११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

प्रदेश २ को दुःख : कोरोना परीक्षण दायरा त बढ्यो, तर छैन स्वाब राख्ने भाँडो



सप्तरी । सरकारले कोरोना भाइरसको परीक्षण दायरा बढाएपछि प्रदेश नं २ मा भिटीएम (स्वाब राख्ने भाँडो) अभाव हुन थालेको छ ।

सप्तरीसहित प्रदेश नं २ मा भिटीएम अभाव हुन थालेपछि कोरोना भाइरस परीक्षणका लागि गरिने स्वाब सङ्कलन कार्य प्रभावित हुन थालेको हो ।

प्रदेश नं २, सामाजिक विकास मन्त्रालयका अनुसार गत चैतदेखि असार मसान्तसम्ममा प्रदेशमा ४९ हजार स्वाब सङ्कलन भएकामा साउनदेखि स्वाब सङ्कलनको दायरा अत्यधिक बढ्दा बुधबारसम्ममा ९१ हजार ७०८ स्वाब सङ्कलन भएको छ ।

सबैभन्दा बढी रौतहट, पर्सा र सप्तरीमा स्वाब सङ्कलन भएको सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयले जानकारी दिएका छन् ।

असार मसान्तसम्म पाँच हजार ४४० जनाको स्वाब सङ्कलन भएको सप्तरीमा हाल १३ हजार १६५ को स्वाब सङ्कलन भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए।

हालसम्म रौतहटमा १९ हजार ५२५ र पर्सामा १७ हजार ७३७ जनाको स्वाब सङ्कलन भएको छ ।

नेपालमा बुधबार ८८५ सङ्क्रमित थप हुँदा कुल सङ्क्रमितको सङ्ख्या ३४ हजार ४१८ पुगेको छ । तीमध्ये सात हजार ४५ महिला छन् । सङ्क्रमित हुनेमा पनि प्रदेश नं २ सबैभन्दा अगाडि रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलनमा प्रदेश नं २ को सर्लाहीमा १२०, धनुषामा ४३, बारामा २४, रौतहटमा २०, महोत्तरीमा १८, सिरहामा तीन तथा सप्तरी र पर्सामा एक/एक जनामा सङ्क्रमण पुष्टि गरेको छ ।

यसरी ५८ महिलासहित २३० सङ्क्रमित थपिँदा प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या एक हजार ४२१ महिलासहित नौ हजार ९४५ पुगेको छ । सात प्रदेश भएको देशमा प्रदेश नं २ मा मात्र झण्डै २९ प्रतिशत सङ्क्रमित पुष्टि भएको छ । सङ्क्रमितमध्ये चार हजार ४३९ जना निको भएर घर फर्किएका छन् ।

अहिले प्रदेश नं २ मा सङ्क्रमण दर सबैभन्दा धेरै भएकाले कन्ट्याक्ट ट्रेसिङमा परेका, शङ्कास्पद र सक्रिय सङ्क्रमित गरी दैनिक करिब एक हजार व्यक्तिको परीक्षणका लागि स्वाब सङ्कलन भइरहेको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताए ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख यादवले पनि दैनिक १५० देखि २०० को स्वाब सङ्कलन गर्दै आएको सप्तरीमा अब बाँकी ३५० मात्र भिटीएम बाँकी रहेको जनाए।

भिटीएम सकिन लागेपछि स्वाब सङ्कलन कार्य पनि कम गर्नुपरेको उहाँले जानकारी दिए । उनले उपलब्ध भिटीएम दुई/तीन दिनमा सकिने र थप भिटीएम नआए स्वाब सङ्कलन कार्य रोकिने बताए ।

प्रादेशिक स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रदेखि सम्बन्धित निकायसँग माग गर्दै आइरहेको जानकारी दिँदै उनले सकिनुअगावै भिटीएम किट आउने आशा व्यक्त गरे । ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार दुई महिलासहित ११ जनाको मृत्यु पुष्टि गरेसँगै नेपालमा मृतकको सङ्ख्या १७५ पुगेको छ । मृत्यु हुनेमा पनि प्रदेश नं २ अगाडि रहेको छ ।

पछिल्लो पटक महोत्तरीमा तीन जनाको मृत्यु पुष्टि भएसँगै यस प्रदेशमा मृतकको सङ्ख्या ७३ पुगेको छ । यो एक्लै मुलुकमा कुल मृतक सङ्ख्याको ४१ प्रतिशतभन्दा बढी हो ।

पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित हुने कुल सात जिल्लामध्ये पाँच जिल्ला प्रदेश नं २ कै छन् । महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाहीमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको पछिल्लो जानकारी अनुसार १४ हजार ७३९ सक्रिय सङ्क्रमितमध्ये प्रदेश नं २ मा संस्थागत आइसोलेसनमा एक हजार ८८१ र होम आइसोलेसनमा तीन हजार ६७५ गरी पाँच हजार ५५६ सक्रिय सङ्क्रमित छन् ।

सप्तरीको संस्थागत क्वारेन्टिनमा हाल २३ महिलासहित २२९ छन् भने होम क्वारेन्टिनमा २४६ जना छन् ।

प्रदेश नं २ मा सङ्क्रमित दर बढ्दो रहेको तथा क्वारेन्टिनमा रहेका शङ्कास्पद र आइसोलेसनमा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत बढिरहेकाले प्रत्येक जिल्लामा तत्काल पाँच हजार भिटीएम मौज्दात हुनुपर्ने निमित्त प्रमुख यादव बताउँछन् ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  १ : १० बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान