१२ श्रावण २०८१, शनिबार | July 27, 2024

लोकतन्त्र खतरामा छ, कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्छ : पूर्वराष्ट्रपति डा. यादव



काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकको लोकतन्त्र खतरामा रहेको बताउनुभएको छ । नवलपरासीको गैँडाकोटका तिलकप्रसाद सापकोटाले लेखेको ‘यात्रा निरन्तर’ पुस्तकको शनिबार विमोचन गर्दै यादवले लोकतन्त्र रक्षाका लागि सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताए ।

संविधान जारी गर्दा र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदा कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको भन्दै डा. यादवले लोकतन्त्रको रक्षाका लागि पनि अब कांग्रेसले नेतृत्व गर्नुपर्ने बताए। “नेपालमा लोकतन्त्रको नागरिक जग बलियो छ”, यादवले भने, “नेपालमा नगारिक सचेत छन्, हरेक राजनीतिक परिवर्तनमा जनताले साथ दिएका छन् ।” राजनीतिक परिवर्तनका क्रममा विश्वभर छरिएर रहेका नेपालीहरुले साथ दिएको भन्दै यादवले अबको पद्दति कसरी बलियो बनाउने भन्नेमा लाग्नुपर्ने बताए ।

संविधान जारी गर्ने क्रममा आफूले देशभित्रको समस्या समाधान गरेर जाऊँ भन्दा कांग्रेसले नै आफूलाई छाडेको डा यादवको भनाइ छ । “संविधान जारी गर्दा तराई–मधेसको समस्या समाधान गरौँ देशमा शान्ति आउँछ भनेको थिएँ”, यादवले भने, “तर त्यो बेलामा कांग्रेसले नै मलाई एक्लै बनायो ।” संविधान र देशलाई केन्द्रविन्दुमा राखेर शान्ति स्थापना गर्न सकिने उनको भनाइ थियो ।

सामाजिक व्यक्तित्व तिलकप्रसाद सापकोटाले ‘यात्रा निरन्तर’ मार्फत विगतमा भएका राजनीतिक घटनाक्रमका बारेमा यथार्थ चित्रण गर्नुभएको भन्दै डा यादवले यसबाट वर्तमान युवापुस्ताले पाठ सिक्न सक्ने बताए ।

जीवनवृत्तान्तमा आधारित कृति लोकार्पणका क्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले यस क्षेत्रमा आफूले लगातार तीनपटकसम्म निर्वाचन जित्नुमा लेखक सापकोटाको ठूलो श्रेय रहेको स्मरण गरे । सापकोटाले टिकट नपाउनु दुर्भाग्य रहेको भन्दै कोइरालाले आफू आएको कारण पनि त्यसो हुन गएको स्वीकार गरे ।

सोही कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले वर्तमान सरकारले विधिको शासन, जवाफदेही राजनीति र लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न नसकेको बरु उल्टो दिशातर्फ हिँडेको आरोप लगाए। कोरोनाका कारण राज्य शिथिल बनेको अवस्थामा यसबाट प्रभावित जनशक्तिका लागि राहतको कार्यक्रम ल्याउन नसकेको गुनासो गरे । कार्यक्रममा थापाले धर्मको नैतिक पक्षलाई समातेर राजनीति गरिरहेको सन्दर्भमा सापकोटाको यस पुस्तकले प्रेरणा प्रदान गर्ने बताए ।

कार्यक्रममा पूर्वसांसद शङ्कर पाण्डेले ‘यात्रा निरन्तर’ पुस्कत ज्यूँदो इतिहास रहेको र यसले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई प्रष्ट चित्रण गरेको बताए ।

कार्यक्रममा श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले सापकोटाले धार्मिक क्षेत्र तथा सामाजिक सङ्घसंस्थामा पुर्याउनुभएको योगदान अतुलनीय रहेको बताए । व्यक्तिले असल कार्य गर्दै समस्त कृतिलाई लिपिबद्ध गर्दै अघि बढे जीवन सरल र सफल बनाउन सहयोग पुग्ने उनको भनाइ थियो । इतिहास भनेको कतैबाट आउने नभई आफैले कर्म गर्दैै जाँदा बन्नेसमेत उनले बताए ।

नेपाली कांग्रेसका जिल्ला सभापति एवं गण्डकी प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेले साविक नवलपरासी हुँदा सापकोटाले पार्टी र सङ्गठनप्रति देखाउनुभएको सक्रियता र चिन्तनले सामाजिक विकासमा प्रेरणा दिइरहने बताए । उनले पुस्तकले कांग्रेसलाई गौरवान्वित र सङ्गठनलाई बलियो बनाउन सघाउ पुर्याउने र मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे ।

सामाजिक एवं राजनीतिक विश्लेषक हरि शर्माले सापकोटा एक मार्गदर्शक र उनको पुस्तक प्रेरणादायी रहेको बताए । गैरआवासीय नेपाली सङ्घका पूर्वउपाध्यक्ष कुल आचार्यले राजनीतिक र सामाजिक योगदानमा सापकोटाको जति नै चर्चा गरे पनि कम हुने चर्चा गर्दै उनको छवि निकै उच्च रहेको बताए । विजय परिवारको तर्फबाट विजय विकास स्रोत केन्द्रका अध्यक्ष लक्ष्मी गौतमले वर्तमान विजयको स्वरूप र यसलाई स्थापित गराउन सापकोटाको योगदान अतुलनीय रहेको बताए ।

पुस्तकका कृतिकार सापकोटाले अभिभावकविहीन अवस्थामा गैँडाकोटमा अपनत्व कायम गर्दै बिपी कोइरालाको समाजवादी अवधारणालाई आत्मसाथ गर्दै अघि बढ्दै गरेको अवस्थामा आफूले भोगेको कुरालाई लिपिबद्ध गरेको बताए। बागलुङको बिहूँमा भेटिएका बिपी र आफ्नो बुबाको प्रेरणाले राजनीतिमा लाग्न प्रेरित गरेको र आफूलाई भन्दा पनि समाजका लागि काम गरेको उनले बताए । पुस्तक लोकार्पण कार्यक्रममा स्वागत गर्दै सापकोटाका सुपुत्र केशवप्रसाद सापकोटाले आफ्ना बुबाप्रति गौरव व्यक्त गरे ।

पुस्तकका प्रकाशक विजय फाउण्डेसनका अध्यक्ष त्रिलोचन सापकोटाले पुस्तकबाट आएको आम्दानी परोपकारी काममा लगाइने बताए । सो कार्यक्रममा पूर्वराष्ट्रपति यादवले लेखक सापकोटासँगै विसं २०१७ मा जेल जीवन बिताउनुभएका गोविन्द कँडेल र टेकनारायण श्रेष्ठलाई सम्मान तथा स्व सूर्यभक्त अधिकारीलाई मरणोपरान्त सम्मान गरेका थिए ।

सापकोटाले विसं २०४० देखि २०७६ माघसम्म आफैँले भोगेका र लेखेका दैनिक घटनाक्रमलाई पुस्तकमा उतारेका छन् । लोकतन्त्र प्राप्तिका लागि सङ्घर्षको समय–डायरीमा सामाजिक तथा राजनीतिक पृष्ठभूमिबारे उल्लेख गरेका छन् । । पाँच सय आठ पृष्ठको सो पुस्तक साङ्ग्रिला बुक्स र विजय फाउण्डेसनले प्रकाशनमा ल्याएका हुन् ।

पुस्तकमा लेखकले आफूले भोगेका विविध घटनाक्रम, आफ्नो जेल जीवन र समग्र राजनीतिक जीवनदेखि सामाजिक क्षेत्रमा आफ्नो संलग्नतासमेत गरी उहाँको समग्र दैनिकी समेटिएको छ ।

सादगी र सरल स्वभावका सापकोटा प्रजातन्त्र र स्वतन्त्रताको आन्दोलनका साथै त्यसका लागि आवश्यक पर्ने राजनीतिक र नागरिक सङ्गठन निर्माणका लागि निरन्तर सङ्घर्षरत एक असल प्रजातन्त्रवादी व्यक्तित्व हुन् ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ७ : २३ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान