वीरगन्ज । कोरोना भाइरसको संक्रमण र मृत्युको इपिसेन्टर बनिरहेको पर्सा र बारामा संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।
आइतबार यी दुई जिल्लामा १ सय ५६ जना नयाँ संक्रमित थपिएका छन् ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १ सय ५६ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । जसमध्ये ३४ जना महिला र १ सय २२ जना पुरुष रहेका छन् ।
३ सय २० नमुना परीक्षणमा झण्डै आधा नमुनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले बताएको छ । संक्रमितहरुमा पर्साका मात्रै १ सय ४५ जना रहेका छन् भने बाराका ११ जना रहेका छन् ।
३ वर्षदेखि ७० वर्ष उमेर समुहका संक्रमितहरुमा सेना, प्रहरी, चिकित्सक र संचारकर्मीहरु समेत रहेका छन् ।
पर्सामा हालसम्म १ हजार ७ सय ९० जनालाई कोरोना संक्रमण पुष्टि भैसकेको छ । जसमध्ये ३ सय ८७ जना महिला रहेका छन् । हालसम्म १७ हजार ५ सय १ जनाको पीसीआर परीक्षण भएको छ ।
संक्रमितहरुमध्ये पर्सामा मात्रै २८ जनाको मृत्यु भैसकेको छ । पछिल्लो मृत्यु शनिबार साँझ भएको थियो ।
प्रतिक्रिया