फेवातालको झल्को दिनेगरी पर्यटकीय पूर्वाधारका कार्यहरु भएपछि अहिले रामपुरको पर्यटन विकासमा यसले योगदान दिएको स्थानीय प्रदिप पाण्डेयले बताए ।

तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा प्रयोगमा नआउने सामान्य खाडलजस्तो जमिनलाई तालको रुपमा विकास गरी पर्यटकीय क्षेत्र बनाइएको बताउँछन् । ‘एक दशकदेखि तल्लिन भएर तालपोखराको स्तरोन्नतिमा समितिले भौतिक पूर्वाधारका कामहरु गरिरहेको छ, काम गर्ने मनसाय भयो भने बजेट पनि विभिन्न ठाउँबाट उपलब्ध हुने रहेछ’, अध्यक्ष देवकोटाले भने । अध्यक्ष देवकोटाका अनुसार हालसम्म विभिन्न क्षेत्रको सहयोगमा पर्यटकीय पूर्वाधार विकासमा रु तीन करोड ५० लाख बढी रकम खर्च भइसकेको छ ।

श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ गरी विसं २०६६ बाट यहाँ पर्यटन प्रवर्द्धनको काम शुरु गरी अहिले पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको छ । फेवातालको झल्कोस्वरुप तालको बीचमा मन्दिर निर्माण गरिएको छ ।

यहाँ २०७४ माघ २४ गतेदेखि डुङ्गा सञ्चालन शुरु गरियो । नियमित दुई वटा डुङ्गा सञ्चालन हुँदै आएकोमा कोरोनाको कहर शुरु भएपछि स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै डुङ्गा सञ्चालन बन्द गरिएकोमा गत असोजबाट भने नियमित छ । करिव ४५ रोपनी क्षेत्रफलमा ताल फैलिएको छ । तालको बीच भागमा जलेश्वर महादेवको मन्दिर छ ।

ताल वरिपरि घेराबार, प्रवेशद्धार, पर्यटकका निम्ति फोटो खिचाउन तालको आडैमा सेल्फी जोनको व्यवस्था छ । यसको नाममा पोखरी र पार्क समेत छ। पार्कमा विभिन्न कार्यक्रम, वनभोज हुन्छ । ताल र पार्कसहित करिव ७५ रोपनी क्षेत्रफल तालपोखरा समितिको नाममा छ। वर्षायामको पानी जम्मा हुने पोखरीलाई विकास गरी तालको रुपमा परिणत गरिएको हो ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ८ : ५१ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय