१६ माघ २०७९, सोमबार | January 30, 2023

जेष्ठ नागरिक बढार्ने पश्चिमा समाज



केही हप्ता पहिले न्यूयोर्कका गभर्नर एन्डर्स कुमोले नर्सिङ होममा कोरोना भाइरस महामारीको सङ्क्रमणलाई ‘सुख्खा घाँसमा लागेको आगोको संज्ञा’ दिनुभएको थियो । पत्रपत्रिकामा ‘नर्सिङ होममा आश्रित १३ हजारभन्दा बढीको मृत्युले अमेरिका चिन्तित’ भन्ने समाचार प्रकाशित भए । ‘न्यूयोर्कको एउटै नर्सिङ होममा ९८ जनाको मृत्यु’ शिर्षकको अर्को समाचार पनि प्रकाशित भयो। ‘यो अत्यन्तै हृदयविदारक छ । अपूरणीय क्षति भएको छ । असम्भव र अकल्पनीय घटना भएको छ, मैले पत्याउनै सकिरहेको छैन’ भन्दै न्यूयोर्कका मेयर विलडे ब्लसियोले दुःख व्यक्त गरेको अर्को समाचार प्रकाशित भयो ।

लेखक

बेलायतमा लामो समयदेखि रहँदै आउनुभएका रविजङ लामिछानेले फोन सम्पर्कमा बेलायतका विभिन्न नर्सिङ होममा १२ हजारभन्दा बढी वृद्धवृद्धाको मृत्यु भइसकेको तर कुल मृत्यु सङ्ख्यामा नर्सिङ होमको सङ्ख्या सामेल नरहेको बताउनुभएको थियो ।

स्पेन सरकारले जवानहरूको उपचारमा प्राथमिकता देऊ भन्ने आन्तरिक निर्देशन दिएको कुरालाई ज्येष्ठ नागरिकको उपचारमा संलग्न डाक्टरहरूले सार्वजनिक रूपमै असहमति र असन्तोष व्यक्त गरेको खबर पहिल्यै आएको थियो ।

यी दृष्टान्तले मनमा चसक्क छोएको छ । जीवनको अन्तिम क्षणमा बेसहारा वृद्धवृद्धाहरू राम्रो उपचारविना एकै चिहान हुनुपरेको दुःखद समाचारले कोमल पूर्वीया मनलाई संवेदनशील बनाउनु स्वाभाविकै हो । भूगोलको दूरीले मानव संवेदनाको गहिराइ छोड्न सक्दैन । यद्यपि हामीसँग बन्दाबन्दीको बेला सहानुभूतिको श्रद्धासुमन चढाउनुबाहेक गर्नसक्ने केही भएन ।

अहिले पश्चिमा समाजमा करोडौँ वृद्धवृद्धा वृद्धाश्रम, हेरचाह केन्द्र, नर्सिङहोममा आश्रित छन् । पश्चिमा समाजलाई सभ्य, सुसम्पन्न, सुरक्षित, अधिकारमुखी समाज भनेर दाबी गरिँदै आएको छ । आर्थिक समृद्धिमात्रै होइन, विज्ञान प्रविधिका क्षेत्रमा समेत श्रेष्ठता हासिल गरेको भनिन्छ तर त्यही सभ्य, सम्पन्न र सचेत भनिएका राष्ट्रहरूमा ज्येष्ठ नागरिकप्रतिको अमानवीय, निर्दयी व्यवहार र ज्येष्ठ नागरिकको स्वास्थ्योपचार प्रतिको उपेक्षाभावले पश्चिमा समाजको आपराधिक र स्वार्थी चरित्रलाई प्रष्ट पार्छ । नारा र व्यवहारमा यति ठूलो अन्तर किन हुन्छ ?

पश्चिमा समाजले सामूहिक पारिवारिक संरचनालाई विघटन गरेको छ । १८ वर्षपछि छोराछोरी बाबुआमाबाट अलग हुन्छन् । बाँच्ने शैली, कामको प्रकृति रुचि स्वभावले छोराछोरी आमाबुबाबाट धेरै पर पुगेका हुन्छन् । भावनात्मक सम्बन्ध जीवनको पछिल्लो चरणसम्म पुग्दापुग्दै विच्छेद हुन्छ ।

त्यसले ज्येष्ठ नागरिकहरू जीवनको उत्तरार्धमा बेबारिसे बनेका छन् । राज्यले वृद्धवृद्धालाई निर्वाह भत्ता दिएको छ । औकात अनुसारका नर्सिङ होमले भावनात्मक र मानसिक सेवा र सन्तुष्टि दिन सम्भव छैन । अलग स्वभाव, शैली, भावना, रुचि र अलगअलग भाषा, धर्म, संस्कृति भएका ज्येष्ठ नागरिकलाई एउटै प्रकारको यान्त्रिक र औपचारिक सेवाले उनीहरूको मन रमाउँदैन तर पनि सेवाश्रमको शरणमा जान बाध्य पारेको छ सामाजिक संरचनाले ।

राज्यको आवश्यकता र आआफ्नो योग्यता क्षमता अनुसार जीवनको ऊर्जाशील समय देशको सेवामा समर्पित गरेका, राष्ट्रको सान उच्च राखेका हुन्छन् तिनैले । उनीहरू देशका लागि लडे, सेनामा भर्ना भएर । खेतबारी, कारखाना, बन्दव्यापारमा सक्रिय भएर राज्य चलाउँछौं भन्नेहरूलाई रगत र पसिनाले कर चुक्ता गरे । पाखुरीमा तागत हुँदासम्म उनीहरूको महत्व भयो तर आज कोरोना भाइरसको मुखमा उपचार नपाएर मृत्युवरण गर्दैछन् उनै ज्येष्ठ नागरिकहरू ।

पश्चिमाहरू आर्थिक रूपमा सम्पन्न छन् । धनदौलतको कुनै कमी छैन । सरकारको शरणमा बाँच्न बाध्य पारिएका असहाय वृद्धवृद्धालाई मर्ने बेलामा त्यो धनदौलतले कुनै काम दिएन । आखिर मृत्युपछि उनीहरूको सम्पत्ति चर्च, क्लब वा सरकारको हुने होला । आफ्नो आर्जन आफैँ उपभोग गर्न नपाई मर्दैछन् अहिले उनीहरू । बिचरा ! स्वार्थी समाज, मतलवी समाजको चरित्र हो अर्कोलाई कुनै मतलव वास्ता नगर्नु । मानवीय संवेदना र दयाको आत्मा मरिसकेको छ पश्चिमा विश्वमा । कोरोनाको कहरमा आखिर तिनीहरू नै शिकार हुन पुगेका छन् ।

नर्सिङ होममा आश्रित ज्येष्ठ नागरिकले उपचार पाएनन् । राम्रो हेरचाह भएन । अस्पतालसम्म पुर्याउने आफन्त भएनन् । सरकारले नर्सिङ होममा स्वास्थ्यकर्मी पठाएर समयमै स्वास्थ्य परीक्षण गराउने रुचि देखाएन । त्यसैले आज विश्वमा ६५ वर्षभन्दा माथिको उमेरसमूहका ज्येष्ठ नागरिकको मृत्यु बढी छ भनेर तथ्याङ्कले देखाउँदैछन् । २३ लाख कैदी बन्दी अमेरिकाका जेलमा छन् । उनीहरूको अवस्था झन् दर्दनाक छ भनिन्छ । आफ्नै देशमा मानवअधिकारको झण्डा बोकेर हाम्रो देशभित्र आउनेहरू कुन दुलाभित्र छिरेछन् कुन्नी ?

बेलायत सरकारले अस्पतालमा मृत्यु हुने नागरिकको मात्रै तथ्याङ्क सार्वजनिक गरेको छ । नर्सिङ होम र ज्येष्ठ नागरिक स्याहारकेन्द्रमा मृत्यु हुनेको तथ्याङ्क होइन भन्दै आएको छ । राज्यहरूलाई ज्येष्ठ नागरिक बोझ भएका छन् पश्चिमा विश्वमा भन्ने कुरा विभिन्न देशका सरकारले उनीहरूप्रति देखाएको व्यवहारले स्पष्ट हुन्छ । स्पेन सरकारले दिएको निर्देशनले समग्र पश्चिमी मुलुकको ज्येष्ठ नागरिकप्रतिको नीति र दृष्टिकोणलाई प्रष्ट पार्दछ ।

पश्चिमी देशहरूमा वृद्धवृद्धाको रेखदेखमा परिवार र सामाजिक दायित्व छैन । वृद्ध आमाबाबुको जीवनको अन्तिम क्षणमा सेवासुश्रूषा गर्नुपर्छ भन्ने नैतिक र मानवीय दायित्व हुँदैन छोराछोरीको । नौ महिना गर्भमा राखेर दशधारा छाती चुसाउने आमाको दुर्दान्त मरणमा शोक व्यक्त गर्ने र दुई थोपा आँसु चुहाउने कोही हुँदैन । कति निर्दयी कति मतलवी र स्वार्थी समाज हो त्यो ! एकल परिवार प्रणालीले कठोर ढुङ्गाको मन बनाइदिएछ छोराछोरी र आफन्तहरूको । उपेक्षा र अपमानको शिकार भएका छन् नर्सिङ होममा बाबुआमाहरू ।

लमजुङ जन्मघर भएका र हाल छोराछोरुी भेट्न अमेरिका पुगेका मङ्गल दाइलाई उतै कोरोनाले भेट्यो । अस्पतालले लिन मानेन । उहाँले त्यहाँ राम्रो उपचार पाउनुभएन । बिचरा १ उतै न्यूयोर्कमा बितेको खबरले दुःखी बनायो । बाग्लुङ नगरपालिका वडा नं. १२ का मेरै छिमेकी कर्णबहादुर केसी नानीको बिहेमा बेलायत जानुभएको थियो । उहाँलाई महामारीले उतै भेटेछ । डाक्टरले उपचार गर्न मानेनन् । अस्पतालले लिएन । आखिर उतै बितेको खबर आयो । उहाँसँगै जानुभएकी श्रीमती र अरु परिवारका सदस्य सबैलाई महामारीले छोयो ।

नेपालीहरूले अस्पतालमा भर्ना हुन पाएका छैनन् भन्ने खबर सुन्दा दुःख लाग्छ । पश्चिमा मुलुकमा सबैतिर मृत्यु हुनेको सङ्ख्या आप्रवासीको सङ्ख्या बढी छ भन्ने आएको छ । कोरोना भाइरसजस्तो मानवजातिकै खतरनाक दुश्मनसित सबै एक भएर लड्ने बेला उपचार र व्यवहारमा भएको भेदभाव निन्दनीय छ । यो मानव संवेदनाशून्य निर्दयी र आपराधिक राजनीतिक चरित्रले उत्पन्न गरेको विकृति हो । भेदभाव, पक्षपात, अपमान र उपेक्षा एकल पश्चिमा समाजका विशेषता बनेको छ ।

एकल परिवार प्रणाली पश्चिमा समाजमा छ । परिवारमा रमाउने र समूहमा बस्ने अवसरबाट वञ्चित छ प्रत्येक नागरिक । आत्मकेन्द्रित व्यक्तिवादी समाजमा व्यक्तिले अरुको वास्ता गर्ने आवश्यकता देख्दैन । परिवारमा बस्ने सामाजिक वातावरण नभएर स्याहारकेन्द्रमा शरण लिन बाध्य छन् पश्चिमा देशका ज्येष्ठ नागरिकलाई भाइरसले बढार्दैछ । सरकारले वास्ता गरेको छैन । प्रभुले बचाउन सकेका छैनन् ।

यता, सामूहिक पारिवारिक प्रणालीमा खडा छ पूर्वीय समाज । ‘मातृदेवो भव:, पितृदेवो भव:, अतिथिदेवो भव:’ । यी आदर्श वचन हुन् पूर्वीय संस्कृतिका । यी केवल आदर्श वचन मात्रै होइनन् हाम्रो पारिवारिक र सामाजिक प्रणालीका वैज्ञानिक प्रणाली पनि हुन् । यसभित्र दया, माया, आत्मीयता र मानवताको उत्कृष्ट अभिव्यक्ति छ । सामूहिकता र मर्यादा छ । सहअस्तित्व, समभाव, समन्वय र सहकार्य पूर्वीय संस्कृतिको सौन्दर्य हो । त्यसैले हाम्रो समाजमा ज्येष्ठ नागरिक बेवारिसे हुनुपर्दैन ।

वैश्विक महामारीले विश्वका शक्तिराष्ट्रहरूको आर्थिक तथा राजनीतिक प्रणाली गलत सिद्ध गरेको छ । त्यही गलत आर्थिक राजनीतिक सम्बन्धको धरातलमा उभिएको सामाजिक धरातल पनि भत्केको छ । आफ्नै नागरिकको जीवनरक्षा गर्न नसक्ने, नागरिक जीवनप्रति संवेदनशील नहुने र भेदभाव गर्ने प्रणाली बेकार निकम्मा सिद्ध भएको महसुस गर्दैछन् ज्येष्ठ नागरिकहरू ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ७ : ५८ बजे

अश्लील भिडियो बनाई महिलाको चरित्रहत्या गर्ने एकजना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दोलखा

नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना ‘महापुरुष’ समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति

काठमाडौं । निर्माण कम्पनी षट्कोण आर्ट्सले आफूहरुको सहमतिविना दुबईमा हुन

परराष्ट्रमन्त्री राई र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल र अमेरिकी राजनीतिक

राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायम छ : नेता केसी

भरतपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि

कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पदका