२२ भदौ २०८३, सोमबार | September 7, 2026

जोखिममा वीर अस्पतालका आकस्मिक कक्ष



काठमाडौं । काठमाडौंको मुटुमै रहेको वीर अस्पतालको आकस्मिक कक्ष चाडबाडका बेलामा समेत बिरामीले भरिभराउ रहन्छ ।

दशैँ, तिहार अनि छठ पर्वका बेला समेत आकस्मिक कक्षमा बिरामीको चाप घटेन । कोरोना भाइरस (कोभिड-१९) को चाप बढ्दै गएपछि जेठो अस्पताललाई कोभिड अस्पतालको समेत जिम्मेवारी थपिएपछि त्यहाँ बिरामी आउने क्रम दोब्बर भएको हो ।

आकस्मिक कक्षमा त झनै बिरामीको चाप बढ्दो छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दो रहेकाले वीर अस्पतालको आकस्मिक कक्ष बिरामीको रोजाइ हुन थालेको छ । स्वास्थ्य मन्त्रालयले कोभिडमा गुणस्तरीय सेवा सञ्चालन गर्न अन्य सेवासँगै आकस्मिक सेवालाई निरन्तर र चुस्त राख्न बारम्बार निर्देशन दिइरहेको छ ।

कोभिडका कतिपय बिरामीलाई भर्ना गर्नुपर्ने हुन्छ भने कतिपयलाई आकस्मिक कक्षमै उपचार गर्नुपर्ने हुन्छ । सोहीअनुसार सकेजति सेवा प्रदान गरिएको अस्पतालका निर्देशक डा.केदारप्रसाद सेन्चुरी बताउँछन् । सार्वजनिक, व्यक्तिगत र साप्ताहिक बिदा समेत नलिएर आकस्मिक सेवा आमनागरिकलाई उपलब्ध गराइएको छ । कुल ४३ शय्या रहेको वीरको आकस्मिक कक्ष उनले भनेझै शुक्रबार अत्यधिक बिरामीले भरिएको थियो ।

अझै थप बिरामीको ओहोरदोहोर चलिरहेको थियो । वीर अस्पतालका चिफ कन्सल्ट्यान्ट तथा आकस्मिक सेवा विभागका प्रमुख डा विष्णुबहादुर बस्नेतका अनुसार रातो, पहेँलो र हरियो ब्लक बनाएर आउने बिरामीको अवस्था हेरेर व्यवस्थापन गरिन्छ । मेडिकल कन्सल्ट्यान्ट, चिफ मेडिकल कन्सल्ट्यान्ट, मेडिकल अफिसर, ‘डिउटी’मा खटिने पारामेडिक्स र नर्सहरू दिनरात बिरामीको सेवामा खटिने गरेका छन् । सेवालाई व्यवस्थित बनाउन खटिनेहरूको नामावलीसहितको विवरण हरेक दिनजसो नै अद्यावधिक गरिन्छ ।

सेवा सहज र राम्रो बनाउन बिहान, दिउँसो र राति तीन सिफ्टमा कामको खटनपटनको व्यवस्था गरिएको छ । जसमा अनिवार्य रूपमा मेडिकल अफिसर र पारामेडिक्स र नर्स रहन्छन् । ‘डिउटी’मा रहेकालाई अप्ठ्यारो परेमा ‘अनकल’ नर्स र चिकित्सकको अत्यावश्यक सेवाको व्यवस्था मिलाइएको छ । ‘उहाँहरूले अप्ठ्यारो पर्दा फोन गर्नुहुन्छ, अनि आउन सक्ने भएमा फोन गर्नुहुन्छ, जसअनुसार अनकल र नियमित डिउटी साटफेर हुन्छ”, उनले थपे । साथै आपत्कालीन समयमा समेत अनकल चिकित्सक सक्रिय रहन्छन् । कुन बिरामीको अवस्था के छ र कसरी उपचार गरिने भन्ने सल्लाह अनकल चिकित्सकले दिएपछि सोही अनुसार काम चल्छ ।

निरन्तरको डिउटीमा रहेकाको हकमा भने दैनिक कार्यतालिका अनुसार नै काम हुने गर्छ । आकस्मिक सेवाकै लागि १२ जना स्टाफ नर्स खटाइएको छ । बिरामीको प्रारम्भिक अवस्था जाँच्ने, नसा खोल्ने, औषधि र अक्सिजन चढाउने काममा चिकित्सकलाई सघाउने काम गदछन् । कोभिडको सङ्क्रमणलाई ध्यानमा राखी आकस्मिक कक्षमा काम गर्ने सबैलाई घर पुर्‍याउने र ल्याउने व्यवस्था मिलाइएको छ ।

कार्यरत नर्सहरूका अनुसार पनि काम गर्दा अहिले समस्या छैन । रातमा काम करिब १२ घण्टा काम गरेपछि अर्को दिन उसका लागि बिदा हुन्छ । तेस्रो दिन रातिमा मात्र उसले काम गर्न आउँछ । माइनर ओटी र ट्रमा सेन्टरमा पनि अन्य केही बिरामी र हाड भाँचिएका बिरामीको व्यवस्थापन गरिने भएकाले सहज छ । आकस्मिक सेवा लिन आउनेका लागि छुट्टै एक्सरे सेवा, ल्याब सेवा निःशुल्क गरिन्छ ।

वीर अस्पताल दुई महिनाअघि कोभिड अस्पताल बनेको हो । कोभिड लागेको हो भनेर सुरुवातमा बिरामी चिनिँदैन । भयग्रस्त अवस्थामा कोभिड लागेको शङ्कास्पद बिरामी जाँच्न चिकित्सक डराउने अवस्था थियो, विस्तारै सहज भएको छ । आएका शङ्कास्पद बिरामीको पीसीआर निःशुल्क हुन्छ ।

पीसीआर गरेपछि आकस्मिक कक्षको एककुनामा रहेको छुट्टै पाँचवटा आइसोलेसनको शय्यामा राखिन्छ । पोजेटिभ आएको खण्डमा अस्पतालको अर्को खण्डमा व्यवस्था गरिएको शय्यामा सारेर उपचार गरिन्छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ७ : १६ बजे

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

अवतरणका क्रममा अमेजन एयरको विमान दुर्घटनाग्रस्त, पाँचको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो

बार्सिलोनाको विजयी यात्रा कायमै, भ्यालेन्सियामाथि ५-० को शानदार जित

काठमाडौं । बार्सिलोनाले स्पेनी ला लिगामा आफ्नो शतप्रतिशत सुरुआतलाई निरन्तरता

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा