२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

पर्यटकको पर्खाइमा रामकोट, जहाँ कायमै छ कटुवाल प्रथा



दमौली । चिटिक्क परेका घर । घर अगाडि ढुङ्गा छापिएको सडक । प्रत्येक घर अगाडि मकैको सुली । तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका-३ मा रहेको रामकोट गाउँको चिनारी हो यो । मगर जातिको बसोबास रहेको यस ठाउँका स्थानीयवासीले घरवास सञ्चालन गरेका छन् ।

वि.सं २०७५ मा १४ घर दर्ता गरेर रामकोट घरवास व्यवस्थापन समिति दर्ता गरिएको थियो । कोभिड-१९ को प्रभावका कारण पर्यटक आगमन ठप्प रहेको रामकोटमा पुनः पर्यटक आगमन हुन थालेको घरवास व्यवस्थापन समितिका अध्यक्ष बिहीसरा आलेले जानकारी दिए । चौध घरले तालिम लिएर शुरु भएको रामकोट घरवासमा अहिले ४० घरमा पर्यटक राख्न मिल्नेछ ।

“कोभिड अगाडि अलि-अलि आन्तरिक पर्यटक आउने क्रम थियो तर कोभिडले रोकियो”, उनले भने, “कोभिडको प्रभाव कम हुँदै गएपछि अहिले फेरि पर्यटक आउन थाल्नुभएको छ ।” रामकोट आउने पाहुनालाई स्थानीय युवा क्लबले सांस्कृतिक कार्यक्रम देखाउने गरेको छ । “स्थानीय संस्कृति र अग्र्यानिक खानेकुरालाई जोड दिएका छौँ”, उनले भने, “यहाँ आएका आन्तरिक पर्यटक सन्तुष्ट नै भएको पाएका छौँ ।”

यहाँका स्थानीयवासीलाई घरवास आर्थिक उपार्जनको माध्यमसमेत बनेको छ । पृथ्वी राजमार्गको व्यास नगरपालिक-१२ छिर्कने हुँदै र बन्दीपुर बजारबाट रामकोट पुग्न सकिन्छ । बन्दीपुर गाउँपालिकाले बन्दीपुर बजारबाट रामकोट पुग्न साइकल लेनसमेत निर्माण गरेको छ । बन्दीपुर आएका विदेशी पर्यटक पनि साइकल लेनको बाटो पैदल हिँडेरै रामकोटसम्म पुग्ने गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

“रामकोटको घरवासलाई जोड्ने उद्देश्यसहित गाउँपालिकाले ४/८ किलोमिटर साइकल लेन निर्माण गरेको छ”, थापाले भने, “यसले समग्र गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुर्याउँछ ।” घरवास सञ्चालनले ग्रामीण भेगका जनतालाई स्वरोजगार बन्न सहयोग पुर्याएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन् । रामकोट सामुदायिक घरवासलाई यस वर्ष गण्डकी प्रदेश सरकारको तर्फबाट १० लाख अनुदानको व्यवस्था भएको छ ।

रामकोटमा कायमै छ कटुवाल प्रथा

सञ्चारको सुविधा विकसित भए पनि तनहुँको बन्दीपुर गाउँपालिका-३ रामकोटमा अझै पनि कटुवाल प्रथा कायमै छ । स्थानीयवासी नरसिं थापाले विगत छ वर्षदेखि गाउँमा कटुवालको रूपमा काम गर्दै आएका छन् ।

गाउँमा हुने बैठक, कार्यक्रम, पूजाआजालगायतका बेला थापाले घोक हालेर सूचना प्रवाह गर्दै आएका छन् । कटुवालको कामलाई घोक फिराउने भनेर बुझिन्छ । उनका बाबुले पनि रामकोटमा कटुवालको काम गर्दै आएका थिए । बाबुको निधनपछि गाउँलेले आफूलाई कटुवालमा नियुक्त गरेको उनले बताए । “गाउँमा केही कार्यक्रम, पूजाआजा भयो भने मैले सबैलाई घोक हालेर सूचना दिने गरेको छु”, उनले भने, “त्यसबापत गाउँलेले वार्षिकरूपमा धान, मकैलगायतका अन्न दिने गरेका छन् ।”

स्थानीय महिला बिहिसरा आलेले गाउँमा सूचना प्रवाह गर्नुपर्दा थापाले घोक हाल्ने गरेको बताइन् । उनका अनुसार घरघरमा मोबाइल, रेडियो भए पनि थापाले घोक हालेपछि मात्रै सबै गाउँले जम्मा हुने गरेका छन् । “यहाँ वर्षौँदेखि चलिआएको चलन हो”, उनले भनिन् । रासस

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ९ : २२ बजे

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख

चाडपर्वपछि सरकारविरुद्ध ठूलो आन्दोलनको तयारी भैरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले