अभिसप्त जिन्दगी

लघु कथा
गणेशबहादुर जीसी
१४ चैत्र २०७७, शनिबार

पट्यार लाग्दो निस्सार जिन्दगी बोकेर बिरक्तिको अँध्यारो आकाशमुनी बसी बहुरुपी सडक यात्री मानवहरुको हृदयलाई केस्रा केस्रा केलाइरहेकी अनु । आफनै विगतलाई खोस्रिदा खोस्रिदा भत्भती मुटु पोलिरहन्छ उनको, सेकुवा मासु जस्तै ।

शनिबारको दिन । विहान तीन बजेदेखि छ बजेसम्म रक्सीको तीन तले भाँडासंग कुस्ती खेल्नु भद्राको दैनिकी । आफ्नै जिन्दगीसंग संघर्ष गर्दा गर्दा क्लान्त छोरी भद्रा खाना खाइवरि सुतेकी थिई । समयको गति सूचक सूर्य अहिले उनकै दुःखी जिन्दगीलाई घिसार्दै क्षितिजपारी ओर्लिसक्यो अझै उठेकी छैन । “शनिबार मानेकी होली विचरी । अघिपछि स्कूल जानुपर्छ,जिन्दगी उचाल्ने आशाको त्यान्द्रो । के गरोस, अन्य दिनको थकान समेत आजै तृप्त गर्दैछे ।”

गणेशबहादुर जीसी

चारपाई खाटमा पल्टिएर उन्मुक्तिको सपनामा खेलिरहेकी छोरीतिर पलक उघारेर स्थिर आँखाले छाम्दै–
“ विचरी आधा राति उठेर काम गर्छे । ‘तपाई हुन्दिनुस, म आफै गर्छु’ भन्छे । मान्दिने । मेरो सर्वस्व लुटिएर बचेकी यही यौटी छोरी कति अभागी जिन्दगी लिएर जन्मिएकी रहिछे । के गर्ने, पेट भएको प्राणी न हो । पेटको भोक मात्र हैन । चेतनशील मानव जातिका जिन्दगीसंग झुण्डिएका अनेक भोक र भोगहरु हुन्छन् । न्यूनतम भोक तृप्ती मानिसको नैसर्गिक आवश्यकताहरु । तिनैै भोकहरु तृप्तीमा बेहोर्न पर्ने मानिसका विविध भोगाई, जिन्दगीका उकाली ओरालीहरु ।

आफनी प्राणप्यारी छोरीलाई ममताको छहारीमा खेलाउँदा खेलाउँदै भर्खर दुई बर्ष मात्र के भएकी थिई, यसको पितृ वात्सल्यताको काखलाई रित्याइदिए,आततायीहरुले । ‘प्रतिकृयावादीको सुराकी गरेको र चन्दा नदिएको’ भनेर जीवनसाथी शिक्षक रोशनलाई मेरो प्रेमिलो अँगालोबाट चुँडेर लगे, उनको हराभरा जिन्दगीलाई ।”

यसरी आफनो आधा जीवन शिक्षक रोशनलाई चुडेर लगेपछि पति वियोगको आँशुको तालमा डुबेर भए पनि छोरीलाई यनकेन स–शिक्षा हुर्काएकी थिइन् अनुले । प्रेमको अँगालोबाट एउटा जीवनसाथी मात्र गमेको थिएन, खनजोत गरीखाने जमिनको टुक्रामा पनि कब्जा जमाएका थिए, देशको परिवर्तनको लागि काम गरेको भन्ने तथाकथित क्रान्तिकारी आततायीहरुले । उनीहरुकै कारण रित्तो हात सडकमा उत्रिएकी अनुको लागि त्यसपछिका दिनहरु घाम हराएको खग्रास ग्रहण जस्तै भएको थियो । त्यही अँध्यारोमा पीडाका आँशुहरु प्युँदै अढाई बर्षकी छोरीलाई दुपट्टाले पिठिउँमा कसेर रक्सी पार्ने आल्मुनियम र माटाको तीनतले भाँडातिर सोझाएको थियो,निरुपाय नियतिले,उनको जिन्दगीलाई ।

यसरी हुर्काएकी छोरी भद्रा अहिले सोह्र बर्षको उमेको खुट्किलोमा उक्लिदै थिई, आमा अनुको जीवनको बैसाखी बनेर ।

राप्ती किनारको ऐलानीमा बनेको, बाटा छेउको सानो फुसे झुपडी । लिपपोत गरेको स्निग्ध । त्यो पनि भोली कुनचाहिं पुलिस आएर लखेट्ने हो केही थाहा छैन । या कुन चाँहि शक्तिशाली दलाल ठग आएर यो जग्गा मेरो नाउँमा भैसकेको छ ,तँ उठेर गैहाल, भन्ने हो त्यो पनि थाहा छैन । या कुन दिन राप्ती नदीको सुनामी आएर सोरेर लाने हो? त्यो पनि थाहा छैन । जिन्दगीको भरोसा नभए झैं बासको पनि भरोसा नभएकी अनुको झुपडपट्टीकैे पूर्वतिर बर्खे खहरे खोलोछ ,पश्चिम तर्फ बर्षैपिच्छे पालैपालो कहिले वारि,कहिले पारि गरेर बाढी उर्लेर बस्ती सोहोर्ने राप्ती नदी, पहाडको खोल्सो अनि खोलोदेखि विकसित हुदै आएको,राप्ती नदी ।

त्यहाँ अनु मात्र हैन बर्षौँं देखि बसीआएका अरु दुःखीहरु पनि बजारै जस्तो गरेर बसेका थिए । जग्गा सार्वजनिक भए पनि धन भएका कथित सुकुम्बासीहरुले त पक्की महल पनि ठडाइ सकेका थिए । त्यसैले ठाउँ रमाइलै छ,झुपडी बजार ।

सदा झैैं आजको गोधुलीमा पनि फाट्टफुट्ट ग्राहकहरु आउने क्रम सुरु भएको छ,भँवराहरुले सूर्योदयमा फूलको फक्राइ थाहा पाए झैं । भद्राको हिस्सी परेको सुन्दर चेहरा । उसले बनाएको, खाँदा टर्रो लागे पनि ओठैदेखि रसाउने नसिलो रक्सीको स्वाद लिन टाढाटाढादेखि ग्राहकहरु आइपुग्थे ।, उसो त उनीहरुको बस्ने,खाने सेवानै आकर्षक थियो,स्वच्छ ,सफा,स्निग्ध । सधै आइरहुँ लाग्ने ।

हुन त रक्सी भन्ने चिज यस्तो मन्द बिष हो,जसले मात्रा नमिले ज्यान लिन सक्छ । होस नमिले दण्डभागी बनाउन सक्छ । होस र सुर मिले कवि बनाउन सक्छ । जोस बढे, बाघ बनाउन सक्छ, अझ त्यो भन्दा बढी भए सुङ्गुर बनाएर फोहोरको नालीमा घुसार्दिन सक्छ । अनि यमराजको दरबारमा पु¥याउन सक्छ । अन्तत्वगत्वा जात उही, भात उही, मात उही,मूल्य फरक,मान्यता फरक ।

यही अखाद्य बस्तुप्रति मान्छेहरु लालायित हुन्छन् । झोपडीदेखि आलिशान होटलसम्म यसको हल्लिखल्ली । फरक यति हो, कच्चा पदार्थ उही भए पनि झुप्रामा बन्यो भने बाइण्डेडको घण्टी बजेर नेल,जेल,झेल खेल । डिष्टिलरी र महलमा पुग्यो भने ब्राण्डेड भएर टेबुल ग्राउण्ड खेल । हरेक क्षेत्रमा विभेद्ताको पराकाष्ठा । जति कठोर प्रतिबन्ध लागे पनि खाने मुखलाई जुङाले छेक्न त सक्दोरहेनछ ।

त्यसैले अनुको होटलमा शुद्ध, स्वादिलो रक्सी पाउने विश्वासमा एल टी (लोकल ठर्रा) पिउन मान्छेहरुको घुइचो लाग्थ्यो,सन्ध्याकालमा । भद्रा होटलमा कच्ची लोकल (घर बनुवा) र पक्की (ठेकेदारी डिष्टीलरीबाट आयातीत) दुबैथरी मौजुद हुन्थ्यो । अनुदिदीकाँ भद्राले बनाएको मौवाको स्वादिलो, नसादार रक्सी पिउन पुराना गाहकीहरुको ताँती नै लाग्थ्यो । उनीहरुलाई मौवाको कच्ची र नयाँ ग्राहकलाई डिस्टीलरीको पक्की कस्तुरी र खुकुरी रक्सीले सेवा उपलव्ध हुन्थ्यो । अन्यथा घरेलु रक्सीको गन्ध फुस्किएमा पुलिश र डिष्टिलरीको दृष्टि आकर्षित भएमा दण्डनीतिले समातेपछि जे पनि हुन सक्थ्यो,पुलिशहरुबाट ।

पूर्वका नियमित ग्राहक–“भद्रा नानी, एक गिलास पानी लेउ त”भनेर एकैचोटि रक्सी र पैसा विनिमय हुन्थ्यो गुप्त कुनामा । घुटुक्ट पारेर जान्थे भद्र रक्सी पारखीहरु । कोही पाखण्डी,हुल्लड जड्याहाहरु चाँही उनीहरुको निरीहतामा अबैधताको पुच्छर समातेर पक्राइदिने,थुनाइदिने डर,धाक,धम्की तिखार्दै डकारुन्जेल उधारो खाएर हिडिदिन्थे । कोही घुसघुसेहरु चाँही बिश्वासको चिल्लो घस्दै डकारुन्जेल खाएर तिर्ने बेला बाटै बदलिदिन्थे । यसरी ,‘नाक दुखाउनु पित्तलको गहनामा’ थियो,उनीहरुलाई । दुःख जति आफूलाई, नाफा जति उधारेलाई हुन्थ्यो । चुत्थो कामको गुत्थो काइदा । चोक्टा खान खोज्दा झोलमा डुबाई । विचरा अनुको आमाछोरीको मनमा असफलताको तीतो ऐरेलु पस्थ्यो ।

अनुको लागि यो व्यवसायबाट केवल पेटको भोक तृप्ती र छोरीको पढाई खर्च जेनतेन चलेको थियो । अनि समाजका काला गोरा विविध खाले अनुहारहरुलाई गहीरो गरी छाम्दा, केलाउदा, निफन्दा निफन्दा उनको मनमा अरुप्रति घृणा उम्लेर आउथ्यो भने आफूप्रति अभिसप्त आत्मग्लानी ।

विकल्पको फेरले तानेको अनु आमाछोरीको जीवन यापनको बाध्यताले उनलाई अपमानित भट्टी पसलतिर सोझाएको थियो, शुभ चिन्तक छिमेकीको सल्लाहबाट । यो उपेक्षित पेशाबाट आफनो अस्मिता त जोगाएकै थिइन् भने आफनी १६ बर्षीया छोरीको कुमारित्व जोगाउन धौ धौ परेको थियो ।

यसरी बहाना नभएको उनीहरुको निस्सार जिन्दगीको जहाज द्विप द्विप भौतारिए पनि डुब्न भने पाएको थिएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*