१७ आश्विन २०७९, सोमबार | October 3, 2022

आफै भित्रको विकृति विसंगती त्यागेर प्रेस स्वतन्त्रता दिवस मनाउने कि ?



मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस । विश्वभरी सूचनामा हक राख्ने नागरिक सहित सञ्चाकर्मीहरुले आजको दिनलाई प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाईरहेकाछन् । नेपालमा पनि विगत २ दशक पहिलेदेखि यो दिवस मनाउन थालिएको छ । प्रेस स्वतन्त्रताको कुरा गर्दा सामान्यतया मानव जीवनको हरेक गतिविधिसहित राज्य र समाजमा भए गरेका गतिविधिहरु आम नागरिकसम्म पुग्ने र नागरिकले थाहा पाउने अधिकारलाई सुनिश्चित गर्ने नै बुझ्ने गरिन्छ । समाजका समग्र गतिविधीको सूचना र सन्देश प्रवाह गर्ने मुख्य दायित्व बोकेको प्रेसको पछिल्लो समय भने राजनीतिमा बढी केन्द्रित भएको र राज्यका भए नभएका सूचना प्रवाह गर्ने काममा पनि दुरुपयोग भएको पाईन्छ । वाक स्वतन्त्रताको नयां नयां अभ्यास गरिरहेका कतिपय स्थानमा त प्रेस अराजकहरुको भिड्तन्त्रको रुपमा समेत विकास भएको पाईन्छ । कतिपय अवस्थामा प्रेसले आफ्नो मर्यादा र आचार संहिता बिर्सिदिँदा राज्यको र समाजको नजरमा सधैं निशाना समेत बन्ने गरेको छ भने कतिपय शासकहरुले आफ्नो सर्बसत्ताबाद कायम राख्न प्रेसलाई सधें दुस्मनकारुपमा समेत लिने गरेको पाईन्छ । वाक स्वतन्त्रतासहित प्रजातन्त्रको अभ्यास सुरु गरेपछि नै नेपालमा प्रेसको महत्व र प्रेसको भुमिका बढ्दै गएको हो ।

राणा, पञ्चायत र राजतन्त्रात्मक शासन व्यवस्थामा नेपालमा कहिल्यै प्रेस स्वतन्त्र ढंगले फष्टाउन सकेन । प्रेसलाई आफ्नो नियन्त्रणमा राख्ने विगतको शासन ब्यवस्थाको प्रचलनमा लोकतन्त्र हुंदै गणतान्त्रीक ब्यवस्था आउंदा समेत राज्य संचालकहरुमा निरन्तरता दिने मनोभावना यदाकदा देखिने गरेको छ । शासकहरुले प्रेसलाई सधैं दुश्मनका रुपमा हेर्ने र अपराधहरुलाई लुकाउने भरपुर प्रयास गरिरहंदा पनि प्रेसले निडरताकासाथ त्यस्ता अपराध, विकृति र विसंगतिहरुलाई जनसमक्ष पु¥याउन सफल भएको छ । कतिपय अवस्थामा प्रेस संचालकहरुको भूमिका पनि तटस्त र स्वतन्त्र नभईदिँदा शासकहरुलाई प्रेसमाथि दमन गर्ने अवसरहरु खुल्ने गरेकाछन् ।

नेपालको सन्दर्भमा कुरा गर्ने हो भने मुलुकले लोकतान्त्रिक अभ्यास गरिरहँदा पनि प्रेसले मिसन पत्रकारिता गर्न छाडेको छैन । राज्य होस वा समाज, यी दुबै भित्रका अपराधिक चरित्रसँग मिलिभगत गरेर कालोलाई सेतो र सेतोलाई कालो बनाउने काममा समेत कतिपय अवस्थामा प्रेसको दुरुपयोग भएको देखिन्छ । कति सञ्चाकर्मीहरुमा त आफुसँग मिडियाको परिचयपत्र भएकै भरमा आफुभन्दा ठुलो समाजमा अरु कोहि छैन भन्ने अह्मता समेत देखिने गरेको छ । प्रेसको कार्डकै भरमा अराजक बन्ने, समाजको मानमर्यादा र नैतिकतामाथि नजरअन्दाज गर्दै हिँडेका दृश्यहरु पनि देख्न सकिन्छ । हामीले प्रेस स्वतन्त्रता दिवस मनाई रहँदा हामी भित्रको विकृति र बिसंगतीलाई त्याग्न पनि हामी तयार भयौं भने मात्र दिवस मनाएको सार्थकता रहन्छ ।

के हो ? प्रेस स्वतन्त्रता दिवस

१९९१ मा २९ अप्रिलदेखि ३ मे सम्म नामिवियाको विन्डहकमा आयोजित युनेस्कोको साधारणसभामा अफ्रिकन छापा संचारमार्फत विश्वभर प्रेस स्वतन्त्रताका लागि आवाज उठाइएको थियो । युनेस्कोको उक्त साधारणसभाले विन्डहक घोषणापत्र जारी गरी प्रेस स्वतन्त्रतालाई प्रजातन्त्र र आधारभुत मानव अधिकारको कसिका रुपमा स्विकार गर्यो । युनेस्कोको त्यो धारणालाई सन् १९९३ को डिसेम्बर २० मा राष्ट्रसंघको महासभाले स्वीकृत गर्यो । विन्डहक घोषणापत्र जारी भएको दिनलाई औपचारिक रुपमै संयुक्त राष्ट्रसंघको बैठकले विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाउने घोषणा गर्यो । मानवअधिकार सम्बन्धी घोषणापत्र १९४८ को धारा १९ मा समेत वाक स्वतन्त्रतालाई आधारभुत मानवअधिकारको रुपमा व्याख्या गरिएको छ ।

नेपालको संविधान २०७२ को भाग ३ मा प्रेस तथा संचार सम्बन्धी व्यवस्थाहरु उल्लेख गरिएको छ । जसअनुसार धारा १७ मा स्वतन्त्रताको हकअन्तर्गत प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता हुने लेखिएको छ । त्यस्तै, धारा १९ मा संचारको हक सम्बन्धी छुट्टै व्यवस्था उल्लेख गरिएको छ । जसमा विद्युतीय प्रकाशन, प्रसारण तथा छापा लगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्व प्रतिबन्ध लगाइने छैन भनि उल्लेख गरिएको छ । नेपालमा प्रेस स्वतन्त्रतालाई प्रभावकारी रुपमा कार्यन्वयन गर्नका लागि सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ समेत जारी भइसकेको छ ।

मुलुक सवल हुनलाई स्वतन्त्र प्रेस अपरिहार्य हुन्छ । मानवअधिकारको स्रोत मानिएको प्रेस स्वतन्त्रता बिना देश लोकतान्त्रिक हुन सक्दैन । नागरिक सुसूचित हुने अधिकार नै प्रेस स्वतन्त्रता हो । प्रेसले स्वतन्त्रपूर्वक निर्वाह गर्ने आफ्नो भूमिका नै प्रेस स्वतन्त्रता हो । प्रेस स्वतन्त्रतालाई अभिव्यक्ति स्वतन्त्रताको अंशका रुपमा लिइन्छ । प्रेस स्वतन्त्रतालाई सुशासनको पूर्वाधार पनि भनिन्छ । नेपालमा संविधानमै प्रेस स्वतन्त्रताका पदावलीहरु लिपिवद्ध भए पनि पत्रकारहरुले भने त्यसको पूर्ण अनुभूति गर्न सकेका छैनन । विश्वभर वार्षिक सरदर दुईसय पत्रकारहरु थुनामै रहेका हुन्छन् । नेपालमा पनि समाचार लेखेकै कारण पत्रकारहरु हत्या, धम्की, आक्रमण तथा अपहरणको सिकार भएकाछन् । नेपाल पत्रकार महासंघको तथ्यांक अनुसार नेपालमा द्वन्द्वकालमा सरकार र तत्कालिन नेकपा माओवादीबाट ३३ जना पत्रकार मारिए । अन्य ३ जना अझै वेपत्ता छन् । प्रेस स्वतन्त्रताको जस्तै चर्को आवाज उठे पनि संचार गृहहरुमाथि निरन्तर भौतिक आक्रमण भएकाछन् । समाचारमा स्रोतको सुरक्षा प्रत्याभूति भएको छैन । यसरी संविधान र कानुनहरुमा प्रेस स्वतन्त्रताको सम्बोधन भएको छ भने व्यवहारमा त्यो स्वतन्त्रता अझै भनेजस्तो गरी अनुभूत छैन । आज हामीले विश्व प्रेस स्वतन्त्रता दिवस मनाईरहँदा प्रेसमाथि राज्यसहित विभिन्न निकायबाट हुने आक्रमणको विरुद्ध संगठित हुने प्रतिवद्धतासहित प्रेस भित्रै रहेको विकृति र विसंगतिको अन्त्य गर्ने घोषणा गर्न सक्नुपर्दछ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ८ : ५७ बजे

बस र ट्रक जुध्दा १५ घाइते, ५ जनाको अवस्था गम्भीर

कैलाली । कैलालीबाट बझाङका लागि छुटेको बस र बझाङबाट धनगढीतर्फ

एमाले मधेश प्रदेशको जिम्मेवारीमा हेरफेर, महोत्तरीमा बढ्यो विवाद

महोत्तरी । नेकपा एमाले मधेश प्रदेशले निर्वाचनलाइ केन्द्रित गरी जिम्मेवारीमा

मनास्लु हिमालमा पुनः हिमपहिरो, एकजनाको मृत्यु

गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः

खल्लो हुने भयो राउटेको यस पटकको दसैं, पाएनन् भत्ता

सुर्खेत । तीन महिनादेखि समाजिक सुरक्षा भत्ता नपाउँदा राउटे समुदाय

निर्वाचनमा करिब २० हजार पर्यवेक्षक परिचालन हुने

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा