७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

हराभरा छ निकुञ्ज, प्रफुल्लित छन् वन्यजन्तु



चितवन । लकडाउनका कारण मानिसहरु घरभित्रै सीमित भएका छन् । बजारसम्म जान नपाएको मानिस निकुञ्जसम्म पुग्ने त कल्पना नै भएन । मानवीय गतिविधि नभएपछि निकुञ्ज हराभरा भएको छ भने वन्यजन्तु प्रफुल्लित छन् ।

सामान्य अवस्थामा चितवन राष्ट्रिय निकुञ्जमा दैनिक एक हजारभन्दा बढी पर्यटक घुमफिर गर्दथे । निकुञ्जको बाटो हुँदै माडीलगायतका ठाउँमा मानिस ओहोरो–दोहोर गर्दथे । लकडाउनसँगै मानवीय गतिविधि शून्यजस्तै भएपछि निकुञ्ज हराभरा हुनुका साथै वन्यजन्तु रमाइरहेका हुन् । निकुञ्जमा अहिले सुरक्षागस्तीका बाहेक अन्य मानिस छिर्न पाएका छ्रैनन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले एउटा घाँसेमैदानमा ६०० सम्म चित्तल, एउटै पोखरीमा १४ वटासम्म गैँडा, सौराहाबाट कसरासम्मको १७ किलोमिटर यात्रा गर्दा ३२ गैँडा देखिएको बताउनुभयो । उहाँका अनुसार निकुञ्जको भिम्लेफाँटमा कर्मचारीले ६०० चित्तल गनेका थिए । काभ्रेतालमा पाँच दिनअघि रुपाखेती आफँैले १४ गैँडा देखेको बताउनुभयो । उहाँ आफैँ सौराहाको प्रवेशद्वारबाट कसरासम्म जाँदा चार बच्चासहित ३२ गैँडा देख्नुभएको थियो । यो बाटो जिप सफारीको बाटो हो । उहाँले भन्नुभयो, “एउटै फाँटमा ४२ गौरीगाई पनि देखिएका छन् । मानवीय गतिविधि बन्द भएपछि निकुञ्जमा वन्यजन्तु स्वतन्त्र विचरण गरिरहेका छन् ।”

चैत ११ गतेदेखि शुरु भएको लकडाउनसँगै निकुञ्ज प्रवेशमा रोक लगाइएको छ । यो समयमा नियमितजस्तै पानी परेर आगो नियन्त्रण भएको, माटोमा चिस्यान पुगेको र घाँसे मैदान व्यवस्थापन गरिएसँगै निकुञ्जका विभिन्न क्षेत्रमा पर्याप्त घाँस देख्न सकिन्छ । तिनै घाँसेमैदानमा वन्यजन्तु रमाउँदै विचरण गर्ने गरेको उहाँको भनाइ छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार दैनिक ७२ वटा जिप निकुञ्ज छिर्ने गर्दथे । जसले दैनिक एक हजारभन्दा बढी पर्यटक निकुञ्ज घुमाउन लैजाने गर्दथे । सौराहाबाट ३२, कसराबाट २५, अमलटारीबाट पाँच, मेघौलीबाट नौ र माडीबाट एउटा जिपलाई निकुञ्ज प्रवेश अनुमति छ । एउटा जिपमा १० पर्यटक बस्ने व्यवस्था हुन्छ । ती जिपले पर्यटकअनुसार दिनमा दुई तीन पटकसम्म निकुञ्ज जाने गर्दथे । उप्रेतीको भनाइमा निकुञ्ज हुँदै माडी, ठोरीका जनता ओहोरदोहोर गर्नेमा त्यो क्रम पनि अहिले न्यून छ ।

गत वर्ष चैत महिनामा २२ हजार ३२९ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । वैशाखमा यो सङ्ख्या २२ हजार ६८७ थियो । तर यस वर्ष वैशाखमा शून्य छ भने चैतको १० दिनमा तीन हजार ९०६ जनाले निकुञ्ज घुमेका थिए । निकुञ्ज हराभरा हुँदै गर्दा वर्षभरिको पर्यटकको सङ्ख्या भने न्यून हुने देखिएको छ । गत वर्ष एक लाख ८७ हजार १०९ पर्यटक निकुञ्ज छिरेकामा यस वर्षको चैत १० गतेसम्म यो सङ्ख्या एक लाख ७० हजार ३२८ पुगेको थियो ।

संरक्षणकर्मी एवं जटायु रेष्टुरेण्ट व्यवस्थापन समितिका संयोजक डिबी चौधरीले मानिसको चहलपहल घटेसँगै निकुञ्जभित्र वन्यजन्तुको चहलपहल बढेको बताउनुभयो । यो मौसम पालुवा पलाउने, फूल फुल्ने र जनावरले प्रजनन गर्ने समय भएकाले उनीहरुका लागि निकै महत्वपूर्ण र खुशी हुने बेला भएको उहाँको भनाइ छ । यसैबेला मानवीय गतिविधि शून्य भएपछि वन्यजन्तु निकै रमाएको चौधरीको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्लले लकडाउनले निकुञ्जभित्र नै पर्याप्त आहार पाएपछि वन्यजन्तु बस्ती नआएको बताउनुभयो । मध्यवर्ती क्षेत्रमा आहारका लागि गैँडा, बँदेल, चित्तल आएर जनतालाई दुःख दिने गर्दथे । तर यो वर्ष ठूलो समस्या नभएको मल्लको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु बाघ र एकसिङ्गे गैँडाका लागि प्रख्यात छ । गैँडा, चित्तल, लघुना, गौरीगाई, बँदेल, भालुसँगै ठाउँठाउँमा बाघसमेत देखिने क्रम बढेको प्रमुख संरक्षण अधिकृत रुपाखेतीले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ९ : ५७ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल