१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

कोरोनाको महामारीसँगै ‘षड्यन्त्रको सिद्धान्त’ को स्क्रिप्ट लेखिँदै



कोरोना भाइरसको महामारीले यतिबेला विश्व सकंकटग्रस्त बनेको छ । महामारीबाट विश्वभर झण्डै ४० लाख मानिस संक्रमित भएका छन् । झण्डै २ लाख ६० हजारको मृत्यु भएको छ । यसमध्ये साढे १२ लाख मानिस निको भएर घर फर्केका छन् । महामारीबाट कम प्रभावित भएको तथ्याङ्क रहे पनि कोरोना संक्रमणबाट नेपाल समेत अछुतो छैन ।

चीनको उहान शहरबाट सुरुभएको यो महामारीले विश्वकै सर्वशक्तिमान राष्ट्रहरुलाई घुँडा टेकाएको छ । अमेरिकाको चिकित्सकीय प्रणाली निकाम्मा सावित भएको छ । वेलायत, स्पेन, इटली, फ्रान्स जस्ता चिकित्सा विज्ञानमा अग्रणी मुलुकहरु कोरोना विरुद्ध सही ढंगले लड्न सकेनन् । कोरोना भाइरसको प्रभावले गलाउँदै लग्दा विश्व दुई धु्रवमा बाँढिन लागेको छ । भाइरसको उत्पत्ति र यसको प्रभावबारे शक्ति राष्ट्रहरुबीच राजनीति तनाब बढिरहेको छ ।

महाशक्ति अमेरिका र महाशक्तिको होडमा अघि बढिरहेको चीनबीच कोरोना भाइरसलाई लिएर वाक युद्ध चलिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकारहरु कोरोना भाइरसको षड्यन्त्रको सिद्धान्त लेख्न र बोल्न व्यस्त छन् । चिनियाँ विदेशमन्त्रालयका अधिकारीहरु र चिनियाँ सरकारी सञ्चारमाध्यमहरु अमेरिका विरुद्ध आगो बनेका छन् । विश्वमा नयाँ ढंगको शीत युद्ध सुरु हुनेभन्दै चिन्ता बढेको छ । त्यसै पनि अमेरिका र चीनबीचको व्यापार युद्धले तनावग्रस्त बनेको विश्व यी दुई शक्ति राष्ट्रबीच हुने कुनै पनि तनावले झन चिन्तित बनेको छ ।

वास्तवमा भाइरसको उत्पत्ती भएको चीन र अमेरिकाबीच किन यति धेरै तनाब बढ्दैछ ? यसका लागि क्यालेण्डरलाई पछाडि फर्काउँदै डिसेम्बर २०१९को अन्तिम हप्ता पुग्नुपर्छ ।

घटनाक्रम
सन् २०१९ को डिसेम्बर अन्तिमतिरबाट चीनमा श्वासप्रश्वाससम्बन्धी समस्या देखियो । चीनको हुवेई प्रान्तको उहान शहरमा देखिएको यो समस्याको खोजी हुँदै गर्दा सन् २००३ मा देखिएको प्राणघातक रोग सार्स जस्तै भएको पत्ता लाग्यो । उहानमा नयाँ रोग देखिए लगत्तै उहान म्युनिसिपल हेल्थ कमिसनले आकस्मिक सूचना जारी गर्दै निमोनिया जस्तै देखिने नयाँ रोगका बिरामीलाई प्रभावकारी उपचार गर्न चिकित्सकहरुलाई निर्देशन दियो ।

डिसेम्बर ३१ मै चीनको नेशनल हेल्थ कमिसन (एनएचसी) ले विज्ञहरुको समूह उहान पठाएर नयाँ रोगको महामारीबारे अनुसन्धान गर्न लगायो । सोही दिन उहान म्यूनिसिपल हेल्थ कमिसनले निमोनियाका २७ केस कन्फर्म भएको जानकारी सार्बजनिक गर्दै निमोनिया रोग थप फैलिन सक्ने जानकारी गराएको थियो ।

सन् २०२० को जनवरी २ मा चीनको सेन्टर फर डिजिज कन्ट्रोल प्रिभेन्सन (चाइना सीडीसी) र चाइनिज एकेडमी अफ मेडिकल साइन्सेस (सीएएमएस)ले रोगको जानकारी प्राप्त गर्न चार जना बिरामीको नमूना लिएको थियो । र, सोही दिन नेशनल हेल्थ कमिशनले रोगको प्रारम्भिक पहिचान, उपचारका लागि प्रारम्भिक क्वारेन्टाइन र अज्ञात कारण उत्पन्न भाइरल निमोनिया नियन्त्रणका लागि गाइडलाईन तयार पारेको थियो ।
चीनले यो नयाँ रोगबारे विश्व स्वास्थ्य संगठनलाई जनवरी ३ का दिन पहिलो पटक जानकारी गराएको थियो । सोही दिन चीनले हङकङ, मकाओ, ताइवान र अमेरिकालाई निमोनिया फैलिएको घटनाबारे जानकारी गराउँदै सावधानी अपनाउन आग्रह गरेको थियो ।

जनवरी ४ मा चीनको (सेन्ट्रर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन) सीडीसी प्रमुखले अमेरिकाका सीडीसी निर्देशकलाई टेलिफोन गरी निमोनिया फैलिएकोबारे जानकारी गराएका छन् । दुई पक्ष यसबारे निरन्तर सम्पर्कमा रहने र सूचनाहरु आदनप्रदान गर्ने एवं प्राविधिक सहयोग गर्ने विषयमा सहमत भएका थिए ।

जननवरी ५ मा उहान म्युनिसिपल हेल्थ कमिशनले प्रयोगशाला नतिजा सार्वजनिक गर्दै यो रोग इन्फ्लुएन्जा, एभियन इन्फ्लुएन्जा, एडेनोभाइरस, सेभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रोम कोरोनाभाइरस (सार्स कोरोना भाइरस) जस्तो रोग नभएको देखायो । लगत्तै चीनले विश्व स्वास्थ्य संगठनलाई प्रयोगशालाको नतिजाबारे जानकारी गराउँदै नयाँ भाइरसको संक्रमणबारे जानकारी गरायो । त्यसपछि सोही दिन अर्थात जनवरी ५ मै विश्व स्वास्थ्य संगठनले अज्ञात कारण देखिएको निमोनिया आउटब्रेकबारे पहिलोपटक सूचना जारी गर्दै विश्वलाई जानकारी गरायो ।

जनवरी ७ मा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं राष्ट्रपति सी चिङफिङले पार्टी केन्द्रीय कमिटिको पोलिटब्यूरोको स्थायी कमिटी बैठक आह्वान गरी उहानमा अज्ञात कारण निमोनियाको महामारी फैलिनसक्ने भएका कारण यसविरुद्ध तत्काल सक्रिय बन्न पार्टी कमिटी र सरकारका अंगहरुलाई निर्देशन दिए् ।

चीनको सीडीसीले पहिलो पटक नोभल कोरोना भाइरसको ‘स्ट्रेन’ छुट्याउन सफल भयो । जनवरी ८ मा चीन र अमेरिकाका सीडीसी प्रमुखहरुबीच टेलिफोनमा नोवल कोरोना भाइरसबारे सूचना र प्रविधिक सहयोग आदनप्रदानबारे पुनः छलफल भएको थियो ।

जनवरी ९ मा चीनले डब्लुएचओलाई फैलिँदो महामारीबारे थप जानकारी गराएको थियो । उहानमा देखिएको भाइरल निमोनियाको कारण पत्ता लगाउन प्रारम्भिक सूचना आदनप्रदान गरेको थियो । सोही दिन डब्लुएचओले आफ्नो वेवसाइटमा विज्ञप्ति जारी गर्दै छोटो अवधिमै नोवल कोरोना भाइरसको प्रारम्भिक पहिचान हुनु उल्लेखनीय उपलब्धी भएको जनाएको थियो ।

जनवरी ११ मा उहान इन्स्टिच्यूट अफ भाइरोलोजीले टेष्टिङ किट्सको विकास ग-यो । चीनको नेशनल हेल्थ कमिशनका प्रमुख मा स्याओवेई र डब्लुएचओका महानिर्देशक टेड्रोस अडानोम ग्रेबियससबीच महामारीबारे टेलिफोनमा कुराकानी भएको थियो ।

जनवरी १२ मा उहान म्युनिसिपल हेल्थ कमिशनले अज्ञात कारणले फैलिएको भाइरल निमोनिया’ नामलाई नयाँ नाम दिँदै ‘नोवल कोरोना भाइरसको कारण फैलिएको निमोनिया’ रुपान्तरण गरेको थियो । जनवरी १२ मा उहानमा नोवल कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४१ पुगेको थियो । सोही दिन डब्लुएचओले आफ्नो वेवसाइटमार्फत चीनभन्दा बाहिर थाइल्याण्डमा पहिलोपटक नोवल कोरोना भाइरसको बिरामी फेला परेको सार्वजनिक गरेको थियो ।


जनवरी २२ मा चिनियाँ राष्ट्रपतिले फ्रान्सका राष्ट्रपति इमानोअल म्याक्रोनलाई टेलिफोन गरी आफ्नो देशमा फैलिएको भाइरसबारे जानकारी गराएका थिए । म्याक्रोनले चीनलाई जस्तोसुकै चिकित्सकीय सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । जनवरी २२ मा जर्मन चान्सलर एन्जेला मार्केल र राष्ट्रपति सी बीच भाइरसकै विषयमा टेलिफोन वार्ता भएको छ । मार्केलले चीनले भाइरस पहिचान गरेर समयमै लड्न गरेको तयारीबारे चीनको प्रशंशा गरेकी थिइन ।

जनवरी २३ मा पहिलो पटक अमेरिकामा नोवल कोरोना भाइरसको बिरामी देखापरेको जानकारी अमेरिकाको सीडीसीमार्फत सीडीसी चीनले प्राप्त गरेको थियो भने त्यसलाई चीनको नेशनल हेल्थ कमिशनले रेकर्ड गरेको थियो ।

र, जनवरी २३ मै उहान इपिडेमिक प्रिभेन्सन एण्ड कन्ट्रोल हेडक्वार्टरले सूचना जारी गर्दै बिहान १० बजेदेखि उहान शहरमा प्रवेश गर्ने र बाहिरिने सडकमार्ग, रेलमार्ग, जलमार्ग र हवाईजहाज आवतजावतमा रोक लगाएको थियो । त्यसपछिका घटनाक्रमबारे त आम विश्व धेरै नै जानकार छ ।

फैलिँदो भाइरस
चीनले आफ्नो मुलुकभित्र देखिएको नयाँ रोगको बारेमा विश्व स्वास्थ्य संगठन र अमेरिका, फ्रान्स, जर्मनी, जापान, दक्षिण कोरिया सहित बाँकी देशलाई समयमै जानकारी गराएको थियो । तर, चीनमा देखिएको रोग चीनभित्रै रहने अड्कलवाजी बाँकी देशहरुले गरेर गम्भीर गल्ती गरे ।

जनवरी २३, २०२० मा चीनले उहान शहरमा लकडाउन गर्यो । सडक, रेल, हवाई र पानीजहाजहरुमा प्रतिबन्ध लगायो । चीन सबैभन्दा बढी प्रभावित बन्यो । उहानबाहेक बाँकी स्थान सुरक्षित गर्न चीनले सबैखाले उपाय अपनायो । अन्य देशलाई संवेदनशील बन्न आग्रह गर्यो । तर, कोरोना भाइरसबाट मानिस मर्ने क्रम दिन दिनै बढ्न थाल्यो । संक्रमितहरुको संख्या हजारौं पुग्यो । विश्व स्वास्थ्य संगठनले विदेशी राष्ट्रहरुलाई पनि भाइरस विरुद्ध तयारी अवस्थामा रहन भन्यो ।

जनवरी २९ मा चिनियाँ विदेशमन्त्री याङ जेइचीले अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसँग छलफल गरेका छन् । पोम्पियोले चीनले भाइरस नियनत्रणमा गरेको प्रयास सराहनीय भएको टिप्पणी गरेको समाचार चीनको सिन्ह्वा न्यूज एजेन्सी र अमेरिकाको फक्स न्यूजमा प्रकाशित भएको थियो ।

तर, जसै कोरोना भाइरस चीनबाट अन्य देशमा समेत प्रवेश गर्यो । विश्वभर अफरातफरी मच्चिन थाल्यो । चीनभन्दा बाहिर पहिलो मृत्यु फिलिपिन्समा भयो । दक्षिण कोरियाको चर्चमा कोरोना भाइरस फैलियो । दक्षिण कोरियाले दु्रत गतिमा भाइरस नियन्त्रणको पहल गर्यो ।

असफल अमेरिका
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भाइरसले अमेरिकालाई खासै प्रभावित नगर्ने दाबी गरेका थिए, त्यसबेलासम्म पनि । ट्रम्पले कोरोना विरुद्धको लडाईंमा चीनले सही दिशामा काम गरिरहेको भन्दै प्रशंशा गरिरहेका थिए ।

भाइरसले विश्वव्यापी रुप लिन थालिसकेको थियो । इटली स्पेन लगायत यूरोपका मुलुकहरु प्रभावित भैसकेका थिए । त्यतिबेलासम्म पनि अमेरिकी राष्ट्रपतिले ठूलाठूला सार्वजनिक सभाहरु गर्दै डेमोक्रयाटहरुलाई गाली गर्दै समय बिताए । अमेरिका यति धेरै निश्चिन्त बन्यो कि सर्वशक्तिमान महाशक्तिलाई कोरोना भाइरसले माखो मार्दैन ।

तर, अमेरिकामा कोरोना भाइरस प्रवेश गर्यो । अमेरिकी जनता संक्रमित बन्दै गए । वासिङ्गटन डीसी न्यूयोर्क, क्यालिफोर्निया जस्ता राज्यमा संक्रमण बढ्दै गयो । न्यूयोर्कमा मानिस मर्ने क्रमले रफ्तार लियो । परिणाम आज अमेरिका कोरोना भाइरसको सबैभन्दा चपेटामा छ । १० लाख भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । कोरोनाबाट ७१ हजार बढी अमेरिकीहरुको मृत्यु भैसकेको छ ।

अमेरिकी अस्पतालहरुमा अफरातफरी मच्चिएको छ । भाइरसलाई रोक्न न त चिकित्सकहरु तयारी अवस्थामा थिए, न त भौतिक तयारी नै थियो । यसबाट प्रष्ट बुझ्न सकिन्छ अमेरिकाले विश्व महाशक्ति बन्नका लागि बर्षेनी खर्बौ डलरको खोलो बगाइरहेको त थियो तर, चिकित्सा विज्ञान त भुत्ते पो रहेछ । चिकित्सा अनुसन्धानको क्षेत्रमा सबैभन्दा अग्रणी मुलुक भनेर दाबी गर्ने अमेरिका कोरोना भाइरसबाट वच्न टेस्टिङ किट्स, पीपीई सेट र भेन्टिलेटरको अभावमा छटपटाइरहेको छ । कोरोना भाइरसले देखाइदिएको छ, अमेरिकी स्वास्थ्य सेवा निकम्मा सावित भएको छ ।


षड्यन्त्रको सिद्धान्त

जब अमेरिकामा कोरोनाको चपेट बढ्दै गयो, राष्ट्रपति ट्रम्प र उनका सल्लाहकारहरुमा वेचैनी उत्पन्न भयो । र, त्यसपछि मात्र उनीहरुले चीनमाथि आरोपको वर्षा सुरु गरे । उनीहरुले कहिले चीनले कोरोना भाइरसबारे विश्वलाई समयमै सूचित नगरेको आरोप लगाए भने कहिले विश्व स्वास्थ्य संगठनलाई प्रभावित गरेर चीनले गलत तथ्य बताएको टिप्पणी गरे । अमेरिकी धुरीमा रहेका अष्ट्रेलिया, बेलायत जस्ता मुलुक पनि अमेरिकी आरोपकै पछि लाग्दै गए ।

कोरोना भाइरस चीनको उहानबाट फैलिएकोमा कुनै दुई मत छैन । तर, पहिलो घटनाा कसरी भयो, मानिसमा कसरी सर्यो, जनावरबाट जनावरमा सर्ने भाइरस मानिसमा कसरी आयो भन्ने बारे अनेकौं अड्कलबाजीहरु अझै भैरहेका छन् । अमेरिका लगायत पश्चिमा सरकारहरुले यतिबेला चीनलाई उहान इन्स्टिच्यूट अफ भाइरोलोजीको प्रयोगशालाबाट भाइरस बाहिरिएको आरोप लगाइरहेका छन् । तर, अमेरिका, वेलायत, अष्ट्रेलिया, जापान लगायत देशका प्रख्यात भाइरोलोजिष्टहरु, जेनेटिक वैज्ञानिकहरु कोरोना भाइरस कुनै ल्यावबाट निस्केको नभै जनावरबाट मानिसमा सरेको पुष्टि गदैछन् । अधिकांश सङ्क्रामक रोगमा जस्तै यो नयाँ कोरोनाभाइरस पनि चमेरोबाट अन्य कुनै प्रजातिको जीवमार्फत थाहै नपाईकन मानिसमा सरेको हुनसक्ने वैज्ञानिकहरु बताइरहेका छन् ।

अब यता, चीनविरुद्ध भने यही भाइरसको नाममा षड्यन्त्रको नयाँ सिद्धान्तको प्रतिपादन गरिएको छ । राजनीतिक रुपमा कसैलाई नङ्ग्याउन पर्यो भने यस्तो षड्यन्त्रका अनेकौं सिद्धान्तहरु प्रतिपादन हुँदैआएको छ । कोरोना भाइरसको महामारीले नराम्ररी नाङ्गिएको अमेरिकाले चीनलाई दोषी देखाउन यस्तो सिद्धान्तको सहारा लिएको छ ।

वैज्ञानिक तथ्यलाई अमेरिकी राष्ट्रपति ट्रम्पले अस्वीकार गरिरहेका छन् । तथ्य बताउने वैज्ञानिक सल्लाहकारहरु राष्ट्रपतिको सल्लाहकार परिषदबाट धमाधम निकालिँदैछन् । चीन सम्पूर्ण रुपले दोषी हो भन्नेहरु मात्र अहिले ह्वाइट हाउसको प्रिय बनिरहेका छन् ।

यतिबेला, राष्ट्रपति ट्रम्प र विदेशमन्त्री एवं सीआईएका पूर्व निर्देशक माइक पोम्पियो दाबीका साथ भन्दैछन, ‘कोरोना भाइरसको उत्पत्ति उहानको भाइरस प्रयोशालामा भएको हो ।’ तर, उनकै मुलुकसहित, वेलायत, क्यानडा, अष्ट्रेलिया र न्यूजिल्याण्ड (5-EYE) बीचको जासुसी सूचना आदनप्रदानमा वैज्ञानिक तथ्यका आधारमा कोरोना भाइरस उहानको प्रयोगशालामा नभै उहानको बजारबाट सरेको दाबी गरिएको छ ।
अर्थात, शक्तिशाली ट्रम्प र उनका दाहिने हात पोम्पिओ चीन विरूद्ध षड्यन्त्रको सिद्धान्त अनुसार मात्र आरोप लगाउँदैछन् । किनकी केही महिना भित्रै अमेरिकामा राष्ट्रपति निर्वाचन हुँदैछ । ट्रम्पलाई पुनः राष्ट्रपति बन्नु परेको छ । अमेरिकाभित्रै उनको लोकप्रियता दिनदिनै खस्किँदै गएको छ । त्यसैले ट्रम्पले राष्ट्रवादी गोराहरुको सबै मत प्राप्त गर्नका लागि चीनलाई आरोपित गरिरहनु आवश्यक छ ।

सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा ‘रसिया कार्ड’ सिद्धान्त प्रयोग भएको थियो । सन् २०२० मा ट्रम्पले ‘चाइना कार्ड’ सिद्धान्त प्रयोग गर्न खोजेका छन् । ट्रम्पलाई चुनाव जित्छु भन्ने विश्वास सकिँदै गएको छ । अमेरिकाको आन्तरिक राजनीतिक लप्काले चीनलाई पोलेको छ । र, चीन पोलिँदा यसको दीर्घकालिन असर सम्पूर्ण विश्व नै बन्ने आधार तयार हुँदैछ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १२ : १८ बजे

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका दुई मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी

धनगढी । – (नाउपा)का सुदूरपश्चिमका दुई बिना विभागीय मन्त्रीहरूले कार्यभार

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रद्ध

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु

काठमाडौं । गत फागुन २३ गते बिहान ४ः४० बजे सुलोचना

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने

काठमाडौं । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा