३ असार २०८३, बुधबार | June 17, 2026

अलैँचीको मूल्य वृद्धि नहुँदा किसान चिन्तित



ताप्लेजुङ । पहाडी क्षेत्रको मुख्य आम्दानीको स्रोत मानिएको अलैँचीले भने जस्तो मूल्य नपाउँदा अलैँची कृषक चिन्तित छन् । केही वर्ष यतादेखि अलैँचीको मूल्यमा क्रमशः उतारचढाव आइरहेको छ ।

गत वर्षको अलैँची मुस्किलले बिक्री गरेका किसानले यो वर्ष नयाँ उत्पादनसँगै भाउ बढ्ने आशा गरेका थिए तर बजारमा नयाँ उत्पादन लैजाँदा गत वर्षको भन्दा पनि कम मूल्य पाएपछि थप निराशा छाएको छ । चार वर्षअघि प्रतिमन (४० किलो) रु एक लाखभन्दा बढीमा अलैँची बेच्न पाउँदा पहाडी क्षेत्रका अलैँची कृषक उत्साहित थिए ।

त्यही समयमा अलैँची खेतीमा लगानी पनि बढाए तर अर्को वर्षदेखि क्रमशः मूल्य घटेपछि ऋण लिएर अलैँचीमा लगानी गरेका किसान एकाएक निराश बने । ‘भाउ बढेर रु एक लाखभन्दा माथि पुगेपछि त्यसै वर्ष ऋण लिएर अलैँचीमा लगानी थपेँ, धान मकै फल्ने खेतबारी मासेर अलैँची रोपेँ, तर भने जस्तो भाउ नआउँदा लगानी पनि त्यसै खेर गयो, अन्नपात पनि किनेर जोहो गर्नुपर्ने अवस्था आयो’, सिरिजङ्घा गाउँपालिका–७ खेवाङका अलैँची कृषक राजकुमार भट्टराई भन्छन् ।

भाउ घटे पनि फेरि बढ्ला कि भन्ने आसले अलैँची खेतीलाई भने यहाँका किसानले निरन्तरता दिइरहेकाछन् तर अलैँचीको बजारीकरण र मूल्यमा तत्काल कुनै सुधार हुने सङ्केत देखिँदैन । भारत बाहेकका तेस्रो मुलुकमा सिधै निर्यात हुने वातावरण नबन्दासम्म मूल्यमा सुधार हुने सङ्केत नदेखिएको अलैँची व्यवसायीले बताएका छन् ।

‘एउटै मात्र बजारको भर पर्नुपर्छ, भारतका व्यापारीले जति मूल्य भन्छन् त्यही मूल्यमा अलैँचीको कारोबार गर्नुपर्ने बाध्यता छ, मूल्यमा स्थिरता हुँदैन, राज्यले यसको बजारीकरण र मूल्यको एकरूपताका लागि विशेष पहल गर्न आवस्यक छ’, अलैँचीको कारोबार गर्दै आएका स्थानीय बुद्ध दाहाल भन्छन् ।

हालसम्म नेपालमा उत्पादित अलैँची भारतबाहेकका अन्य मुलुकहरुमा सिधै निर्यात हुन सकेको छैन । अहिले ताप्लेजुङमा प्रतिमनको रु २५ हजार ५०० का दरले किनबेच भइरहेको छ । गएको वर्ष प्रतिमन रु २६ देखि २७ हजारका दरले अलैँचीको कारोबार भएको थियो ।

चार वर्षअघि प्रतिमन रु एक लाखभन्दा बढी मूल्यमा कारोबार भएपछि जिल्लाका अधिकांश किसानले धान, मकैलगायतका अन्न उत्पादन हुने खेतबारी मासेर अलैँची रोपेका थिए ।

पहाडी भूभागमा प्रशस्तै उत्पादन हुने अलैँचीको बजारीकरण र मूल्यमा सुधार गर्न सके मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने र आफुहरुलाई समेत फाइदा पुग्ने अलैँची किसानको भनाइ छ ।

यता भारतबाहेकका मुलुकमा समेत सिधै निर्यातको वातावरण बनाई बजारीकरणमा सहजता ल्याउन आवश्यक भएको किसानहरूले बताएका छन् ।

वर्षौँदेखि अलैँचीको मूल्यमा आइरहने उतारचढावलाई रोक्दै मूल्यमा एकरूपता ल्याउन र बजारीकरणका लागि सरकारले थप पहल गरे आफूहरुको समस्या समाधान हुने कृषकहरुको भनाइ छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ७ : ४१ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा

अध्ययन बिदा सकेर नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ

पैचोको ‘नेसनल सेल्स समिट’ सम्पन्न, स्वदेशी उत्पादनको बजारीकरण र कृषि उद्योग प्रवर्द्धनमा जोड

काठमाडौं । पैचो पसल प्रा.ली.ले देशभरका सेल्स प्रतिनिधीकाबीच नेसनल सेल्स