१९ बैशाख २०८१, बुधबार | May 2, 2024

बुटवलका विकासे योजना सुरक्षा प्रवन्धसहित धमाधम अघि बढाईंदै



बुटवल । बुटवल उपमहानगरपालिकाले स्वास्थ्य सुरक्षाको प्रवन्ध र सामाजिक दुरी कायम राख्दै विभिन्न योजनाका कामलाई अगाडि बढाएको छ ।
लकडाउनका कारण अन्यत्र काम रोकिएका बेलामा बुटवलमा भने सुरक्षा प्रवन्धसहित योजनाका काम धमाधम अगाडि बढेका छन् ।
उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले स्वास्थ्यकर्मी तथा प्राविधिकसहितको टोलीको निगरानी गरेर सुरक्षा बन्दोबस्ती भए नभएको यकिन गर्दै निर्माणका काम सुचारु गरिएको बताउनुभयो ।

सुवेदीले निर्माणमा संलग्न निर्माण कम्पनी तथा उपभोक्ता समितिलाई मजदुरको स्वास्थ्य परीक्षण गर्न लगाइएको पनि बताउनुभयो ।
सञ्चालनमा रहेका यस्ता कामको प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य तथा सम्बन्धित वडाअध्यक्ष र विषयका प्राविधिकहरुले नियमित अनुगमन गरेका छन् । भने योजना सञ्चालनमा रहेका ठाउँमा समुदायलाई पनि निगरानीमा खट्न आग्रह गरिएको छ ।

यी बाहेक वडा नं. ११ र १३ का वडा कार्यालय भवन, वडा नं. २ नाली निर्माण, स–साना पुल र विद्यालयका भवन निर्माणका कामलाई सुरक्षा उपायसहित निर्माण सुरु गरिएको छ । बुटवलको सिमसार क्षेत्र कपरकट्टी बैठौलियया तालमा दैनिक ज्यालादारीमा मजदुरले सुरक्षाप्रवन्ध सहित काम गरिरहेका छन् । यहाँ करिब डेढ करोड बराबरको काम भइरहेको उपमहानगरका प्रवक्ता तथा सो ताल रहेको वडा नं.१६ का अध्यक्ष रामप्रसाद रेग्मीले बताउनुभयो ।

यस्तै बुटवलको अर्को आन्तरिक वाइपासको मैत्रीपथको विस्तार र स्तरोन्नतिको काम भइरहेको छ । यहाँ करिब तीन करोडको बराबरको काम भइरहेको वडाअध्यक्ष जगदिशचन्द्र आचार्यले बताउनुभयो । बुटवलको अर्को महत्वपूर्ण सडकका रुपमा रहेको श्रवणपथको पनि विस्तार र स्तरोन्नतिको काम भइरहेको छ । यसैगरी उजिरसिंह र नरसिंह टोल जोड्ने करिब ७० लाख बराबरको पुलको पनि निर्माण कार्य चलिरहेको छ भने त्यहीँ क्षेत्रमा व्यवस्थित नाली निर्माणको काम भइरहेको वडा नं. २ का अध्यक्ष रमेश नेपालले बताउनुभयो ।

वडा नं ४ मा रहेको सुखौरा खोलमा बनिरहेको पुलले आदर्शनगर र थकाली समाजलाई जोड्ने छ । यहाँ पनि सुरक्षा प्रवन्ध सहित निर्माणकार्य चलिरहेको वडा नं. ४ का अध्यक्ष टंकप्रसाद पराजुलीले बताउनुभयो ।

कालिकापथ संगै लुम्बिनी बस टर्मिनल पछाडिको नाली निर्माणको काम भइरहेको वडा नं. ९ का अध्यक्ष विष्णुबहादुर थापाले बताउनुभयो । यस्तै बुटवलको मोतिपुरमा निर्माण हुने थारु संग्रहालय निर्माणको कामको पनि टेण्डरलगायतका प्रक्रिया पूरा भएका छन् । यो संगै त्यहाँ पनि निर्माणका काम सुरु हुने छन् ।

कालिका पथ नमुना बन्दै
लकडाउन संगै रोकिएको बुटवलको गौरवको आयोजनाका रुपमा रहेको कालिकापथ आन्तरिक वाइपास सडकको रोकिएको निर्माण कार्य अगाडि बढाइएको छ । विश्वव्यापी महामारीसंगै रोकिएका योजनालाई सुरक्षाको प्रवन्धसहित बुटवलमा सुचारु गरिएको हो ।

बुटवलको वडा नं. ६ को कृषि उपज केन्द्र परिसरदेखि वडा नं. ९ र ११ को योगिकुटीसम्मको भित्री सडकलाई ८२ फुटको कायम गर्दै नमुना मार्ग बनाउने गरि उपमहानगरपालिकाले काम सुरु गरेको थियो ।

प्रदेशको अस्थायी मुकाम भएसँगै बुटवलमा जनघनत्व र सवारी साधनको चाप बढ्दो छ । ट्राफिक जामको समस्याले भित्री सडकका उपभोक्ता र व्यवसायीहरु मारमा परिरहेका बेला बुटवलले यसखालको गौरवको आयोजना सुरु गरेको थियो ।

सडक क्षेत्राधिकारमा (राइटअफ वे)मा परेका संरचना हटाउने, नाली निर्माण गर्ने र कल्भर्ट निर्माणका काम अगाडि बढेका छन् । अहिले कालिका पथमा बुटवल उपमहानगरपालिकाले विनियोजन गरेको मध्येको करिब दश करोड बराबरको काम भइरहेको छ ।

मुलुककै प्रमुख व्यापारिक केन्द्र र प्रदेशको अस्थायी मुकाम समेत बुटवलमै भएका कारणले मुख्य सडकहरुमा प्राय ट्राफिक जाम हुने गरेको छ । कालिकापथ ८२ फुटको निर्माण भइरहेकाले पनि यसलाई बुटवल हाइवेका रुपमा लिइएको र समुदायको समेत प्रत्यक्ष निगरानी रहेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताउनुभयो ।

वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीसहितका त्यहाँका जनप्रतिनिधि, राजनीतिक दल र नागरिक अगुवाले विकास निर्माणका कामको निगरानी गरिरहनुभएको छ ।

बुटवलको नमुना सडक बनाउने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नै बनाएर काम भइरहेको छ । अघिल्लो आवमै बनाएको डिपिआरअनुसार झण्डै एक अर्ब लागत लाग्ने छ भने अबको एक वर्षमा सम्पन्न हुने अनुमान गरिएको थियो । डीपीआर बनाएसंगै प्रदेश सरकार र संघीय सरकारसंग सहकार्यको आग्रह गरिएको उपमहानगरले बताएको छ ।

उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर तथा सहरी पूर्वाधार विकास महाशाखा प्रमुख सुमन श्रेष्ठका अनुसार वाइपास सडकहरुलाई बुटवलको चक्रपथसँग जोड्नेगरी काम भइरहेको छ । बुटवलले चुरे पहाड र तराईलाई जोड्दै झण्डै ४५ किलोमिटरको चक्रपथ निर्माण गरिरहेको छ ।

एक चरणमा काम गरिरहेको बबुल निर्माण कम्पनीले अहिले दैनिक १२ जना मजदुरलाई सुरक्षा प्रवन्धसहित काममा लगाएको छ । आवश्यकता अनुसार पालो बाँढेर प्राविधिक र मजदुरलाई पनि काममा खटाइने निर्माण कम्पनीका सञ्चालक किरण कार्कीले बताउनुभयो । उहाँले नगर प्रमुख सुवेदीको निर्देशन बमोजिम मजदुरहरुको स्वास्थ्य परीक्षणसंगै सामाजिक दुरि कायम गर्दै सुरक्षा प्रवन्धको व्यवस्था मिलाएर मात्रै काममा लगाइएको बताउनुभयो ।

लकडाउनसंगै रोकिएको नाली निर्माणको कामलाई सुचारु गरिएको र अबको केही दिनमा नाली निर्माणको काम पूरा भएपछि कल्भर्टलगायतका काम सुरु हुने बताइएको छ । आवश्यकता अनुसारका प्राविधिक र मजदुरलाई गाडीमा सुरक्षित साथ आवातजावत गराएर काममा लगाइएको छ । अहिले नाली निर्माण गर्ने, फूटपाथ बनाउने काम तीव्र भइरहेको छ ।

पहिलो चरणमा नाली र फूटपाथ निर्माण सक्ने र लगत्तै पिचको काम सुरु हुने उपमहानगरले जनाएको छ । सुरुमा सडक क्षेत्राधिकार (राइटअफवे)मा परेका संरचना र विद्यतुका पोल हटाउन ढिलाई भएको थियो । अहिले यी सबै समस्या समाधान भएका छन् ।

विसं. ०५४ सालमा कालिका पथलाई ८२ फुटको कायम गर्नेगरी मापदण्ड बनाइएको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ७ : ४४ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी