५ श्रावण २०८३, मंगलबार | July 21, 2026

मायादेवी मन्दिर खुल्यो, पर्यटक आगमनको प्रतिक्षामा अधैर्य छ लुम्बिनी



लुम्बिनी । कोरोना महामारीका कारण आठ महिनादेखि बन्द बुद्ध जन्मस्थल लुम्बिनी भर्खरै खुलेको छ । लुम्बिनी विकास कोषले लुम्बिनी खुलेको घोषणा गरे पनि कोरोना सङ्क्रमणको त्रासले पर्यटक अझै आउन सकेका छैनन् । लुम्बिनी खुलेपछि व्यवसायीले पर्यटकको स्वागतका लागि तयारी भने थालेका छन् ।

मायादेवी क्षेत्र खुलेसँगै उत्साहित व्यवसायीलाई अहिले लामो समयदेखि बन्द होटलका कोठा सफा गर्न, विस्तारा मिलाउन, होटल तथा रेस्टुराँमा जमेको धुलो टक्टक्याउन, झ्यालढोकाका सिसा पुछ्न र फर्निचर टल्काउन भ्याइनभ्याइ छ । कतिपयले त रङ्गरोगनका कामसमेत गर्दैछन् । “लुम्बिनी खुलेको घोषणाले यहाँका व्यवसायीलाई ठूलै उत्सव वा चाड आएको अनुभूति भएको छ”, लुम्बिनी होटल व्यवसायी सङ्घका महासचिव लीलामणि शर्मा भन्छन् ।

यहाँ सरकारले बनाएको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने तयारीसमेत गरिएको छ । कोरोना सङ्क्रमणको रोकथामका लागि होटललाई पटकपटक स्यानिटाइजेसन गर्ने, पहिलाको तुलनामा सरसफाइलाई बढी जोड दिने, कोठा तथा हातको प्रयोग हुने सामग्रीमा स्यानिटाइजेसन गर्ने काम भइरहेको छ । राम्रो सरसफाइ गरी होटल, माला पसल तथा अन्य व्यवसायलार्ई चिटिक्क पारेर पर्यटकलाई स्वागत गर्ने तयारी उनीहरुको छ । होटल तथा आफ्ना व्यवसायलाई पुरानै लयमा फर्काउन उनीहरुलाई अहिले भ्याइनभ्याइ छ ।

“लामो समयदेखि बन्द होटल तथा अन्य व्यवसायको सरसफाइ तथा व्यवस्थापनका काम सम्पन्न गरेर पर्यटकको पखाईमा छौँ, लामो समयकोे बन्दले हामी थप गुणस्तरीय सेवा दिन सक्ने गरी तयार भएका छौँ”, लुम्बिनी होटल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठ भन्छन् ।

सरकारले धार्मिकस्थल खुला गर्ने निर्णय गरेपछि लुम्बिनीको मायादेवी मन्दिर क्षेत्र पनि पर्यटकका लागि खुला गरिएको हो । मायादेवी मन्दिर नखुले पनि पवित्र उद्यान क्षेत्र खुलेसँगै यहाँका व्यवसायी, विकास कोष तथा भिक्षुभिक्षुणी मिलेर मायादेवी मन्दिरमा दैनिक दीप प्रज्वलन गर्ने, पूजापाठ गर्नेलगायत काम शुरु गरिएको छ । हरेक दिन साँझ मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन गरी कोरोना महामारी अन्त्यको कामना गरिएको छ ।

यससँगै विकास कोषले पनि आठ महिना अवधिको सदुपयोग गर्दै केही सौन्दर्य अभिवृद्धिका काम सम्पन्न गरेको छ भने केही शुरु गरेको छ । लामो समयपछि पर्यटक आउँदा उनीहरुलाई केही नौलो अनुभूति होस् भन्नाका लागि सौन्दर्यका काम गरिएको कोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेशकुमार त्रिपाठी)को भनाइ छ ।

लुम्बिनी परिसर बाहिर रहेको महिलवारस्थित ५ नम्बर प्रवेशद्वारबाट मायादेवी मन्दिर पुग्ने पैदलमार्गमा रङ्गिन इँटा बिछ्याइएको छ । यसअघिको कालोपत्र सडक भत्काएर रङ्गिन इँटा बिछ्याउँदा मायादेवी मन्दिरतर्फ जाने यो सडक निकै सुन्दर देखिएको छ । पाँच नम्बर प्रवेशद्वारबाट मायादेवी मन्दिर जाने सडकको दुवैतिर लहरै राखिएका इटालियन पोलमा बालिएका बत्ती रातिका समयमा मनमोहक देखिन थालेका छन् ।

यसअघि रातिको समयमा लुम्बिनी भ्रमण असहज रहेकामा बत्तीको व्यवस्थाले लुम्बिनी भ्रमण निकै सहज भएको छ । मायादेवी मन्दिर परिसरमा घाँस, दुबो काटेर विभिन्न ठाउँमा फूल फुलाइएको छ । पवित्र कुण्ड सफा गरिएको छ । माटो भरेर प्राचीन बोधिवृक्षको संरक्षण र मन्दिर परिसरमा रहेका पुरातात्विक संरचनाको मर्मतसम्भार गरिएको छ ।

मायादेवी मन्दिरदेखि शान्तिदीप जाने सडकका दुवै किनारामा पनि इटालेली खम्बासहितका सडक बत्ती जडान गरेर आकर्षक बनाइएको छ । केन्द्रीय नहरको पानी सुकाएर सफा बनाइएको छ भने दुवैतिर टुटेफुटेका इँटा मर्मत गरेर चिटिक्क पारिएको छ ।

इँटा छापेर बनाइएका सडक, बत्ती, फूल र सफा गरिएको पानीमा त्यसको प्रतिविम्ब निकै मनमोहक देखिन थालेको छ । सफा गरिएका सम्पदा निकै आकर्षक देखिएका छन् । शान्तिदीपबाट केन्द्रीय नहरतिर फर्केर तस्वीर खिंच्दा डेढ किलोमिटर टाढा रहेको शान्ति स्तूप प्रष्ट देखिन थालेको छ ।

केन्द्रीय नहरमाथि बनाइएका आर्क ब्रिज र छेउमा निर्मित मण्डलको पनि सफाइ गरिएको छ । केन्द्रीय नहरका दुवैतर्फ लहरै रहेका कदमको रुखमुनि फूल फुलाएर सिंगारिएको छ । बगैँचा सफा गरिएको छ भने पैदलमार्ग मर्मत गरिएको छ । नयाँ लुम्बिनीग्राम क्षेत्रमा सारसलगायत पक्षी र जनावरको संरक्षणका लागि पोखरी बनाएर सिमसार क्षेत्रको विकास गरिएको छ जहाँ अहिले सारसका बच्चा हुर्किरहेका छन् । यस्तै गुरुयोजनाको लुम्बिनी ग्राम क्षेत्रभित्र फलफूलका बिरुवा रोपेर हुर्काइएको छ ।

कोषका सदस्य सचिव सानुराजा शाक्यले सौन्दर्यका कामसँगै अन्य पूर्वाधार निर्माणका काम धमाधम भइरहेको बताउँछन् । गत हप्तादेखि पर्सा–लोखडिया सडक विस्तार तथा सौन्दर्यको कामसमेत शुरु गरिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ३ : ५९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं