११ बैशाख २०८१, मंगलबार | April 23, 2024

बुटवलको सहरी कृषि प्रवद्र्धन कार्यक्रम प्रभावकारी, हरियो तरकारीको स्थानीय उत्पादन र बजारीकरणमा सहयोग



बुटवल । बढ्दो सहरीकरण र खेतीयोग्य जमिन मासिंदै गइरहेका बेलामा बुटवलमा भने सहरी कृषि कार्यक्रमलाई प्राथमिकता दिइएको छ । बेमौसमी तरकारी खेतीलाई व्यवसायिक बनाउनुका साथै किसानले उत्पादन गरेको फसल धितो राखेर सुलभ ऋण अनुदानसम्मका कार्यक्रमहरु बुटवलमा सचालित छन् ।

बुटवलमा जनप्रतिनिधि चुनिएपछि सार्वजनिक जग्गाको खोजी, लगत संकलन हुँदै संरक्षण तथा बहुउपयोगसम्मका कामलाई प्राथमिकता दिइएको हो । यसैक्रममा खेतीयोग्य जमिनलाई बाँझो राख्न नदिने बरु थोरै भएपनि अनुदानको व्यवस्था गर्न थालिएपछि किसानहरुमा हौसला समेत बढेको छ ।

जग्गा भएका ठाउँमा बेमौसमी तरकारीका रुपमा कांक्रा, करेला, सिमी, बोेडी, लौका, घिरौला, भान्टा, टमाटर, काउली, खुर्शानी, च्याउ खेतीजस्ता खेतीको प्रवद्र्धन गरिरहेको छ । त्यस्ता ठाउँमा जग्गा भाडामासमेत लिएर किसानलाई खेतीमा प्रोत्साहन गरिएको छ ।

ग्रीन हाउस निर्माण गरेर किसानलाई व्यवसायिक उत्पादनमा आकर्षित गरिएको छ । त्यसरी उत्पादन गरिएको तरकारीमा सकभर जैविक मल नै हाल्ने र किटनाश विषादी पनि जैविक नै बनाएर हाल्न लगाइएको छ ।

जग्गा नभएका ठाउँमा घरको छत तथा कौसीमा उपयुक्त तरकारी खेती गराइएको छ । घरबाट निस्किने कुहिने फोहोरलाई जैविक मलका रुपमा प्रयोग गर्न सिकाउने र जग्गा भाडामा लिएर खेती गरिरहेकालाई दुबै पक्षका बीचमा छलफलका कार्यक्रमसमेत सञ्चालन गराउनेसम्मका कामलाई बुटवलले अगाडि बढाइरहेको छ ।

 

किसानका लागि समूह गठन, परिचालन, प्राविधिक सहयोग देखि अनुदान हुँदै फसल धितो राखेर सुलभ ऋण दिनेसम्मका कामहरु भइरहेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । सहरी कृषिअन्तर्गतका कामको प्रतिफल देखिन थालेपछि किसानहरुमा हौसला बढ्दै गएको र सहरमा पनि जैविक उत्पादनको माग बढिरहेको बुटवलको तथ्यांकमा छ ।

बुटवल–११ नहरपुरका किसान आत्मराप सापकोटाले करिब दुई विगाह जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेती गर्दै आउनुभएको छ । पत्नीसंगै दुई जनाको मेहनतले उहाँहरुले बार्षिक पाँच लाखसम्मको आम्दानी गर्दै आउनुभएको छ । उहाँहरुका लागि बुटवलले गत वर्ष नै एउटा ग्रीन हाउस निर्माण गरिदिएको थियो । यो वर्ष नयाँ कार्यक्रममासमेत उहाँलाई समावेश गर्ने तयारी छ ।

सहरी तरकारी खेती प्रवद्र्धनका लागि किसानको उत्पादनलाई व्यवसायिक बनाउने पहल भइरहेको प्रमुख सुवेदीले बताउनुभयो । सहरी क्षेत्रको कृषि उत्पादनको माग आपूर्तिको लागि सहर र वरपरका क्षेत्रमा कृषिलाई व्यवस्थित र आधुनिक गर्ने विकल्पमा केन्द्रित रहेको प्रमुख सुवेदीको भनाइ छ ।

बुटवलले सुरु गरेको किसानको फसल धितो राखेर ऋण दिने कार्यक्रम मुलुकमै नौलो मानिन्छ । किसानले उत्पादन गरेको धान तथा गहुँको मूल्याकंन गर्दै उनीहरुलाई पायक पर्ने सहकारी मार्फत फसल धितो राखेर ऋण उपलव्ध गराइँदै आएको छ । यो कार्यक्रमबाट बुटवलका सयौं किसानहरु प्रत्यक्ष लाभान्वित भइरहेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो ।

कौसी खेतीबाट उत्पादित तरकारी तथा फलफूलहरू तुलनात्मक रूपमा ताजा र स्वस्थ हुने गर्दछ । कौसी खेतीमा भान्छामा खेर गएका पानी र आकासे पानीको प्रयोग गर्ने र भान्छाबाट निस्किने कुहिने वस्तुहरूबाट प्राङ्गारिक मल बनाउन समेत सिकाइएको छ । घरेलु प्रविधिबाट बन्ने जैविक विषादी स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

सापेक्षित आद्रता, तापक्रम, माटोको पीएच आदि बदलेर गरिने खेतीलाई बेमौसमी खेती भनिन्छ । बेर्ना उत्पादन र खेती प्लास्टिक टनेलभित्र गर्ने तरिकामा वृद्धि भइरहेको कृषि शाखा प्रमुख सन्तोष जिसीले बताउनुभयो । मौसमी उत्पादनको तरकारी बजारमा नआएको समयमा बेमौसमीबाट उपलब्ध गराउने गरि किसानहरुलाई थोरै अनुदान दिइएको र सहकार्य जारी राखिएको जिसीको भनाइ छ ।

बुटवलले किसाहरुका लागि फलामबाट निर्माण गरिएका टनेलहरू बनाउन सहयोग गरेको छ । यस्तो टनेल टिकाउ हुने र काम गर्न सजिलो हुने बुटवल–१२, तामनगरका किसान यमबहादुर थापाले बताउनुभयो ।

बेमौसमी खेतीमा आधुनिक औजार–मेसिन, उन्नत बीउबिजन, विषादी, मल, थोपा सिंचाईलगायतका प्रविधिहरूको प्रयोगलाई प्राथमिकतामा राखिएको बताउँदै उपमहानगरका प्रमुख सुवेदीले परम्परागत खेतीको विकल्प व्यवसायिक खेती हो भन्ने कुरालाई बुझाउने काम भइरहेको बताउनुभयो ।

यस वर्ष मात्रै बुटवलले कौसी खेतिका लागि तीन सय जनालाई तालिम दिएको छ । यसअघि तालिम लिएकाहरुले उत्पादन गरेर बजारमा पठाइसकेका छन् । उनीहरु टोलविकास संस्थाबाट छनौट भएका थिए ।

अधिकांश भारतीय उत्पादन विक्री वितरण हुँदै आएको बुटवलको तरकारी तथा फलफूलको थोक कृषि उपज केन्द्रमा पछिल्लो समयमा स्थानीय उत्पादन पनि जुट्ने गरेको छ । यो केन्द्रमा सामाजिक दूरी कायम नभएको, भारतीय व्यापारीहरु समेत आएर अनावश्यक भीडभाड बढेको भन्दै बुटवलले बन्द गराएको छ ।

असुरक्षा महसुश गर्दै केही समयलाई बन्द गराइएको छ । उपमहानगरले यहीँ बेलामा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न मूल्यसूचि र ताजा उत्पादनसहित किसानहरुको सूचि सार्वजनिक गरेको हो ।

खेतीयोग्य ठाउँमा व्यवसायिक रुपमा र खेतबारी नभएका ठाउँमा घरको छत तथा कौसीमा फलाइएका विभिन्न जातका तरकारीलाई बुटवल उपमहानगरपालिकाले प्रवद्र्धन गरिरहेको छ । टनेलका माध्यमबाट बेमौसमी र कौसीमा विभिन्न प्रजातिका तरकारी उत्पादन गर्दै आएका किसानलाई व्यवसायिक बन्ने अवसर सिर्जना भएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको विश्वास छ ।

मूल्य सूचिसहितका ताजा तरकारी बोकेर उत्पादकहरु घरघरमा

अहिले लकडाउनको कारण तरकारीजन्य उपजमा कमी भएको गुनासो आइरहेका बेला बुटवलमा भने नौलो कामको सुरुआत भएको भन्दै बुटवलको प्रसंसा भएको छ । मूल्यसूचि र उत्पादनको भने नियमित अनुगमन गर्नुपर्ने केही अगुवाहरुले सुझाव दिएका छन् ।

बुटवल उपमहानगरपालिकाले मूल्यसूचिसहित उत्पादित ताजा हरियो तरकारी बेचबिखन गर्ने कसानहरुको सूचि नै सार्वजनिक गरेपछि केही विचौलियाहरुमा भने छटपटी भएको बताइएको छ ।

विभिन्न तरिकाले तरकारी उत्पादन गर्दै आएका उपमहानगरका किसानहरुको नाम, फोन नम्बर र उत्पादित बस्तुको विवरण उपमहानगरपालिकाले सार्वजनिक गरेको छ । संगसंगै उपमहानगरले कृषि उपजको मूल्यसूचि समेत सार्वजनिक गरिदिएको छ । सामाजिक दूरी कायम गर्दै सुरक्षित तरिकाले नगरका १९ वटै वडाहरुमा घर–घरमा नै तरकारी पु¥याउन मिल्नेगरि व्यवस्था मिलाइएको र अनुगमन पनि भइरहेको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाका कृषि विकास शाखा प्रमुख सन्तोष जिसी नेतृत्वको टोलीले यस्ता किसान तथा उनीहरुको उत्पदन र मूल्यकोसमेत अनुगमन गर्नेछन् । शाखा प्रमुख जिसीका अनुसार बुटवललगायतका आसपासका क्षेत्रमा उपभोक्ताको लागि आवश्यक परेको तरकारीजन्य बस्तु किसानलाई फोन गरेर सिधै मगाउन सक्ने छन् ।

यसको लागि किसान र उपभोक्ता हरुलाई विशेष सुरक्षा व्यवस्थापन गर्न भनिएको छ । बुटवल उपमहानगरपालिकाले बुटवल कृषि उपज केन्द्रको सहकार्यमा तरकारीको संकलनको लागि मोवाईल भ्यानसमेत सञ्चालन ल्याएको कृषि शाखा प्रमुख जिसीले बताउनुभयो । मुख्य स्थानका लागि ताजा तरकारि मोबाईल भ्यानबाट तपसिलका कृषकहरुले सेवा लिएका छन् ।

यस्तो छ यो साताको मूल्यसूचि

१.टमाटर प्रति के जि रु ५०-७० ।
२.सिमि प्रति के जि रु ७० ।
३.काक्रो प्रति के जि रु ४० ।
४.भाण्टा प्रती के जि रु ३०-६०।
५.च्याउ प्रति के जि रु २५०।
६. बन्दा प्रति के जि रु ३० ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ९ : २५ बजे

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको

बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो मातृभाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले नेपालमै पहिलो पटक फरक फरक भाषा बोल्ने

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

मलेखु । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै

गृहमन्त्री लामिछाने भन्छन्- तीन दशकका अभ्यासहरुलाई सच्याउन समय लाग्छ

काठमाडौं  । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन दशकका अभ्यासहरुलाई

बुटवल उपमहानगरले ल्यायो चार भाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा