२ जेष्ठ २०८३, शनिबार | May 17, 2026

प्रेमको प्रतीक सामाचकेवा पर्व शुरु



धनुषा । मिथिलाञ्चलमा मनाइने साँस्कृतिक पर्व सामाचकेवाका लागि आजदेखि माटाका मूर्ति बनाउने कार्यको शुभारम्भ भएको छ ।

यस पर्वका लागि भ्रातृद्वितीयाका दिन ल्याइएका माटोको आज पञ्चमी तिथि अर्थात् छठ पर्वको खरनाको दिनमा सिरी सामा बनाएर पर्वको शुभारम्भ गरिएको हो ।

प्रत्येक दिन माटाका मूर्ति बनाएर कात्तिक पूर्णिमाको रात्रि सामाचकेवा पर्व विधिवतरूपमा सम्पन्न हुन्छ । यो पर्व मैथिली र थारु समुदायका महिलाले मनाउने गर्छन् ।

ग्रामीण क्षेत्रमा अझै पनि यो पर्वको लोकप्रियता कायमै छ भने तराईका शहरी क्षेत्रमा क्रमिकरूपमा यो पर्वप्रतिको आकर्षणमा कमी आएको बताइन्छ । काँचो माटोको बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ र सोही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेवा’ भनिन्छ ।

भगवान् कृष्णकी सुपुत्रीको नाम सामा थियो । भगवान् कृष्णले आफ्नी छोरीलाई ‘चरा’ बन्ने श्राप दिएपछि पुनः मानव योनीमा फर्काउन सामाका भाइ साम्बले खेलेको भूमिकालाई स्मरण गर्दै यो पर्व मनाउने गरिएको हो ।

सामा वृन्दावनमा घुम्न जाँदा ऋषिसँग रमण गर्ने गरेको झुठो कुरा नोकरानी डिहुलीले कृष्णसमक्ष लगाइन् । डिहुलीको कुरा सुनेर भगवान् कृष्ण आवेशमा आएर सामा र वृन्दावनका समस्त ऋषिलाई चरा बन्ने श्राप दिनुभयो ।

सामाका भाइ साम्बले यी विषयमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामासहित सबै ऋषिलाई श्रापबाट मुक्त गरे ।

भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अबदेखि जसले माटोको सामा बनाएर गाउँभरमा भ्रमण गरी यो पर्व मनाउँछ, उसको दाजुभाइ दीर्घायु हुने सामाले वरदान दिएकाले द्वापर कालदेखिनै यो पर्व मनाउन थालिएको भविष्यपुराणमा उल्लेख गरिएको छ ।

यस पर्वका लागि छठ पर्वको खरनादेखि माटाका मूर्ति बनाउने कार्यको शुभारम्भ भएपछि आज सिरी सामा, दोस्रो दिन चकेवाका साथै एक पातिमा बसेका सातवटा चरा बनाइन्छ ।

यसलाई ‘सतभैया’ भनिन्छ । त्यसपछि क्रमिकरूपमा खररुची भैया, बाटो बहिनो, दुई मुख भएका चरा, भाग्य चक्रका कारण विमुख भएका दाजु बहिनीको मूर्ति बनाइन्छ ।

यसका साथै वृन्दावन जङ्गल, झुठो कुरा लगाउने चुगलखोरका साथै अन्य कलात्मक मूर्तिहरु पनि बनाइन्छ । बनाइएका ती मूर्तिलाई विभिन्न रङमा आकर्षक ढङ्गले रङ्ग्याइन्छ ।

यस पर्वमा सबैभन्दा रोचक पक्ष, दिदीबहिनीले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशंसाका साथै आशिष दिने सामा गीत गाउनु हो । त्यस क्रममा आफूलाई चाहिएका सरसमान पनि गीतको माध्यमबाट सुनाउने प्रचलन रहेको छ । आफ्ना दाजुभाइको नामसहित गाइने यो गीतमा ठूलो मानिस बन्ने, विकासका कार्य गर्ने, समाजमा राम्रो काम गरेर नाम कमाउने लगायतका आशिर्वचनहरु समेटिएका हुन्छन ।

कात्तिक पूर्णिमाको मध्यरात्रीमा महिलाहरुले आ-आफ्ना घरबाट सामा बिदाइको परम्परागत गीत गाउँदै चौबाटोमा भेला भएर पर्व विसर्जनको विधि सुरु गर्छन् । त्यस क्रममा सबैभन्दा पहिले भाइले सामा फोरेपछि चुगला र वृन्दावन जलाइन्छ ।

एक अर्कासँग मूर्ति साटासाट गरेर घर फर्कने क्रममा पुनः गीत गाउँदै आँगनमा पुगेर ‘झुम्मरी’ गीत गाएर पर्वको समापन गरिन्छ । यस पर्वमा प्रसादका रूपमा नयाँ धानका चिउरा, दही, मिठाइका साथै नयाँ धानको बालासमेत राख्ने गरिन्छ । रासस

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  ८ : ४९ बजे

खजुराबाट जुवातास खेलिरहेका १३ जना पक्राउ

खजुरा । बाँकेको खजुराबाट जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले रङ्गेहात

भैरहवामा ‘सिद्धार्थ फुड एन्ड फन’ हुँदै

भैरहवा । भैरहवामा आगामी जेठ ९ र १० गते ‘सिद्धार्थ

‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

नवलपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार ‘जिपिए’ ल्याएर उत्तीर्ण

भोलीदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौं । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का

कर्णाली । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस