७ पुस २०८२, सोमबार | December 22, 2025

एकीकृत समाजवादी सिद्धार्थनगरको प्रतिबद्धताः भ्रष्टाचारमुक्त नगर, लक्षित वर्गलाई कर छुट



भैरहवा । शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास, फोहोरमैला र पार्किङ व्यवस्थापन, भ्रष्टाचारमुक्त नगर लगायतमा जोड दिँदै नेकपा एकीकृत समाजवादी सिद्धार्थनगर नगरपालिकाले ३१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी पार्टीका तर्फबाट सिद्धार्थनगरका मेयर पदका उम्मेदवार कुलेन्द्र पुन, नगर अध्यक्ष रामबहादुर बस्नेत, उपाध्यक्ष सार्दुल मयूर कसौधन लगायतले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै मेयर उम्मेदवार पुनले आफूहले जे गर्न सकिन्छ, त्यही कुरा मात्रै अघि सारेको जनाए । प्रतिबद्धता पत्रमा ‘हाम्रो नगर राम्रो नगर’ बनाउन नगरमा मुख्य समस्याकोरुपमा रहेको फोहोरमैलालाई उचित व्यवस्थापनसहित फोहोर प्रशोधन उद्योग निर्माणलाई पहिलो प्रथामिकतामा राखिएको छ । यस्तै, पर्यटन क्षेत्रको विकास नै सिद्धार्थनगरको समृद्धिको मूल आधारको भएको बताउँदै यसको विकासलाई जोड दिइएको छ । नगरलाई कृषि उद्योग र पर्यटन व्यवसायबाट आत्म निर्भर बनाइने प्रतिबद्धतामा उल्लेख गरिएको छ ।

नगरको मुख्य समस्याका रुपमा रहेको पार्किङलाई पूर्वाधारमा र नयाँ बन्ने पूर्वाधारहरुमा अन्डरग्राउन्ड पार्किङ्गको व्यवस्थालाई मिलाइने जनाइएको छ । यप्रतिबद्धता पत्रमा भनिएको छ, ‘ननगरको सर्वाङ्गीण विकासमा निजी क्षेत्र, सामाजिक संघसंस्था, नागरिकसमाज, टोल सुधार समिति, आमा समूहहरु जस्ता संघसंगठनको समन्वय, सहकार्य, सह–अस्तित्व र संस्कृतिको विकासमा जोड दिइनेछ । नगरका अधुरा योजनालाई पहिलो प्राथमिकतामा राखिने छ । लक्षित कार्यक्रमलाई निरन्तरता दिंदै थप नयाँ कार्यक्रमलाई अगाडि बढाइनेछ ।’

यस्तै, वातावरणीय दृष्टिकोणले सरसफाईयुक्त, प्रदुषणमुक्त बनाउन र हरित नगरपालिका निर्माणमा विशेष पहल गरिने, स्वास्थ्य वीमालाई कडाईका साथ कार्यान्वयन गरिने, राजश्व वृद्धिमा भन्दा दायरालाई फराकिलो पारिने, एकीकृत सम्पत्ती करमा लक्षित वर्गलाई विशेष छुट दिइने, नगरपालिका भित्र बन्ने र बनिसकेका पूर्वाधारहरुलाई अपाङ्गमैत्री, महिलामैत्री, बालमैत्री, जेष्ठ नागरिकमैत्री बनाउने जनाइएको छ ।

‘अति विपिन्न परिवारलाई शिक्षा, स्वास्थ्य, रोजगारी आदिमा विशेष योजना अगाडि बढाइनेछ र भएका योजनालाई निरन्तरता दिइने, सुत्केरी आमाहरुसंग शुभकामना सन्देशसहितको कोशेली भेट कार्यक्रमलाई निरन्तरता दिने, नगरभित्र सफा खानेपानी, सार्वजनिक शौचालय र व्यावस्थित बधशालाकोनिर्माण गर्ने, नगरभित्र रहेका छाडा चौपाया र भुसिया कुकुरहरुलाई व्यावस्थित गर्ने, नगरभित्र रहेका मठमन्दिर, मस्जिद, गुम्बा र देवालयको उचित संरक्षण गरि भौतिक साधनस्रोतको उपलब्धता गराइनेछ’, प्रतिबद्धतामा भनिएको छ ।

नगरभित्र शान्ति, अमनचयनको अनुभूति गराउनुका साथै भष्ट्राचारमुक्त नगरको रुपमा स्थापित गरिने पुनले बताए । ‘नगरमा भएगरेका र हुने पूर्वाधारहरुमा क्वान्टिटीमा भन्दा क्वालिटीमा जोड दिने, नगर क्षेत्र भित्र आइपर्ने समस्याहरु तथा जनगुनासाहरुलाई यथासक्य सुन्ने, बुझ्ने र समाधान गर्ने, बालशिक्षा, प्रौढ शिक्षा र आधारभूत तालिमलाई विशेष जोड दिने र नगरलाई पूर्ण साक्षर तथा दक्ष नागरिकको रुपमा अघि बढाउने, कला, साहित्य, संस्कृति, पत्रकारिता, खेलकुद र असल उद्योगी तथा समाजसेवीलाई सम्मान गर्ने’, प्रतिबद्धता पत्रमा उल्लेख छ ।

नगरभित्र यत्रतत्र छरिएर रहेका अटोसर्विसहरुलाई उचित ठाउँमा व्यवस्थापन गरी ग्यारेज तथा सर्भिसिङ्ग गर्ने अटो व्यवसायलाई अटोभिलेजमा लैजाने र निश्चित ठाउँबाट मात्र सेवा प्रदान गर्ने व्यवस्था मिलाउने छ, नगरमा आइपर्ने विपत, महामारी, प्राकृतिक प्रकोपको सामाना गरि जनतालाई हरपल साथ र सहयोग उपलब्ध गराउने, नगरभित्र रहेको खेतीयोग्य जग्गालाई विशेष संरक्षण गरी चक्लाबन्दी र खण्डीकरणको उचित व्यवस्थापन गर्ने विषयलाई प्रतिबद्धतामा समेटिएको छ ।

न्यायिक समितिले गर्नुपर्ने नगरको समस्यालाई छिटोछरितो र प्रभावकारी ढंगबाट किनारा लगाई नगरबासीहरुलाई न्यायको प्रत्याभूति दिइने र ७५ वर्ष पुगेका जेष्ठ नागरिहरुलाई घरघरमा पुगेर सेवा उपलब्ध गराउने समाजवादीले जनाएको छ । युवा वर्गलाई सम्मान गर्दै ४० वर्ष भन्दा कम उमेरका कम्तिमा ४० प्रतिबत युवालाई नेपालको राष्ट्रिय राजनीतिको मूलधारमा समावेश गर्दै नेपालमै रोजगारीका अवसर प्रदान गर्ने लक्ष्य राखी बेरोजगारी समस्यालाई न्यूनिकरण गर्न प्रयत्न प्रतिबद्धता पत्रमा जनाइएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ३ : १७ बजे

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ