६ बैशाख २०८१, बिहिबार | April 19, 2024

‘तराईका सबै आइसोलेसन र क्वारेन्टिन खराब छैनन, फ्रन्टलाइनमा खटिएकाको आत्मबल बढाइदेऊ’



बुटवल । सीमावर्ती जिल्लाका आइसोलेसन र क्वारेन्टाइन केन्द्र प्रचार गरिएजस्तो अव्यवस्थित नभएको नभएको एक अनुगमन टोलीले निस्कर्ष निकालेको छ ।

प्रतिनिधिसभा र प्रदेश सभाका सांसदसहित प्रदेश ५ का रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाका सीमावर्ती क्षेत्रका विभिन्न आइसोलेसन सेन्टर र क्वारेन्टिन अनुगमनमा खटिएको टोलीले सबै प्रचार गरिएजस्तो असुरक्षित र अव्यवस्थित नभएको निस्कर्ष निकालेको हो ।

प्रतिनिधिसभाका सदस्य तथा महिला नेतृ सुजिता शाक्यको नेतृत्वमा प्रदेशसभाका सांसद, राष्ट्रिय चिकित्सक संघ नेपालको टोली र लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरु सहभागी टोलीले ३ जिल्लाका विभिन्न स्थानको अनुगमन गरेको थियो । यो टोलीले महामारी विरुद्धको अभियानमा फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन सबैले सहयोग गर्नुपर्ने सुझाव दिएको छ । आमसञ्चार र समुदायले पनि सकारात्मक सन्देश प्रवाह गर्न जरुरी रहेको अनुगमन टोलीले ठहर गरेको छ ।

चिकित्सक र स्वास्थ्यकर्मीको टोलीसहितको अनुगमनका क्रममा आइसोलेशन तथा क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढाउन सबैको भूमिका अपरिहार्य गरेको ठहर गरिएको अनुगमनमा सहभागी नेपाल चिकित्सक संघका लुम्बिनीका सचिव एवं लुम्बिनी प्रादेशिक अस्पताल मेडिसिन विभागमा कार्यरत डा.सागर न्यौपानेले जानकारी दिनुभयो ।

फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र प्राविधिकहरुलाई मनोबल उच्च राख्नेखालका कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको पाइएको डा.न्यौपानेले बताउनुभयो । सामाजिक सञ्जाल र कतिपय संचारमाध्यममा प्रचार गरिएको जस्तो अव्यवस्थित र अमानवीय व्यवहार गरिएको कहीँ कतै नपाइएको डा. न्यौपानेले दाबी गर्नुभयो ।

‘मिडियामा क्वारेन्टिन र आइसोलेशनमा मानवीय व्यवहार नभएको लगायतका समाचार आएपछि सांसदले विशेष चासो लिएर सोधी खोजी गरेकको तर, त्यस्तो कतै पाइएन’ डा.न्यौपानेले बताउनुभयो ।

बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिकासहित रुपन्देहीका लुम्बिनी सांस्कृतिक नगरपालिका, मायादेवी गाउँपालिकामा सञ्चालित क्वारेन्टिन र आइसोलेशन सेन्टरको अनुगमन गरिएको थियो ।


बुटवल, तिलोत्तमा र सैनामैनामा रहेका आइसोलेशन र क्वारेन्टिनको व्यवस्थापन उत्कृष्ट पाइएको टोलीका सदस्य तथा नेपाल राष्ट्रिय चिकित्सक संघका केन्द्रीय सदस्य डा.सम्राट पराजुलीले बताउनुभयो ।

यस्तै, सुनवल नगरपालिका, देवदह नगरपालिका, रामग्राम नगरपालिका, रोहिणी गाउँपालिका, सिद्धार्थनगर नगरपालिका भित्र सञ्चालित क्वारेन्टाइन र आइसोलेशन केन्द्रको अवलोकन भ्रमण गरेको थियो ।

सोही टोलीले कपिलवस्तुको बाणगंगा नगरपालिका, वुद्धभुमी नगरपालिका, शिवनगर गाउँपालिकालगायतका पालिकाहरुको पनि अनुगमन गरेको थियो । त्यहाँ खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमा उच्च मनोबल बढाउने खालका कार्यक्रम सञ्चालन गर्न जरुरी देखिएको संघका केन्द्रीय सदस्य डा.पराजुलीको भनाइ छ ।

कतिपय स्थानीय पालिकामा क्वारेन्टिन र आइसोलेशन केन्द्रलाई थप व्यवस्थित गर्नुपर्ने र संगसंगै त्यहाँका समुदायमा पनि सकारात्मक सन्देश प्रवाह गर्न जरुरी देखिएको अनुगमनमा गएका अर्का चिकित्सक तथा नेपाल राष्ट्रिय चिकित्सक संघ केन्द्रीय सदस्य डा.प्रशान्त आचार्यले बताउनुभयो ।

उक्त अनुगमन टोलीले अवलोकन र अनुगमन गरेका क्वारेन्टाइन र आइसोलेशनस्थलहरुमा कुल पाँच सय ४० जना कोभिड–१९ संक्रमित रहेका छन् । उनीहरु स्वस्थ्य रहेको र सबैलाई योगा अभ्यासलगायतका मनोबल बढाउने खालका कार्यक्रममा सहभागी गराउने गरेको पाइएको अनुगमन टोलीले बताएको छ ।

क्वारेन्टिन र आइसोलेशनको अवलोकन तथा अनुगमनमा गएको टोलिमा संघीय सांसद शाक्यसहित, प्रदेश सरकारको सामाजिक विकास समितीका सभापति, लुम्बिनी प्रादेशिक अस्पताल बालरोग विभागका अध्यक्ष डा.नेत्र राना, लुम्बिनी प्रादेशिक अस्पताल स्त्रीरोग विभाग नर्सिङ इन्चार्ज जमुना पन्थी, मुख्यमन्त्री कार्यालयका कृष्ण केसी, प्राविधिक संघ महासचिव भाष्कर आत्रेय, वरिष्ठ प्रादेशिक जनस्वास्थ्य प्रशासक टिकाराम अधिकार साथै वरिष्ठ प्रादेशिक र जिल्ला जनस्वास्थ्य प्रशासकहरु सहभागी थिए ।

उक्त टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिकामा अनुगमनपछि लुम्बिनी विकास कोषमा पनि छलफल गरेको थियो । त्यहाँ कोषका उपाध्यक्ष भन्ते मेत्तेय शाक्यपुत्रसहितको टोलीले लुम्बिनी गुरुयोजनालगायतका विषयमा जानकारी गराएको थियो ।

‘बुटवल, तिलोत्तमा र सुनवलमा उत्कृष्ट व्यवस्थापन’
क्वारेन्टिन तथा आइसोलेशनको अवलोकन एवम् अनुमगनमा गएको सांसद र स्वास्थ्यकर्मीको टोलीले बुटवल र तिलोत्तमामा सञ्चालित क्वारेन्टाइन तथा आइसोलेशन सेन्टरमा उत्कृष्ट व्यवस्थापन रहेको पाइएको बताएको छ ।

बुटवलको वडा नं. १२ तामनगरमा क्वारेन्टिन र वडा नं. ११ योगीकुटीस्थित एन्फा एकेडेमीमा आइसोलेशन सेन्टर निर्माण गरेको छ भने र तिलोत्तमाको शंकरनगरस्थित स्वास्थ्य चौकीलाई हाल आइसोलेशन सेन्टरका रुपमा विकास गर्दै व्यवस्थित गरिएको छ । ‘रुपन्देहीका बुटवलको र तिलोत्तमाका तथा नवलपरासीको महाकावी देवकोटा क्याम्पसमा सञ्चालित क्वारेन्टिन र आइसोलेशन केन्द्रलाई व्यवस्थित र उत्कृष्ट दर्जाको मुल्यांकन गरिएको छ’ डा. न्यौपानेले बताउनुभयो । अरु जिल्लाका क्वारेन्टाइन र आइसोलेशन स्थलहरुको समग्र व्यवस्थापन सन्तोषजनक नै पाइएको अनुगमन टोलीले बताएको छ ।

रुपन्देही जिल्लाको भिम अस्पताल (जिल्ला अस्पताल) र लुम्बिनी प्रादेशिक अस्पतालको बुटवलको धागो कारखानामा निर्माण भएको कोरोना विशेष अस्पतालमा कोरोना आइसोलेशन वार्ड मात्र नभई सुविधासम्पन्न अस्पतालका रुपमा विकास गरिएको छ । उक्त टोलीले यस्तै अस्पताल अरु जिल्लामा पनि कम्तिमा एउटा बनाउन जरुरी रहेको ठहर गरेको नेपार राष्ट्रिय चिकित्सक संघका केन्द्रीय सदस्य डा. सम्राट पराजुलीले बताउनुभयो । उक्त टोलीले प्रादेशिक प्रयोगशालाको पनि अवलोकन गरेको थियो । प्रयोगशालामा जनशक्तिको अभाव रहेकाले परीक्षणका लागि पालो कुरेका स्वाब धेरै रहेको पाइएको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ५ : २७ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी