नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको पुतला दहनसँगै सम्पन्न भएको छ । बडादसैँ अवसरमा आयोजित यस वर्षको रामलीला महामहोत्सव अन्तर्गत बुधबार अपरान्ह रावण वध कार्यक्रमसँगै यस वर्षको रामलीला मञ्चन् सम्पन्न भएको हो ।
विषेश आकर्षणकारुपमा रहने रावण बधका लागि यस वर्ष नेपालगन्जको ऐतिहासिक रामलीला मैदानमा दहनका लागि ४५ फिट अग्लो रावणको विशाल पुतला तयार पारिएको थियो।
१५९औँ संस्करणको रामलीला नेपालगन्जमा घटस्थापनादेखि सुरु भएको थियो । नेपालगन्जमा वर्षौँदेखि परम्परागत रूपमा रामलीला नाटक मञ्चन र दशहरा मेला लाग्ने गर्दछ।
महोत्सवमा भारतको वृन्दावनबाट आएका २५ जना कलाकारहरूको समूहले विजयादशमीको दिनसम्म विभिन्न रामलीलाका प्रसंगहरू मञ्चन गरेका थिए।
रावण दहन र दशहरा मेला अवलोकन गर्न नेपालगन्ज र वरपरका क्षेत्रका साथै छिमेकी मुलुक भारतबाट समेत ठुलो संख्यामा सर्वसाधारणहरू रामलीला मैदान पुगेका थिए।
रावण वध (दहन) सँगै असत्यमाथि सत्यको र अधर्ममाथि धर्मको विजयको उत्सव मनाइएको छ। यसपछि भरत मिलाप तथा शुभराज्याभिषेक गरेर ऐतिहासिक रामलीला महोत्सवको औपचारिक समापन गरिने आयोजक रामलीला सञ्चालक समितिले जनाएको छ।


















प्रतिक्रिया