१८ श्रावण २०८३, सोमबार | August 3, 2026

चिसो बढेसंगै जनजीवन कष्टकर



महोत्तरी । महोत्तरीसहितका मध्यपूर्वी तराईमा अचाक्ली बढेको चिसोले जनजीवन झन्झन् कष्टकर हुँदै गएको छ । पछिल्लो एक सातायता घाम नदेखिएर लगलगी मुटु कमाउने जाडो बढ्दै गएपछि जनजीवन कष्टकर बन्दै गएको हो ।

गत पुस २७ गतेयता महोत्तरीमा घाम देखिएको छैन । जताततै हुस्सुले डम्म ढाकेको छ । बेगले बहने चिसो स्याँठ र लगातारजसो परिरहेको तुषारोले जाडो बढाएपछि कतै काममा निस्कन नसकेर कैदीजस्तै बनिएको यहाँका बासिन्दा बताउँछन् ।

‘‘बारीका तरकारीका बोट पहेँलिँदै गए, टमाटर त बोटमै कुहिएर आफैँ भुइँमा झर्दैछन्,’’ महोत्तरीको बर्दिबास नगरपालिका-९, पशुपतिनगरका तरकारी किसान महेन्द्रसिंह कुशवाहा भन्छन्, ‘‘कोसे तरकारी (सिमी, केराउ, मटर)का बोट, लहरा, फूल र कोसा पनि कक्रक्क परेका छन् ।’ बाली देख्दा मन विरक्तिने स्थिति रहेको कुशवाहा बताउँछन् ।

कुशवाहाजस्तै यसै बस्तीका रामविनोद महतो, जवाहर महतो र भोला महतो पनि लगातार एक साताको शीतलहरले तरकारी बालीबाट हात धुने अवस्था बनेको चिन्ता जनाउँछन् ।

लगातार चिसो बढ्दै जाँदा दूध दिने गाई, भैँसी सुक्दै गएका छन् । अन्य पशु–वस्तु पनि समुचित स्याहार नपाउँदा जिङ्राएका पशुपालक किसानको चिन्ता छ । ‘‘न हरियोपरियो घाँस खोज्न जान सकिएको छ न वस्तु चरनमा लान सकिन्छ,’’ जिल्लाकै भङ्गाहा नगरपालिका-४, रामनगरका बासिन्दा किसान हीरादेवी दाहाल भन्छिन्, ‘‘यी वस्तुको बिजोग हेर्दा मन थाम्न सकिन्न ।’’ आफ्ना गोठका सात भैँसी, एक गाई र स-साना पाडापाडी, बाच्छाबाच्छीले सात दिनदेखि पराल र पुरानो गहुँको भुसबाहेक खानेकुरा अरु देख्न नपाएको दाहाल विरक्तिँदै बताउँछिन् ।

लगातार मौसम चिसिँदै जाँदा बजारु चहलपहल स्वात्तै घटेको छ । किसानले फसल बजार पुर्‍याउन नसकेपछि बजारका स्थायी व्यापारीको भाउमा मनोमानी बढेको छ । मौसम जति बिग्रे पनि भान्सामा नभई नहुने वस्तु लिन जाँदा ल्याउनैपर्ने भएपछि आफूहरु मूल्यको मारमा परेको बजारु उपभोक्ता बताउँछन् ।

यता, लगातारको चिसोले बस्ती-बस्तीमा बिरामी हुनेको सङ्ख्या बढेको छ । दम, खोकी र हाडजोर्नी दुख्ने व्यथाका बिरामी ह्वात्तै बढेका छन् । खासमा गरिब बस्तीका वृद्धवृद्धा, स-साना दूधेनानी र सुत्केरी बढी जोखिममा परेका बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विधानचन्द्र झा बताउँछन् ।

चिसो बढ्दै जाँदा यसबाट घरका परिवारजनलाई ठिक राख्नु पहिलो प्राथमिकता भएको चिकित्सक र स्वास्थ्यकर्मी बताउँछन् । विनाप्रयोजन घर बाहिर ननिस्कने, खानेकुरामा गेडागुडीको तातो झोल, तातोपानी र ताजा खानेकुरा खाने, धुवाँ ननिस्कने दाउराको आगो ताप्ने, न्यानो ठाउँमा बस्ने र न्यानो लुगा लगाएर चिसोबाट हुने मानवीय क्षति बढ्न दिनबाट जोगाउन सकिने स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा बताउँछन् ।

यसैगरी, घरपालुवा पशु-वस्तुलाई पनि घरकै ढुटोपिठो पानीमा मिसाएर तताएर दिने, आङमा बोराचट्टी ओढाएर न्यानो गोठमा राख्ने, गोठ निरन्तर सफा राख्ने र घर वरपरकै पराल, भुसमा दाना मिसाएर ख्वाउने गरे चिसोबाट हुने पशु क्षति घटाउन सकिने जिल्लाका पशु चिकित्सक र पशु स्वास्थ्यकर्मीको सल्लाह छ । रासस

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  १० : १७ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले