१ आश्विन २०८३, बिहिबार | September 18, 2026

कालिगण्डकी करिडोरको बागलुङखण्ड फराकिलो बनाउने काम अन्तिम चरणमा



बागलुङ । चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजना बागलुङखण्ड फराकिलो बनाउने काम अन्तिम चरण पुगेको छ ।

आयोजनाको बागलुङ खण्डअन्तर्गत बलेवा विमानस्थलदेखि जैमिनीको पालुङखोलासम्मको सडक १० मिटर चौडा बनाउने काम ८० प्रतिशत सकिएको हो ।

कोरोना महामारीका कारण भएको लकडाउनको समयमा समेत कामलाई निरन्तरता दिएको नेपाली सेनाले आगामी जेठ १५ गतेसम्म आयोजना हस्तान्तरण गर्नेगरी काम चलिरहेको जनाएको छ । आयोजना निर्माणको जिम्मा लिएको सेनाले पछिल्लो समय अधिकांश स्थानमा भिर, पहरा र चट्टान काटेर सडकलाई १० मिटर चौडा बनाइरहेको छ ।

बागलुङखण्डअन्तर्गतको मालढुङ्गा–बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक भने सेनाले गत वर्ष नै सडक विभागको कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरेको थियो । बलेवा विमानस्थलदेखि केही अघि बागलुङ नगरपालिकामा पर्ने खण्डमा पर्खाल लगाउने र माटो पन्छाउने काम मात्रै बाँकी छ ।

“जैमिनी नगरपालिकामा पर्ने सबै खण्डमा काम चलिरहेको छ । कुनै अवरोध नभए जेठमा हामीले जिम्मेवारी हस्तान्तरण गर्छौं”, नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलका प्रमुख रेश्मीराज भट्टराईले भने, “चिसोमा काम गर्नेहरु कम पाइन्छन् तर हामीले रोक्ने छैनौँ ।” बागलुङ खण्डअन्तर्गत २४ किलोमिटर १६० मिटर सडक फराकिलो बनाउने काम चलिरहेको छ ।

जैमिनी नगरपालिका–८ छिस्तीको बाघखोरमा बम विस्फोट गरेर चट्टान कटानको काम भइरहेको भट्टराईले बताए । “केही ठाउँमा ब्लास्टिङको काम पनि बाँकी छ, केही ठाउँमा वाल लगाउनुपर्ने छ”, उनले भने, “छिटफुट काम रहेकाले छिट्टै सकिन्छ भन्नेमा छौँ ।”

उक्त खण्डमा सबैभन्दा कठिन मानिएको जैमिनी नगरपालिका–५ को भिर र वडा नं ६ को काभ्रेको भिरमा चट्टान फोड्ने काम सकिएको छ ।

करिडोर फराकिलो भएपछि सुनौलीबाट पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी, मुस्ताङ हुँदै कोरला पुग्न सवारी साधनलाई सहज हुनेछ । सेनाको निर्माण कार्यदलले बागलुङ र गुल्मीको समेत गरी ३८ किलोमिटर सडक फराकिलो बनाउनका लागि चालू आर्थिक वर्षमा १८ करोड २५ लाखमा जिम्मेवारी पाएको थियो ।

भारतको सुनौली नाकाबाट चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका जोड्ने ३४५ किलोमिटर दूरीको यो करिडोर अहिलेसम्मकै छोटो मार्ग भएको आयोजनाले जनाएको छ । करिडोरको गुल्मी खण्डमा कालोपत्रको कामसमेत शुरु भएको छ । -रासस

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ९ : ३५ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा