५ श्रावण २०८३, मंगलबार | July 21, 2026

नपाइने मलका लागि १० घण्टा सास्ती



चितवन । कैलाशनगरका रामप्रसाद पौडेल बिहान २ बजे उठे। तयार भएर साढे २ बजे साइकलका पाइडल चलाउन थाले ।

उनले पुग्नु थियो, करिब आधा घण्टा टाढा गीतानगर । त्यहाँ बुधबार बिहान मल बेचिन्छ भन्ने चितवनका निकै परपरैसम्म हल्ला फैलिएको थियो । त्यही सुनेर उनलाई पनि बेलैमा निद्राले छाडेको थियो । नछाडोस् पनि कसरी रु त्यस्ता धेरै ठाउँ गइसकेका उनले कतै मल पाएका थिएनन् । सकेसम्म अगाडि लाम लाग्न हतारिएका उनी पुग्दा ३ बजेको थियो । अगाडि धेरै लाममा बसिसकेका थिए। भीडमा अघिल्तिर मध्यरातिदेखि बसेकासमेत थिए ।

उज्यालो भएपछि छोरासँग अर्को साइकलमा आइपुगिन् श्रीमती दुर्गादेवी । गीतानगरको सर्वोदय सहकारीमा लाम लागेका उनीहरूले साढे १० बजेतिर धन्न १०–१० किलो मल पाए। लगत्तै घोषणा आयो, ‘मल सकियो ।’ बुधबार जम्मा १ सय २० बोरा युरिया दिइयो । एक बोरोमा ५० किलो हुन्छ । एक बोरा दिँदै ५ जनालाई बाँड्न भनिन्थ्यो ।

बालीको हरियाली कल्पना गरेर घण्टौं उभिएका बाँकी ४ सय किसान रित्तो हात घर फर्किन बाध्य भए । ‘रातभर लाइनमा बस्दा पनि मल पाइएन । अन्त पाइन्छ कि भनेर धेरैतिर चाहारियो तर रित्तो हात फर्कनु पर्‍यो’, गीतानगरका ७० वर्षीय कुस्माखर घिमिरेले भने, ‘यो देशमा मर्कामा पर्ने हामी किसान नै रहेछौं ।’ चर्को घाममा घण्टौं लाइन बस्दा पनि मल नपाएपछि उनको आक्रोशले सीमा नाघ्यो। ‘कृषिप्रधान देश रे ! हामी किसानले भनेको बेलामा मलसम्म पाउँदैनौं । बूढो मान्छे, घण्टौं भइसक्यो लाइन बसेको । अहिले आएर मल सकियो भन्छन् । अब हामीले कसलाई गुहार्ने हो ? ’ उनी ठूलो स्वरमा कराइरहेका थिए ।

कुस्माखरले करिब डेढ बिघा जग्गामा धानखेती गरेका छन् । रोपेदेखि अहिलेसम्म मल हाल्न पाएका छैनन् । सहकारीले मल बाँड्ने खबर पाएपछि उनी पनि टण्टलापुर घाममा लाइन बस्न पुगेका थिए । उनी पनि रित्तै फर्किए। मल नपाएका किसान आक्रोशित बनेपछि प्रहरीले बल प्रयोग गरेर तितरबितर पार्नु परेको थियो । धानखेती गर्ने अधिकांश किसान अहिले मलको खोजीमा छन् । खेतमा धानको बाला फलाउने सपना बोकेका उनीहरू हैरानी बेहोर्न बाध्य छन् ।

पूर्वी चितवनको रत्ननगर–१३ का बालकृष्ण दुवाडी मल खोज्न दिनहुँ नजिकको सहकारी पुगेर फर्कन्छन् । ‘आज आउँछ, भोलि आउँछ भन्छन् तर हामीले अहिलेसम्म मल पाउन सकेका छैनौं । सारै अभाव भयो’, उनले भने, ‘मलका लागि हामीले सरकारलाई गुहारेको निकै भयो । सरकारसम्म हाम्रो आवाज अझै पुगेको छैन ।’

पछिल्लो समय चितवनमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको छ । त्यसको पर्वाह नगरी किसान मलको रनाहामा भौतारिइरहेका छन् । निषेधाज्ञा अवज्ञा गर्दै निस्कन्छन् । जोखिम मोलेर भीडमा लाम लाग्छन् । र, अन्त्यमा रित्तै फर्किन्छन् । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ७ : १९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं