१२ श्रावण २०८१, शनिबार | July 27, 2024

चारदिनदेखि भरतपुर महानगरमा फोहर उठेन



भरतपुर । भरतपुर महानगरपालिकाको फोहर फाल्न स्थानीयवासीले अवरोध गरेका छन् । नारायणी नदी किनारस्थित नगरवन क्षेत्रमा फोहर फाल्न भरतपुर-३ का स्थानीयवासीले अवरोध गरेका हुन् । उनीहरुको अवरोधपछि चार दिनदेखि फोहर उठ्न सकेको छैन ।

महानगरले नगरवन क्षेत्रबाट नारायणी किनारमा फोहर फाल्दै आएको छ । नारायणीमा फोहर फाल्दा प्रदूषण बढेको भन्दै चौतर्फी विरोध हुँदै आएको छ तर महानगरले ल्यान्डफिल्ड साइट निर्माण नहुञ्जेलसम्मका लागि जनाउँदै सो क्षेत्रमा फोहर फाल्ने गरेको छ ।

भरतपुर-३ को सन्सारीमाई टोल विकास संस्थाका अध्यक्ष योगेन्द्र पौडेलले प्रदूषण बढेकाले फोहर फाल्न रोकिएको बताए । उनले भने, “पहिले खाल्डोमा फोहर फाल्ने गरिएको थियो, अहिले खुल्ला ठाउँमै फाल्न थालिएको छ । अस्पतालजन्य फोहरहरु पनि असरल्ल फाल्न थालेपछि विरोध गरेका हौँ ।” महानगरपालिकाभित्र कुहिने फोहर घरमै व्यवस्थापन गर्नुपर्ने भन्दै नकुहिने फोहर मात्र व्यवस्थापनका लागि समस्या नहुने उनको भनाइ छ ।

भरतपुर र नारायणगढ क्षेत्रमा फोहर उठ्न नसक्दा महानगरका शहरी क्षेत्र दुर्गन्धित बन्न थालेका छन् । भरतपुरको मुख्य बजार नारायणगढको लाइन्सचोकदेखि शहीदचोक हुँदै पुल्चोकसम्म ठाउँठाउँमा फोहरका थुप्रोहरु देख्न सकिन्छ ।

सबै मानिस भित्रै रहँदा सडक झनै सफा देखिनुपर्नेमा नारायणगढ बजार र भरतपुरको दृश्य भने झन् फोहर देखिन्छ । भरतपुर महानगरले फोहर व्यवस्थापन गर्नका लागि टेन्डरमार्फत व्यवसायीहरुलाई ठेक्का लगाएको छ ।

भरतपुर महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले कोरोनाका कारण फोहर उठाउन समस्या भइरहेको बताए । “कोरोनाको त्रासले गर्दा डम्पिङ साइट क्षेत्रको स्थानीयवासीले अवरोध गरेका छन्”, उनले भने, “निरन्तर रुपमा समन्वय गरिरहेका छौँ तर कहिले फोहर उठ्छ भन्ने यकिन छैन ।”

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले तीन दिनदेखि फोहर उठ्न नसकेको बताए । उनले स्थानीयवासीको अवरोधका कारण फोहर उठ्न नसकेको जानकारी दिए । “प्रत्येक स्थानीयवासीका आ-आफ्ना माग छन्, फोहरमा राजनीति गर्ने गरिएको छ”, उनले भने । जोशीले भरतपुरमा व्यवस्थित ल्यान्डफिल्ड साइड निर्माणका लागि कोरियन कम्पनीले डिपिआर निर्माण गरिसकेको बताए । उनले महानगरबाट स्वीकृत भएसँगै निर्माणको काम अघि बढ्ने जानकारी दिए ।

भरतपुर महानगरको ७ देखि १२ नम्बर वडा क्षेत्र भित्रको फोहर व्यवस्थापनको जिम्मा लिएको बेष्ट म्यानेजमेन्ट ग्रुपअन्तर्गत भरतपुर परियोजनाका संयोजक देवीप्रसाद घिमिरेले फोहर फाल्ने डम्पिङ क्षेत्रका स्थानीयवासीले अवरोध गरेपछि फोहर फाल्न नसकिएको बताए ।

“विभिन्न हानिकारक तथा संक्रमणयुक्त फोहर आउने र कोरोनाको जोखिम बढ्ने भन्दै स्थानीयवासीले फोहर फाल्न दिएका छैनन्, त्यसै कारण फोहर उठाउन सकेका छैनौँ”, उनले भने । महानगरपालिकालाई यसबारे जानकारी गराए पनि खासै चासो नदेखाएको उनले गुनासो गरे । स्थानीयवासीले फोहर फाल्ने ठाउँको विकल्प खोज्न माग गरेका छन् ।

संयोजक घिमिरेले फोहर उठाउने कर्मचारीको समेत स्वास्थ्य सुरक्षा हुन नसकेको गुनासो गरे । आफूहरुले स्यानिटाइजर, मास्क, पञ्जालगायत स्वास्थ्य सामग्री उपलब्ध गराइरहेको भए पनि अस्पतालका संक्रमित वस्तु ओसारपसार गर्दा जोखिम उच्च रहेको उनको भनाइ छ । संवेदनशील क्षेत्रमा काम गर्ने कर्मचारीलाई स्थानीय तहले पनि राहत तथा स्वास्थ्य बीमा गरिदिनुपर्ने लगायतको माग गरिरहेको भए पनि महानगरले बेवास्ता गरेको उनको गुनासो छ । महानगरपालिकामा सामान्य अवस्थामा दैनिक ७० टन फोहर निस्कने गर्छ । रासस

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  २ : ४० बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान