काठमाडौं । रौतहटको गौरमा अज्ञात समूहको गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका-४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गोली प्रहार हुँदा स्थानीय २८ वर्षीय राकेश यादव घाइते भएका हुन् ।
गोली लागेर घाइते यादवलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो । त्यहाँबाट थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।
प्रहरीका अनुसार गएराति सवा ९ बजे यादवमाथि गोली प्रहार भएको थियो । उनको ढाडमा तीन, दाहिने पाखुरामा एक तथा दुवै खुट्टामा दुई गरी गोलीका छर्रा लागेको छ ।
घटनास्थलमा ७.६२ एमएम पेस्तोलका तीनवटा खाली खोका फेला परेको प्रहरीले जनाएको छ ।
यादवमाथि कसले र किन गोली प्रहार गरेको भन्ने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
















प्रतिक्रिया