१५ बैशाख २०८१, शनिबार | April 27, 2024

बालुवाटार बिर्साउने बाराको मसानघाट जग्गा काण्ड, व्यक्तिको नाममा दर्ता भएको ६.८ बिगाहा जग्गा सरकारी कायम



बारा । नदी खोलाले चर्चेको जग्गा, सरकारी सार्वजनिक जग्गालाई व्यक्तिको नाममा बनाएर बेचेका भूमाफिया उच्च घरानीयाहरुबारे हामीले सुनेकै छौं । बालुवाटार काण्डलाई देशको दुरदराजका सामान्य मान्छेले समेत घृणापूर्वक दुत्कार्ने गर्छन् । सो काण्डका उच्च घरानीयाहरु अझै पनि राज्य सञ्चालनको ठेक्का पाएका ठूला मान्छेहरुबाट संरक्षित छन् ।

यस्ता, घटना देशभर जनतासुकै भैरहेका छन् । विभागीय भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रीले वालुवाटार काण्डपछि केही समय देश दौडाहा गर्दै सरकारी सार्वजनिक जमिन संरक्षणको स्टन्ट चलाइन । आजकल त्यो स्टन्ट गलिसकेको छ । भूमाफिया, जग्गा दलालहरुका लागि आँखाले खाली देखिन्छ त्यतै नजर पर्छ । जमिन हडप्ने, व्यक्तिको बनाउने र बिक्रि गरिहाल्ने र करोडौं कमाउने ।

यस्तै जग्गा दलाल भूमाफियाहरुले बारा जिल्लामा मसानघाटलाई समेत आफ्नो बनाए । निजी बनाएर बिक्रि गरे । खरिदकर्ताहरु नाम चलेका व्यक्तिहरु रहे । जिल्ला प्रशासन कार्यालय बाराले भूमाफियाले मसानघाटलाई व्यक्तिको नाममा दर्ता गरेर बिक्रि गरेको जमिनलाई रोक्का गरेपछि फेरि एकपटक खोटो नियतवाला पात्रहरुको मुखौटो उत्रिएको छ ।

सामान्य अर्थमा मसानघाटको अर्थ मानिसको अन्तिम संस्कार गर्ने स्थल हो नी ! नाम मसानघाट भएपछि यो स्थान सबै समुदाय र सम्प्रदायका लागि पवित्रस्थल पनि हो । किनकी आफ्ना प्रियजनहरुलाई अन्तिम बिदाई मसानघाटबाटै हुन्छ । तर खोटो नियत भएका मान्छेले मसानघाटमा समेत घात गरेका थिए । जिल्ला प्रशासनको सतर्कतामा मसानघाट मसानघाटै बन्ने अवस्था आएको छ । मसानघाटलाई प्लटिङ गरेर घडेरी बिक्रि गर्नेहरुमाथि अब कडा कारवाहीको माग गरेका छन् बाराबासी सार्वसाधारण जनताले ।

जिल्ला प्रशासन कार्यालय बाराको बदर निर्णयसँगै जीतपुर सिमरास्थित मसानघाटको जग्गा अब पुनः सरकारकै नाममा फिर्ता हुने भएको हो । कीर्ते कागजपत्र बनाएर जिल्ला मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा भूमाफियाले कित्ता नं ५९ को ६ बिघा ८ कठ्ठा मसानघाटको जग्गालाई व्यक्तिको नाममा बनाएका थिए । फिल्डबुकमा यो कित्तालाई प्रस्टसँग मसानघाट भनी उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको निर्देशनमा ६ बिघा ८ कठ्ठा जग्गा मालपोत कार्यालय सिमराले सरकारको नाममा दर्ता गर्ने निर्णय गरेको छ । ‘मसानघाट’ उल्लेख भएको कित्ता नं ५९ बदर भएपछि अब सो कित्ताबाट बनेका सबै नयाँ कित्ताहरू पनि स्वतः बदर हुने मालपोत कार्यालयले बाराले जनाएको छ ।

 

कीर्ते कथा
मसानघाटे जग्गालाई व्यक्तिको नाममा अहिले नामसारि गरिएको थिएन । ३० वर्ष अघि नै नामसारी गरिसकिएको थियो । यसरी व्यक्तिको नाममा नामसारी गर्ने व्यक्ति थिए काठमाडौं धर्मस्थली स्थायी ठेगाना भएका रामचन्द्र गौतम । गौतमले मालपोत कार्यालयका तत्कालिन कर्मचारीहरुलाई प्रयोग गरेर किर्ते कागजपत्र बनाई २०४७ सालमा सो मसानघाटको जग्गा आफ्नो नाममा बनाएका थिए ।

पछि गौतमका भाइहरुले सो जग्गालाई प्रोपर्टी म्यानेजमेन्ट नाम गरेको संस्थाबाट प्लटिङ गरेका थिए । प्रोपर्टी म्यानेजमेन्ट बाराका नाम चलेका होटल व्यवसायी इच्छाबहाुर वाग्लेको हो ।

मसानघाटको कहानी बालुवाटारको भन्दा फरक छैन । प्लटिङ गरिएको यो जग्गा बीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगी, शालिमार उद्योगका प्रमुख अशोक वैद्यका छोरा हेमन्त वैद्य, एभरग्रिन अस्पताल, पथलैया–वीरगन्ज औद्योगिक करिडोरका केही उद्योगी र सर्वसाधारणको नाममा बेचबिखन गरिएको छ ।

 

मसानघाटलाई नै फिर्ता
मालपोत कार्यालय सिमराले भूमाफिया गौतमको नाममा कायम भएको ५९ नं को कित्ता र सो जग्गाको श्रेस्ता बदर गर्दै सबै जग्गा पुनः मसानघाट नै कायम रहने निर्णयमा गरेको हो ।

स्थानीय प्रशासन ऐन २०२८ बमोजिम सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व बहन गर्दै सो जग्गा पुनः मसानघाट नै कायम रहने गरी निर्णय गरेको मालपोत कार्यालय सिमराका प्रमुख यादवराज आचार्यले बताएका छन् । जग्गा दर्ता प्रक्रियामा पेस भएका काजतपत्रमा शंकास्पद रहेको, कानुनी रुपमा पनि दर्ता प्रक्रिया नमिलेकोले दर्ता रद्द गरिएको उनले प्रष्ट पारेका छन् ।

मालपोतले फरदवा गुठीको माध्यमबाट फर्जी कागजपत्र प्रयोग गरेर गौतमको नाममा कायम भएको कित्ता नं ५९ लाई बदर गरेर सो को लगत कट्टा गरी मिसिल तामेली राख्ने निर्णय गरेको छ । यसैगरी, जग्गा संरक्षणका लागि जीतपुर सिमरा उपमहानगरपालिकालाई निर्णय जानकारी गराउने निर्णय गरेको छ ।

कित्ता नं ५९ कित्ताकाट भई कायम भएका सबै नयाँ कित्ता यसै निर्णयसँगै स्वतः सार्वजनिक भएको मानिने हुँदा सो को कैफियत सबैमा जनाइदिने र साविककै कित्ता कायम गर्न नापी कार्यालयलाई लेखी पठाउने पनि सिमरा मालपोतको निर्णयमा उल्लेख गरिएको छ ।

मसानघाटको सार्वजनिक जग्गा प्लटिङ गरेर बेचबिखन भएको समाचार सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो । त्यसपछि मात्र सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले पनि अनुसन्धान सुरु गरेको थियो ।

दबाब बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले गत वर्ष २०७६ साल माघ २८ गते नापी र मालपोत कार्यालयलाई पत्र पठाउँदै सो जग्गा सम्बन्धमा फिल्डबुक, नक्सा, श्रेस्तासहित सबै कागजपत्र अध्ययन गरी यथार्थ विवरण लिखित पठाउन निर्देशन दिएको थियो ।

बारा जिल्ला प्रशासनले यही बिहीबार (असोज २२ गते) मसानघाटको जग्गा सार्वजनिक जग्गाको परिभाषाभित्र पर्ने भन्दै व्यक्ति विशेषका नाममा जहिले जसरी दर्ता भए पनि सोको जानकारी प्राप्त हुन आएको अवस्थामा स्वतः बदर गरी सार्वजनिक सरकारी कायम गर्ने मालपोत ऐन २०३४ को दफा २४ को उपदफा (१) र (२) र मुलुकी देवानी संहिता २०७४, मुलुकी देवानी कार्यविधि संहितको दफा ३०५, सरकारी सार्वजनिक वा सामुदायिक सम्पति आफ्नो नाममा दर्ता गर्न नहुने व्यवस्थाको प्रयोग गर्दै सो जग्गालाई सार्वजनिक कायम गर्न सिमरा मालपोतलाई निर्देशन दिएको थियो ।

मसानघाटको जग्गा रहेको जितपुर सिमरा वडा नं. ४ कार्यालयले पनि सरजमिन मुचुल्का उठाएर सार्वजनिक जग्गा मसानघाट नै कायम गर्न यही असोज १४ गते मालपोत कार्यालय सिमरालाई पत्र पठाएको थियो । पत्रमा साविकमा मसानघाट भनी उल्लेख भएको जग्गा कानुन विपरीत व्यक्तिको नाममा कायम गरी प्लटिङ गरी बेचबिखन भएको स्पष्ट पारिएको थियो ।

जग्गा किन्ने को को ?
मसानघाटको जग्गालाई काठमाडौंका गौतमले निजी बनाएर बेच्न थालेपछि नाम चलेका धेरै व्यक्तिहरुले खरिद गरेको पाइएको छ । जग्गा किन्नेमा बीरगन्जका मेयर सरावगीसहित कयौं उद्योगी व्यवसायीहरु समेत रहेका छन् ।

होटल व्यवसायी वाग्लेले २०७२ सालमा प्लटिङ गरी कित्ताकाट गरेर बेचविखन गरेको मसानघाटको जग्गा मध्ये कित्ता नं १९१९ को ८ कठ्ठा १० धुर सिर्जना श्रेष्ठ र संजिता प्रधान, कित्ता नं १९१८ को १ कठ्ठा शान्तलक्ष्मी श्रेष्ठ र सुभद्रा श्रेष्ठको नाममा रहेको छ ।

व्यवसायी वाग्लेले २०७५ असार ३२ गते वीरगञ्ज महानगरप्रमुख सरावगीलाई कित्ता नं. ६४०६, ७४०१, ७४०३, ७४०५ को २ बिघा २ कठ्ठा मसानघाटको जग्गा बेचेका छन् । सो जग्गालाई सरावगीले आफूसहित ४ जनाको नाममा संयुक्त पुर्जा बनाएका छन् ।

अन्य कैयौं व्यक्तिहरुलाई पनि वाग्लेले मसानघाटको जग्गा बेचेका छन् । मसानघाटको जग्गा किन्नेमध्ये अधिकांश व्यक्ति काठमाडौंका निवासी रहेको सिमरा मालपोत कार्यालयले जनाएको छ ।

 

 

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  १ : १४ बजे

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा

आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग

काठमाडौं । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट