१ पुस २०८२, मंगलबार | December 16, 2025

आज मिथिलाञ्चलमा लोकपर्व जुडशीतल मनाइँदैछ



जनकपुरधाम । मिथिलाञ्चलमा आज लोकपर्व जुडशीतल हर्षोल्लासपूर्वक मनाइँदैछ । यस पर्वलाई विशिष्ट कृषि संस्कृति मानिएको छ ।

प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनी मनाउने गरेको छ । वस्तुतः दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु रहेको छ ।

मिथिलाञ्चल मुख्यतः कृषि प्रधान क्षेत्र भएकाले यहाँ मनाइने चाडपर्वमा कृषि संस्कृतिको प्रभाव देखिन्छ । फलतः यस पर्वमा पनि कृषि कर्मबाट उत्पादित उत्पादनको प्रयोग उदाहरणीय एवं उल्लेखनीय मानिन्छ । जुडशीतलमा रहेका दुई पद जुड र शीतल कल्याणसँग सम्बन्धित रहेको छ । जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ अर्थात् शीतलता प्रदान गर्नु नै जुडशीतल हो ।

यस पर्वमा जेठाले आफूभन्दा सानाको टाउकोमा हत्केलामा पानी लिई आशीर्वाद सूचक भावले शीतलता प्रदान होस् भन्ने गर्दछन् । यस क्रममा मैथिल एकाबिहानै उठेर आफ्ना परिवार र सामूहिकरूपले आफन्तलाई आशीर्वाद दिने चलन रहेको छ । यस पर्वमा शीतलताको कामना सूर्यको कडा तापविरूद्ध हुन्छ ।

वैशाखदेखि सूर्यको ताप वृद्धि हुने गरेका कारण यस पर्वमा मानवमात्रको कल्याण नभई रूख, बिरुवाका लागि पनि शीतलताको कामना गरिन्छ । यसका साथै घरका दैलामा तथा घरको बीचमा रहेको खम्बालाई पनि जुराउने गरिन्छ । यस दिन चुलो पनि जुराउने भएकाले चुलोमा आगो बालिँदैन ।

त्यस्तै पशुपक्षी, लतावृक्ष, बोटबिरुवाका साथै घर–गृहस्थीका सबै वस्तु सन्दुक, आलमारी, बाकस, पलङ, कुर्सी, टेबुल, कुचो, जाँतो, ढिकी ओखल, मुसल, सिलौटा, लोढा, सवारी साधनमाथि पानी जुराउने गरिन्छ । त्यस्तै यस पर्वमा गाउँका इनार तथा कुवाको जीर्णेद्धार पनि गरिन्छ । यसमा जीउभरि हिलो दल्ने परम्परा पनि रहेको छ । मल र हिलोसँग मानव शरीरको सृष्टि भएको तथ्यलाई यस पर्वले निरन्तरता दिँदै आएको देखिन्छ । जीउभरि हिलो दल्नुलाई प्राकृतिक चिकित्सामा पङ्क स्नानको महत्व रहेको छ । ग्रीष्मको प्रचण्ड तापले सम्भावित रोगको निदानका सन्दर्भमा पङ्क स्नानको प्रथा शुरू भएको बताइन्छ ।

जुडशीतलमा खानपानको पनि आफ्नो खास परम्परा छ । यस पर्वका बारेमा भनिन्छ– एक सालको खाना अर्को सालमा खानुपर्छ । त्यसैले यसमा राति पकाइएको खाना भोलिपल्ट खाने चलन छ । यस पर्वमा तरुवा, बरी (बेसनको व्यञ्जन) दही विशेष प्रकारले खाइन्छ । जुडशीतलमा कुलदेवतालाई बासीभात, दही, मीठा र आँपको टिकुलाको नैवेद्य चढाइने गरिन्छ । त्यस्तै चिल चरा तथा स्याललाई पनि नैवेद्य दिने चलन छ ।

चिलका लागि नैवेद्यलाई छानामाथि राखिने गरिन्छ भने स्यालका लागि घरदेखि बाहिर लगेर राखिदिने गरिन्छ । यस पर्वमा कतिपय स्थानमा पहलमानीको आयोजना र चङ्गा प्रतियोगिता पनि गरिने परम्परा रहेको छ । रासस

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  १० : ४८ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष