१६ श्रावण २०८३, शनिबार | August 1, 2026

खोटाङ्गेको पहिचान, घङ्गरुको लौरो उपहार !



खोटाङ । कुनै समय खोटाङ आउने जो कोही पाहुनाका लागि खोटाङको चिनो लौरो उपहार दिने गरिन्थ्यो ।

खोटाङको सदरमुकाम दिक्तेल बजारमा त्यसबेला युवा खेलाडी तथा समाजसेवी मिलन चाम्लिङले लौरो उत्पादन गर्ने काम गर्दथ्ये । शुरुमा व्यावसायिक जस्तो नभएको उनको सीप विस्तारै उद्योगका रुपमा फस्टाउन थालेको थियो । ‘यो मेरो टेक्ने, यो मेरो छेक्ने, परि आयो भने पुर्पुरो सेक्ने’, चाम्लिङ ह्याण्डी क्राफ्टको नारा नै बनेको थियो ।

खोटाङमा घुम्न आएका होस् या कुनै कार्यालयहरुको काममा आउने सबैको हातमा एउटा अर्गानिक घङ्गरुको लौरो हातमा थमाइदिने चलन निकै लोकप्रिय बनेको थियो, त्यसबेला । हुन पनि छिमेकी जिल्ला भोजपुरको खुकुरी र ओखलढुङ्गाको राडीपाखी त्यसबेलाको जिल्लाको चिनारी नै भने पनि हुन्छ ।

जो कोही भोजपुर पुगे भोजपुरे खुकुरी उपहार ल्याउनै पर्ने र ओखलढुङ्गा पुगे रुम्जाटारको राडी बोक्नै पर्ने । जिल्लाकै विशेषता बोकेका यस्ता घरेलु उत्पादनहरु थिए । यी सामग्रीहरुको बजार व्यवस्थापन हुन नसक्दा अहिले विस्तारै लोप हुने अवस्थामा पुगेको छ ।

अहिले भोजपुरे खुकुरीको पनि चर्चा हुन छाडेको छ । उसै रुम्जाटारको राडीपाखीको नाम ओझेलिएको छ । यस्तो बेला खोटाङको घङ्गरुको लौरो मिलन चाम्लिङ हिँडेपछि विस्तारै हराउन थालेको छ । कथा घङ्गरुको लौरोकै हो ।

जब खोटाङमा मिलन चाम्लिङले लौरो उत्पादनलाई व्यवसायीकरण गर्न कोशिस गरे । त्यसबेला दुई जना भाइलाई उनले सिकानु पनि भएको थियो । उनले बनाएको लौरोले देश-विदेशका नागरिकहरुलाई सहारा मात्र दिएन खोटाङका बेरोजगार दुई युवाले सामान्य रोजगारी पनि पाएका थिए ।

जब परिस्थितिले मिलन चाम्लिङलाई काठमाडौँ झिकायो खोटाङमा केही न केही अभाव रह्यो । चाम्लिङसँगै लौरो उत्पादन गर्न सीप सिकेका भगिन्द्र विश्वकर्मा र नारायण विश्वकर्माले यो पेशालाई निरन्तरता दिन सकेनन् । भगिन्द्र लौरो बनाउन सजिलो काम भए पनि यो पेशाबाट जीविकोपार्जन नहुने भएपछि विदेश गए ।

यस्तै नारायण विश्वकर्मा पनि यो पेशामा रमाउन सक्नु भएन । यसपछि चाम्लिङले व्यवहारिक तालिम दिएका युवा भीमबहादुर विश्वकर्मा र रविन्द्र विश्वकर्मा रहेका थिए । रविन्द्रले खास यसलाई पेशाकृत गरेनन् ।

खाल्लेका भीमबहादुर विश्वकर्माले भने यसलाई व्यावसायिक हिसाबले अगाडि बढाउन मेहनत गरे । केही समय दिक्तेलमा पसल नै खोलेर पनि बसे । सामान्यत बाँसबाट निर्माण गरिएका हस्तकलाको समान र घङ्गरुलगायत काठको लौरोमा जनावरको सिङबाट बनाइएका समाउने भागहरु निकै राम्रा र लोभ लाग्दा हुने नै भए । तर, यही व्यवसायले भने उनलाई पनि टिकाएन । उनि पनि यो पेशा नै छाडेर अहिले फर्निचरतिर काम गर्दै आएका छन् ।

दिक्तेल छाडेर काठमाडौँ छिरेका चाम्लिङले समेत यसको निरन्तरता दिन सकेका थिएनन्। उनले काठमाडौंमा चाम्लिङ ड्राइभिङ सेन्टर खोलेर चलाइ रहेका छन् । यी माथिका प्रशङ्ग अब कथाको रुपमा मात्र रहेका छन् । यसलाई कथा बनाउन मात्र सकिने अवस्थाको सिर्जना हुनु दुःखद् विषय हो ।

यसलाई व्यावसायिक प्रवद्र्धन गर्न सके र व्यक्तिगत हिसाबमा लागेका उद्यमीलाई प्रोत्साहन गरेर बजार व्यवस्थापनमा जोड दिन सकेको भए अहिले विदेशमा बनेका स्टिलका लौरोको सट्टामा नेपाली लौरोको बजारमा खोटाङको नाम राख्न सकिन्थ्यो कि ? भन्ने लाग्दछ ।

यी सामान्य कामहरु गर्नबाट हामी चुक्दा हाम्रो खोटाङको लौरोको पहिचान गुमेको छ । पछिल्लो समयमा खोटाङमै एक लौरो अभियन्ता बनेर अगाडि आएका छन् । निकै लामो समय सरकारी सेवामा रहेर पेन्सनमा निस्केका लौरो अभियन्ता हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ (साविक दिक्तेल-५ बसेखा) का चन्द्रप्रसाद आचार्य । उमेर हदका कारण केही समय अगाडि सरकारी सेवाबाट अवकाश लिएका उनले घरमा बस्दै गर्दा वृद्धवृद्धाको सहारा बन्ने मन गरे ।

जागीरको सिलसिलामा गाउँ-गाउँ, बस्ती-बस्ती चहारेका उनले वृद्धवृद्धालाई जीवनको उतारार्धमा साथ दिने एकमात्र सहारा लौरो मात्र रहेछ भन्ने अड्कल काटे । त्यसैले उनले घङ्गरुको लाठाहरु बटुलेर खिप्न थाले । खिपेर बनाएका लौरोलाई उनले शुरुमा आफ्नै गाउँ दिक्तेल आचार्य गाउँ वरिपरिका वृद्धवृद्धालाई निःशुल्क बाँडे ।

जागिरकै सिलसिलामा धेरैवटा गाउँमा पुगेका उनले अरु गाउँबस्तीका वृद्धावृद्धा नचिन्ने कुरै भएन । उनले यो कामलाई निरन्तरता दिन थाले । उनले धार्मिकग्रन्थमा १०८ र एक हजार आठ दान गर्नुको विशेष अर्थ र महत्व रहेको बुझेका छन् । यही धार्मिक मान्यताको आधारमा उनले शुरुमा १०८ लठ्ठी दान गर्ने भनेर शुरु गरेको अभियान अब एक हजार आठको लक्ष्यमा पुगेको छ ।

गाउँका वृद्धवृद्धालाई आफैँ गएर लठ्ठी दिने गरेका आचार्यले टाढाका वृद्धवृद्धालाई आफन्तमार्फत लठ्ठी पठाइदिने गरेका छन् । विसं २०३७ कात्तिक १५ गते बहुमुखी विकास कार्यकर्ता तथा गाउँ पञ्चायत सचिव (खरिदार) का रुपमा सरकारी सेवामा प्रवेश गरेका आचार्यले २०७४ साल जेठ १९ गते सरकारी जागीरबाट अवकाश लिएपछि निरन्तर लाठी उत्पादनमा लागी परेका छन् । पहिल्यै अलिअलि लठ्ठी खिप्ने सीप रहेको बताउने आचार्यले सीपलाई सदुपयोग गरेर अशक्तलाई प्रदान गर्दा मानवीय सेवा र धर्म पनि हुने भएकाले यो काम गरेको बताए ।

उनले खबर आए र पुर्‍याइदिने माध्यम भए १०० वर्ष नाघेका नेपालका पूर्वपश्चिम जुनसुकै ठाउँका वृद्धवृद्धालाई पनि लाठ्ठी उपहार पठाइदिने बताए । एउटा लौरो बनाउन औसतमा रु एक हजारदेखि एक हजार ५०० सम्म पर्ने गर्दछ । योसँगै आचार्यले बाँसको चोयाबाट बुनिने टोपी, ह्याट र कोट पनि बुन्ने
गर्दछन् । हस्तकलाको हिसाबले अनौठो लाग्ने सीपहरु रहेका आचार्यले पछिल्लो समयमा लठ्ठी अभियानमार्फत खोटाङको गुमिसकेको पहिचानलाई पुनःस्थापित गर्न लागेका छन् ।

मायाको चिनोको रुपमा लठ्ठी दिने खोटाङको पृथक पहिचानलाई जोगाउन यो कार्य निकै महत्वपूर्ण रहेको छ । यसलाई प्रोत्साहित गर्न स्थानीय सरकार तथा सङ्घसंस्थाको तर्फबाट सम्मान गर्नुपर्दछ । साथै यसअघि जो व्यावसायिक बन्न कोशिसमा रहेका थिए, उनीहरुलाई पुनःस्थापित गर्न जरुरी छ ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ६ : ३७ बजे

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न