११ जेष्ठ २०८१, शुक्रबार | May 24, 2024

लोभलाग्दो गन्तव्य : अतुल्य रेसुङ्गा



देखाउन नपाएको श्रृङ्गारको अर्थ हुँदैन भनेझैं गुल्मीको रेसुङ्गा प्रकृतिले दिएको अनुपम उपहार हुँदा हुँदै पनि ओझेलमा परेको छ । इलामको वर्णन गरियो, दामनको वर्णन गरियो, नाम्चे, लमजुङ, घान्द्रुक, मनाङ, मुस्ताङ यस्ता धेरै स्थानको वर्णन आम रुपमा सुन्न पढ्न र हेर्न पाइए पनि प्रकृतिका सबै छटाहरुले भरिपूर्ण गुल्मीको रेसुङ्गाको वर्णन र वास्तविकता हेर्न र बुझन् भने रेसुङ्गा नै पुग्नुपर्दछ ।

कञ्चन हावा, मनमोहक दृष्य, नजिकै चुम्न तयार आधा दर्जन बढी हिमश्रृङ्खला, २०९ प्रजातिका चराचुरुङ्गी, सयौं जडिबुटी, वनस्पती र वनजङ्लले भरिपूर्ण पर्यापर्यटनको अतुल्य संगम अनि विभिन्न किम्वदन्तीसँग जोडिएको धार्मिक धरोहर । सबथोक छ रेसुङ्गासँग ।

रेसुङ्गासँग स्थानीय सरकारले गर्दै गरेको विकास पनि छ, रेसुङ्गासँग संरक्षण समितिले बनाएको संरचना पनि छ र रेसुङ्गासँग पुर्वजहरुले स्थापना गरेर छाडेका पुरातात्विक धार्मिक महत्वको सम्पदा पनि छ । तर रेसुङ्गासँग छैन त केवल त्यसको प्रचार प्रसार छैन । रेसुङ्गाका बारेमा बजारमा हल्लाखल्ला छैन र रेसुङ्गालाई चिनाउने मनैदेखि इच्छाशक्ति बोकेका स्थानीय स्रष्टाहरु पनि छैनन् ।

 

कसरी पुगिन्छ रेसुङ्गा ?

प्रकृतिको मनोरम दृष्यावलोकन गर्ने ठूलो संख्याका विदेशी यात्रीका लागि नेपाल उत्कृष्ट गन्तव्य हो । पर्यटनमा रुची राख्ने स्वदेशीका लागि नेपालका कैयौं कुनाकन्दरा रुचाइएकै गन्तव्य हुन् । तर पनि, रेसुङ्गालाई गन्तव्य बनाउनेहरुको संख्या निकै कम छ । कारण प्रष्टै छ, रेसुङ्गाको न त उचित प्रचार प्रसार भयो, न त रेसुङ्गामा भौतिक पूर्वाधारको विकास नै ।

तर, अवस्था अब फरक छ । मृगको नाभी बनेको रेसुङ्गा अब साँच्चिकै प्रकृतिको यौटा त्यस्तो अतुल्य स्थल बन्दैछ, जहाँ प्रकृतिसँग रमाउन चाहने सयौं सयौं यात्रीहरु पुग्न लालायित छन् । प्रकृतिको संरक्षण गर्दै भौतिक विकासको सोच बढेसँगै रेसुङ्गाको महत्वपनि विस्तारै बढ्न थाले जस्तो देखिँदैछ ।

बुटवलबाट ११२ किलोमिटर, गण्डकी प्रदेशको राजधानी पोखराबाट झण्डै सिद्धार्थ राजमार्ग प्रयोग गरे १९२ किलोमिटर र बागलुङ सडक प्रयोग गरे १७१ किलोमिटर तथा लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाबाट झण्डै १६० किलोमिटरको दूरीमा पर्ने रेसुङ्गा समुद्री सतहदेखि २३४७ मिटर अग्लो स्थानमा रहेको छ । उच्च पहाडी क्षेत्र भएकै कारण रेसुङ्गाको हावापानी १२ महिना नै शितल र लोभलाग्दो हुनेगर्दछ ।

बुटवलबाट सिद्धार्थ राजमार्ग हुंदै पाल्पाको बर्तुङबाट छुटेर पाल्पा–तम्घास सडकहुँदै तम्घास बजार पुगेपछि रेसुङ्गा सजिलै उक्लिन सकिन्छ । अहिले सम्मका लागि यो नै सबैभन्दा सहज बाटो मानिदै आएको छ । पोखरा, बागलुङ र स्याङ्जाबाट रेसुङ्गा पुग्न कालिगण्डकी करिडोर, खर्बाङ गल्कोट बागलुङ सडकको प्रयोग गर्दा पनि रेसुङ्गा पुग्न सकिन्छ । पश्चिम भालुवाङबाट प्यूठान, अर्घाखाँची हुँदै वा सालझण्डी छहरा पाल्पा हुंदै पनि रेसुङ्गालाई गन्तब्य बनाउन सकिन्छ । जताबाट गएपनि तम्घास बजार पुगेपछि ६ किलोमिटर उकालो सडक चढाईं गरेपछि मनोरम स्थल रेसुङको समिपमा पुगिन्छ ।

 

प्रकृतिको अतुल्य उपहार

हिउँद कहिलेकाही हिउँ पर्ने रेसुङ्गाबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी, निलगिरी लगायतका १५ हिमालको मनोरम श्रृङ्खला देख्न सकिन्छ । मानौं रेसुङ्गा चढाईं गर्दा ति हिमालले यात्रीलाई लहरै उभिएर उत्तरतिरबाट हार्दिक अभिनन्दन गर्दैछन् । पूर्व,दक्षिण र पश्चिमतिर लमतन्न परेका दर्जनौं पहाडले फूलैफूलको गुलदस्ता दिन ठिक्क पारेजस्तो । अल्लि पल्तिर दक्षिणतिर आँखा तन्काउँदै हेर्नसके सर्लक्कै तराई सुतेको देखिने । ३६० डिग्रीको घुमाइमा देखिने यो अपूर्व दृश्य अन्त कहाँ पाइएला र ? त्यसैले त रेसुङ्गा प्रकृतिको अपूर्व ‘भर्जिन ल्याण्ड’ हो । हो, कसैले बिटुल्याउन नसकेको रेसुङ्गा !

जाडो याममा अलिक चिसो हुने भएपनि वर्षका प्रायः १० महिना रेसुङ्गाको मौसम आकर्षक र मनोरम रहने गर्दछ । रेसुङ्गाका अधिकांस भाग वनस्पतीयुक्त धार्मिक वनले ढाकिएको छ । यहाँको वनमा २०९ प्रकारका चरा चुरुङ्गीहरुले विचरण गर्छन् । चितुवा, मृग, घोरल, खरायो, लङ्गुर जस्ता जनावरहरुको बासस्थान पनि यसै जङ्गलमा छ । चराहरुको चिरविरसँगै जङ्गली जनावरको घम्साघम्सीको प्रत्यक्ष दृश्य हेर्न कुनै राष्ट्रिय निकुञ्ज धाउनु पर्दैन । यसै रेसुङ्गामा प्रत्यक्ष देख्न पाइन्छ ।

वरिपरीका होँचा पहाडहरुलाई छिचोल्दै रेसुङ्गा सबै पहाडहरुको अगुवा जस्तै गरी अग्लो थुम्कोका रुपमा बिच्चमा ठिङ्ग उभिएको छ । थुम्कोबाट उत्तर फर्कंदा हिसृङ्खलाहरु, पुर्व फर्कँदा आकर्षक बादलुका घुम्टोले छोपिएका पहाडहरु पश्चिम फर्कंदा होचा आँखाले नभेट्ने पहाड तथा दक्षिण फर्कंदा सुन्दर गुल्मीको सदरमुकाम तम्घास बजार । आहा ! चराहरुको चिरविर चिरविर आवाजसँगै आकाशबाट झरेको सितका थोपाहरुले जतिसुकै गरुङ्गो मन लिएर रेसुङ्गा पुगेका जो कोहिलाई मन हलुङ्गो बनाईदिन्छ । सडकका दाँयाबायाँका रुखका छेउमा बसेर प्रेमालाप गर्न होस् वा पहाडको चुचुरोमा घामको राप ताप्दै साहित्य सिर्जना गर्न होस, रेसुङ्गा सबैको सहज गन्तव्य बन्न सक्दछ । यसैले त रेसुङ्गा भर्जिन छ, स्वर्गकी परी जस्तै ।

 

धार्मिक महत्व

प्राकृतिक रुपले रेसुङ्गा जति सुन्दर र मनोरम छ त्यति नै पवित्र छ धार्मिक रुपमा । रेसुङ्गाको धार्मिक प्रसिद्धि गुल्मीमा मात्रै होइन, नेपालमा मात्रै होइन, भारतको अयोध्यासम्म पुगेको छ । हिन्दु धर्मशास्त्रका विभिन्न पुराणहरुमा रेसुङ्गाको विशेष महत्वका साथ वर्णन गरिएको छ ।
त्रेता युगमा रेसुङ्गाको महत्व पुराणहरुमा वर्णन गरेको पाइन्छ । रेसुङ्गाको सम्बन्ध ऋष्यशृङ्ग ऋषिसँग जोडिएको छ ।

ऋष्यशृङ्गबाटै अपभ्रंस भई रेसुङ्गा नाम रहन गएको भन्ने भनाइ पनि रहँदै आएको छ । रेसुङ्गा सत्ययुगबाटै तपोभूमिका रुपमा रहँदै आएको दाबी छ । सत्ययुगमा कश्यप ऋषिले तपस्या गरेको र तपस्याबाट प्रशन्न भएर भगवान विष्णुले कश्यप पत्नी अदितीको गर्भबाट जन्म लिई वामन अवतारमा रहेको प्रसंग वाल्मीकी रामायणमा पढ्न सकिन्छ ।

त्यसबेलादेखि नै रेसुङ्गा पर्वत सिद्धाश्रमका रुपमा प्रख्यात रहेको थियो । रेसुङ्गाको चुचुरोमा रहेको सिद्धबाबाको मन्दिरलाई भगवान शिवको सिद्ध आसनका रुपमा लिईंदै आएको छ । पुराणहरुमा उक्त मन्दिरमा भृगु, पुलह, पुलस्त्य आदि ऋषिहरुले तपस्या गरेको उल्लेख गरिएको छ ।

रेसुङ्गामा त्रेतायुगमा ऋष्यशृङ्ग ऋषि आई बसेको वाल्मिकी रामायणमा उल्लेख छ । अषि ऋष्यशृङ्ग ब्रम्हाको ब्रम्हसभाका सभासदका रुपमा पुराणमा व्याख्या गरिएको छ । रामायणमा अयोध्याका राजा दशरथको पुत्रेष्टि यज्ञ गराउन पनि ऋष्यशृङ्ग ऋषि अयोध्या पुगेका र तीनै ऋषिले सम्पन्न गरेको यज्ञका प्रभावले राम, लक्ष्मण, भरत र शत्रुध्नको जन्म भएको प्रसंग पनि उल्लेख गरिएको छ ।

त्रेतायुगमा नै राम र लक्ष्मण ऋष्यशृङ्ग ऋषिको दर्शन गर्न आउँदा रेसुङ्गाको समस्या सोधनी हुँदा पानीको समस्या रहेको भन्ने कुरा आएपछि रामले धनुष प्रहार गरी पत्थरबाट पानी निकालेको कथा पनि रामायणमा पढ्न पाईन्छ । कथामा भनेजस्तै परापुर्वकालदेखि बराबर लेबरमा रहेको रामकुवा अहिले पनि रेसुङ्गामा प्रसिद्ध छ ।

रेसुङ्गाका सम्बन्धमा विभिन्न विद्वानहरुले लेखेका धार्मिक ग्रन्थहरुमा विविध कथाका प्रसंगहरु जोडिएका छन् । रेसुङ्गा परिषरमा रेसुङ्गा महायत्रशाला, सिद्धस्थान मन्दिर, रेसुङ्गा मठ (जहाँ शशिधर स्वामी र महाप्रभु लक्ष्मीनारायणले समाधी लिएका थिए), महापोखरी, सानो रेसुङ्गा, साउने मठ तथा गौशाला जस्ता धार्मिक संरचनाहरु बनेका छन् । शिव महिमामा आधारित मन्दिर रहेका कारण रेसुङ्गामा साउन महिना भरी पूजाआजा गर्ने दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ ।

 

रेसुङ्गा पुगेर कहाँ बस्ने ?

यति अतुल्य स्थान भएर पनि रेसुङ्गा अहिलेसम्म ओझेलमा पर्यो । रेसुङ्गा संरक्षण समितिले यज्ञशालासँगै धर्मशाला बनाए पनि रेसुङ्गालाई नै गन्तव्य बनाएर पुग्ने पर्यटकलाई त्यहाँ रात बिताउन भने समस्या रहेको छ । भौतिक पूर्वाधार विना पर्यटकीय गन्तव्यको अर्थ महत्वहीन हुन्छ । रेसुङ्गाको भव्यताले भौतिक पूर्वाधारको माग निरन्तर गरिरहेको भान हुन्छ । अहिले रेसुङ्गा संरक्षण समितिले यहाँको विकासका लागि धेरै नै पहल गरेको देखिन्छ । हुन त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रेसुङ्गालाई उत्कृष्ट १०० गन्तव्यमा राखेर केन्द्रीय पर्यटन विकासको सपना पनि देखाएको छ ।

सडकमार्गको स्तरोन्नती, पैदल यात्राका लागि ढुङ्गे सिँढी र अन्य पूर्वाधारको विकास पनि सँगै भैरहेको छ । यति हुँदाहुँदै पनि गन्तव्यमा टिक्नका लागि आवश्यक बसोबास स्थल नभए सो गन्तव्यको यात्रा दीगो बन्न सक्दैन । अहिलेसम्म गुल्मी सदरमुकाम तम्घास बसेर रेसुङ्गा घुमेर पुनः तम्घास फर्कनु पर्यटक तथा अवलोकनकर्ताहरुको बाध्यता रहँदै आएको थियो ।

पछिल्लो समयमा भने रेसुङ्गा नगरपालिकाको सक्रियताले निजी क्षेत्रसँगको सहकार्यमा रेसुङ्गामा सुविधा सम्पन्न रिसोर्ट संचालनमा आएको छ । होटल पौवा प्रालीले संचालनमा ल्याएको पौवा रिसोर्टले सेवा सुरु गरेको छ । यद्यपी, पौवाको सेवाले पूर्णता पाउन अझै केही समय लाग्ने देखिएको छ ।

पौवा रिसोर्टले योगा, घोडचढी, साहित्य सम्मेलन, रेसुङ्गाको विषयमा अन्तरक्रिया जस्ता नियमित कार्यक्रमको योजना बनाएको छ । ११ वटा सुविधा सम्पन्न कोठा र नेपाली पनको आतिथ्यसहित नेपालका विभिन्न क्षेत्रका स्वादको खाना पस्किने योजना बनाएको सो रिसोर्टले जनाएको छ ।

रेसुङ्गामा सबै छ । धर्मिक महत्व, सुन्दर प्रकृति, पवित्र वातावरण, वनस्पतियुक्त वनजङ्गल, दर्लभ चराचुरुङ्गी सबै छ । तर त्यसको आवश्यक प्रचारप्रसार छैन, त्यसैले अहिलेसम्म आन्तरिक र बाह्य पर्यटक पुग्न सकेका छैनन् । स्थानीय सरकारको चासो त रेसुङ्गाको भौतिक निर्माणमा पर्याप्त देख्न सकिन्छ । तर फेरिपनि भएका भौतिक निर्माणलाई अवलोकन गर्न रुचाउने समुदायसम्म रेसुङ्गाको महत्व र महिमा पु¥याउन नसक्दा अझै पनि रेसुङ्गा ओझेलमा परेको छ । सबैको सहकार्य भएमा रेसुङ्गा गुल्मीको मात्रै नभएर देशकै सान बन्न सक्छ । अतुल्य रेसुङ्गा । भर्जिन रेसुङ्गा ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  १ : ४४ बजे

तमोर-मेवा जलविद्युत् आयोजनाको काम सुरु

ताप्लेजुङ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित

भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा

म्याग्दी । भिर महको निकालेको दृश्य छायाङ्कन गर्न नेशनल जियोग्राफीको

आइपिएलको दोस्रो क्वालिफायरमा सनराइजर्स र राजस्थान खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरको खेल

कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको

तारकेश्वरका १२ हजार बालबालिकालाई खोप लगाइने

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाका १२ हजार बालबालिकालाई पोलियोविरुद्ध आइपिभी