१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

विदेशमा अलपत्र नेपाली नागरिकलाई स्वदेश फर्काउने सरकारको तयारी



काठमाडौं । सरकारले कोभिड–१९ का कारण रोजगार गन्तव्यमा अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारीमा रहेको जनाइएको छ ।

श्रम रोजगार पत्रकार समूहले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ का कारण रोजगारी गुमाएर तथा भिसा सकिएर अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकारले तयारी थालेको बताउनुभयो ।

नेपालीलाई फर्काउने विषयमा अध्ययन गर्न परराष्ट्र मन्त्रालयको नेतृत्वमा सरोकारवाला सहभागी रहेको टोली गठन गरिएको मन्त्री ज्ञवालीको भनाइ छ । विदेशमा समस्यामा परेका नेपालीको तथ्याङ्क सङ्कलन शुरु भइसकेको, तत्कालै ल्याउनुपर्नेको हकमा प्राथमिकताको आधार छुट्याइएको र आवश्यक प्रबन्ध मिलाएर स्वदेश फिर्ता गरिने मन्त्री ज्ञवालीले बताउनुभयो ।

महामारीको बेला आपत्मा परेका नागरिकलाई उद्धार गरेर स्वदेश ल्याउनु निकै चुनैतीपूर्ण रहेको भन्दै उहाँले भावनामा बगेर सरकारले केही गरेन भनेर दोषारोपण नगर्न पनि आग्रह गर्नुभयो । “हाल अन्तर्राष्ट्रिय हवाई उडान बन्द छ, सबैलाई एकै चोटी नेपाल फिर्ता ल्याउन सक्ने अवस्था छैन”, मन्त्री ज्ञवालीले भन्नुभयो, “उडान खुलेसँगै विदेशमा रहेकालाई सुरक्षित र व्यवस्थित हुने गरी प्राथमिकताका आधारमा नेपाल ल्याउँछाँै ।”

अहिलेको विषम परिस्थितिमा आपत्मा परेका नेपालीको साथमा सरकार रहेको भन्दै उहाँले जोखिम नहुने ढङ्गबाट सरकारले योजना बनाएर उद्धारको तयारी थाल्ने बताउनुभयो । “जहाँसुकै रहेका नेपालीसँग हाम्रो भावनात्मक सम्बन्ध छ, अहिले धेरै कुराहरुलाई योजना बनाएर मात्र काम शुरु गर्नुपर्नेछ, कसरी फर्काउने र नेपालको श्रम बजारमा उहाँलाई कसरी व्यवस्थापन गर्नेबारे गहन छलफल गरेका छौँ”, मन्त्री ज्ञवालीले भन्नुभयो ।

विदेशी भूमिमा रोजीरोटी गुमाएका नेपालीलाई खान बस्न तथा कोरोना सङ्क्रमण भएकालाई उपचार गर्न सरकारले सम्बन्धित मुलुकसँग कूटनीतिक पहल गरिएको बताउँदै उहाँले गन्तव्य मुलुकमा रहेका दूतावासलाई चनाखो रहन निर्देशन दिइएको जानकारी दिनुभयो ।

सम्बन्धित देशका सरकारसँग प्रधानमन्त्रीको तहमा कुराकानी भइरहेको भन्दै उहाँले नेपालीलाई थप सहजीकरणका लागि आग्रह गरिएको बताउनुभयो । “कतिपयको करार अवधि सकिएको छ, भिसा अवधि सकिएको छ, ती देशले तत्काल समाधान गरी भिसा थप गरिदिएका छन्”, मन्त्री ज्ञवालीले भन्नुभयो, “सङ्क्रमितलाई आफ्ना नागरिकसरह उपचार सुविधा दिन अनुरोध गरिएको र ती देशले आफ्ना नागरिकसहर नै उपचार गरेका छन् । कहीँकतै असुविधा भएको जानकारी आएको छैन ।”

कार्यक्रममा श्रम आप्रवास विज्ञ एवं इक्विडेम रिसर्च सेन्टरका दक्षिण एशिया निर्देशक रामेश्वर नेपालले अहिलेको अवस्थामा सरकारको भूमिका थप प्रभावकारी हुनुपर्ने बताउनुभयो । उहाँले अलपत्र कामदारको उद्धारका लागि संयन्त्र बनाउनुपर्ने साथै गन्तव्य मुलुकमा रहेका नेपालीमा कोरोनाको परीक्षण र उपचारमा ध्यान दिने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल पत्रकार महासङ्घ, कतारका अध्यक्ष करिम बक्स मियाँले कोरोनाका कारण धेरै कम्पनी डुब्ने खतरा रहेकाले रोजगार कम्पनीले कामदार निकालेका तर स्वामित्व नलिने कारण तिनको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

महासङ्घ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेले कुवेतमा कामबाट निकालिएका र बिदामा बसेका नेपालीको सङ्ख्या निकै रहेको भन्दै उनीहरुलाई प्राथमिकताका आधारमा नेपाल फिर्ता गर्न आग्रह गर्नुभयो । “साना मझौला कम्पनीमा कार्यरत नेपालीमा समस्यामा रहेका छन् । दूतावासको सहयोग नभएको गुनासो आउने गरेको छ”, उहाँले भन्नुभयो, “कुवेतले आममाफी दिएका तीन हजार ५०० नेपालीलाई तत्काल नेपाल लैजाने प्रक्रिया शुरु गर्नुपर्छ ।” महासङ्घ युएईका कावा अध्यक्ष मेघराज सापकोटाले कोरोनाका कारण कामदारमा मानसिक समस्याले मनोवैज्ञानिक असर देखिएको बताउनुभयो ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ४ : ४९ बजे

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई

अटिजमको कथा बोकेको चलचित्र ‘गौँथली’ आजदेखि प्रदर्शनमा

काठमाडौं । अटिजमजस्ता संवेदनशील विषयवस्तुलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली

लागत बढेपछि चपेटामा किसान

सर्लाही । बरहथवा नगरपालिका-५ हात्तीडन्डाका दिनेश महतो यतिबेला धान रोपाइमा