४ आश्विन २०८३, आइतबार | September 20, 2026

महिलाविरुद्ध हुने सबै भेदभाव नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभावपूर्ण व्यवहारलाई नियन्त्रण गर्दै महिलाको समग्र उत्थान र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले महिलाविरूद्ध हुने सबै किसिमका हिंसाजन्य कार्य र शोषणलाई कानुनले दण्डनीय हुने व्यवस्था गरेको उल्लेख गरेका छन् । साथै, उनले राज्यका सबै निकायमा महिलाको समानुपातिक समावेशीता सुनिश्चित भएको समेत बताएका छन् ।

आज जेठ १६ गते ‘महिलाको सम्मान सभ्य समाजको पहिचान’ भन्ने राष्ट्रिय नाराका साथ चौथो राष्ट्रिय महिला अधिकार दिवस देशभर मनाइँदै छ ।

प्रधानमन्त्री देउवाले दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिला हक, अधिकारको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा कार्य गर्ने सम्पूर्ण व्यक्ति तथा संघसंस्थामा शुभकामना व्यक्त गरेका छन् । लैंगिक समानता, न्याय र महिला विकासका लागि राज्यको तर्फबाट भएका नीतिगत, कानुनी, संरचनागत एवं प्रक्रियागत सुधारको फलस्वरूप अहिले राजनैतिक तथा प्रशासनिक क्षेत्रमा महिलाको प्रतिनिधित्व र सहभागिता उल्लेखनीय रूपमा वृद्धि भएको उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले नेपालको लैंगिक विकास सूचकांकमा भएको सुधारबाट राज्यले महिला हक, अधिकारको क्षेत्रमा अवलम्बन गरेका नीति र कार्यक्रमबाट राम्रो प्रतिफल प्राप्तः भएको मान्न सकिने बताएका छन् ।

नेपालको संविधानले महिलाउपर हुने सबै प्रकारका भेदभावको अन्त्य गर्दै समानुपातिक समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ । संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा स्थापित गरी महिलालाई लैंगिक भेदभावविना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक पैतृक सम्पत्तिलगायत सबै विषयमा समान हक आदिको प्रत्याभूति गरेको छ ।

महिला सशक्तिकरण सबैको सरोकारको साझा विषय भएकाले यस विषयमा सबैले समन्वयात्मक तवरले पहलकदमी लिन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले विभिन्न कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैंगिक, सामाजिक आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न तथा विकासका समग्र पक्षमा महिलालाई मूलप्रवाहीकरण गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

दिगो विकासका लागि पुरुष र महिलाको सक्रिय र अर्थपूर्ण सहभागिता अपरिहार्य हुने उल्लेख गर्दै उनले यस तथ्यलाई मध्यनजर गरी सरकारले राज्यका सबै तह र संरचनामा महिलालाई अधिकारिक प्रतिनिधित्व गराउने नीति लिँदै आएको बताएका छन् । नेपाल सरकारले लैंगिक विभेद तथा हिंसाका घटनालाई जरैदेखि निर्मूल गर्न शून्य सहनशीलताको नीति लिई कार्य गर्दै आएको बताउँदै प्रधानमन्त्री देउवाले आगामी दिनमा यस नीतिलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गरिने दृढता व्यक्त गरेका छन् ।

दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीहलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी लैंगिक समानता र महिला सशक्तिकरणको लक्ष्य हासिल गर्ने सरकारको अभियानमा सबै एकजुट भएर लाग्न सम्पूर्ण देशवासीमा आह्वान गर्दै उनले दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ११ : २९ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन