१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

आन्तरिक उडान र निकुञ्ज खुलेसँगै सौराहाका पर्यटन व्यवसायी उत्साहित



चितवन । आन्तरिक उडान र निकुञ्जका गतिविधि शुरु हुन थालेपछि सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

झण्डै छ महिनाको बन्दाबन्दी र निषेधाज्ञापछि आजदेखि सञ्चालनमा आउन लागेको आन्तरिक उडान र निकुञ्जका गतिविधिका कारण सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका हुन् ।

खुलेका होटलमा खासै पर्यटक आइनसकेको भए पनि टेलिफोनबाट सेवा र सुविधाका बारेमा जानकारी लिनेक्रम निकै बढेको छ ।

कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द अवस्थामा रहेको होटल असोज १ गतेदेखि खुल्न शुरु भएका हुन् । रेष्टुराँमा बसेर खान पाइँदैन भने जोरबिजोर प्रणालीमा दिनमा मात्र सवारी सञ्चालन गर्न पाइन्छ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले होटल खुलेको भए पनि खासै पर्यटक नआएको बताए । उनले भने “आजदेखि आन्तरिक उडान र निकुञ्जका गतिविधि शुरु हुन थालेकाले आश जगाएको छ ।”

असोज ७ गतेपछि क्रमशः पर्यटक आउन शुरु गर्ने अनुमान उनले छ । ठाउँठाउँबाट आन्तरिक पर्यटकले फोन गरिरहेकाले दशैँ अगाडिसम्म पुग्दै गर्दा पर्यटकको राम्रो चहलपहल हुने उनको अनुमान छ ।

होटल बन्द भएपछि भएको फोहर र झाडी सफा गर्ने काममा व्यवसायी जुटेका छन् । सौराहामा पर्यटक चढाउनका लागि राखिएका ५० वटा निजी हात्तीमध्ये भाडामा ल्याएका १० वटा फिर्ता गरिसकिएको उनले जानकारी दिए ।

सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेको होटल जङ्गल सफारी लजमा शनिबार पाँच वटा कोठामा पाहुना थिए । फाट्टफुट्ट आन्तरिक पर्यटक आउन थालेको र निकै टेलिफोन आइरहेको घिमिरेले जानकारी दिए ।

घरमा बस्दाबस्दा दिक्क भएका र काम विशेषले आउनु परेका सौराहा आउने गरेको उनले भनाइ छ । उनले भने, “क्रमशः पर्यटकको सङ्ख्या बढ्दै जान्छ भन्नेमा हामी विश्वस्थ छौँ ।”

होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडी भने दशैँ अघि होटल खोल्ने मनस्थितिमा हुनुहुन्न । उनले भने, “ठूलो समूह आएमा व्यवस्थापन गर्ने भए पनि दशैँ अघि होटल खोल्ने मनस्थितिमा म छैन ।” खर्च बढ्ने र रोगको डरले केही व्यवसायी पर्ख र हेरको अवस्थामा छन् । सौराहामा रहेका रेस्टुराँमा सरसफाइ र तयारी थालिएको छ ।

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार यही असोज ७ गतेपछि खोल्नका लागि सबैले तयारी शुरु गरेका छन् । आन्तरिक उडान र पर्यटकीय गतिविधि शुरु भएसँगै पर्यटक बढ्ने उनको अनुमान छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले सामुदायिक वनमा हात्ती प्रवेश आजदेखि खोलिएको बताए । सौराहाको कुमरोज र बाघमारा चित्रशेन मध्यवर्ती सामुदायिक वनमा पर्यटकलाई हात्तीमा चढाएर घुमाउने गरिन्छ । ती वन क्षेत्रमा डुङ्गा सयर पनि गराइन्छ । बरालका अनुसार निकुञ्जमा पैदलयात्रा (जंगल वाक) पनि खोलिएको छ । छिट्टै बाटो मर्मत गरेर जीप सफारीको अनुमति दिने उनले जानकारी दिए ।

चैत ११ गतेदेखि बन्द भएका होटल साउन १५ गते खुलेको भए पनि सोही महिनाको २८ गतेदेखि पुनःबन्द भएका थिए । सौराहामा ११० होटल छन् । यसैगरी साना ठूला १०० हाराहारी रेस्टुराँ छन् । सौराहाका होटलमा प्रत्यक्षरुपमा पाँच हजार ५०० भन्दाबढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् ।

आन्तरिक उडान शुरु
भरतपुर विमानस्थलमा आजदेखि आन्तरिक उडान शुरु भएको छ । गएको चैत ११ गतेदेखि बन्द भएको उडान आजदेखि शुरु भएको हो । यहाँबाट यती एयरलाइन्स र बुद्ध एयरले उडान शुरु गरेका हुन् ।

आज दुवै एयरलाइन्सले दुई/दुई वटा उडान भर्दैछन् । बुद्ध एयरले बिहान ११ः१० र ३ः४० बजे उडान भर्ने जनाएको छ भने यती एयरलाइन्स बिहान १०ः५० र २ः२५ बजे उडान भर्नेछ । ६ महिनापछिको पहिलो दिन भएकाले दुवै एयरलाइन्सले चालक दलमा दुई जना क्याप्टेन राखेर जहाज उडान शुरु गरेका हुन् ।

विमानस्थलमा असार ३० गते तारा एयरले चार्टर उडान गरेको थियो । लकडाउन अघि दैनिक पाँच वटा बुद्धले र तीन वटा यतीले उडान भर्दै आएका थिए । दुवै एयरलाइन्सले एउटा उडान पोखरा र चितवन गरेका थिए भने अन्य काठमाडौँबाट चितवन गरेका थिए ।

नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख योज्ञेन्द्र कुँवरले सुरक्षा कार्यविधि पूर्णरुपमा अपनाएर उडान शुरु गरिएको दिए ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  १ : ४५ बजे

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा