२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

अक्सिजन सकिएपछि अस्पतालका कर्मचारी मध्यरातसम्म सिडिओ कार्यालयमा, तर सिडियोले फोन पनि उठाएनन्



भैरहवा । मंगलबार मध्यराति १२ बजे, रुपन्देही जिल्ला प्रशासन कार्यालयको गेट । छटपटाउँदै, यताउता गर्दै थिए युनिभर्सल मेडिकल कलेजका कर्मचारी । ‘अस्पतालमा दुई सय २० जना बिरामी छन्, अब उनीहरूलाई दुई घन्टालाई मात्र पुग्ने अक्सिजन छ । चितवन प्रशासनले अक्सिजनको गाडी रोकिदिएको छ, पहल गरेर खुलाइदिन आग्रह गर्न आएका हौँ, तर तीन घन्टा भयो, गेट खुलेको छैन, हामीले सिडिओ साबलाई केही भन्न पनि पाएनौँ,’ उनीहरू भन्दै थिए ।

सरकारले पर्याप्त मात्र अक्सिजन उपलब्ध गराउन नसकेको भन्दै सो अस्पतालले आइतबार नै विज्ञप्ति निकालेर नयाँ बिरामी भर्ना बन्द गरेको थियो । तर, अस्पतालमा भएका बिरामीको जीवन नै जोखिममा परेपछि राति नै भए पनि सिडिओसँग गुहार माग्न आएको उनीहरूले बताए ।

‘रुपन्देही प्रशासनले कोटा तोकिदिएको छ, त्यही पनि आपूर्ति छैन । त्यसैले हामीले गाडी चितवन पठाएका थियौँ । तर, त्यहाँका सिडिओले बाहिर जिल्ला दिन मिल्दैन भनेर गाडी रोकिदिनुभयो । त्यसैले हाम्रा सिडिओलाई गुहार माग्न आएका हौँ,’ अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले भने ।

तर, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने उनीहरूलाई कुनै प्रतिक्रिया दिएका थिएनन् । ‘चितवनका प्रजिअसँग रुपन्देहीका प्रजिअले सहजीकरण गरिदिने आशासहित हामी दुई-तीन घन्टासम्म प्रशासन कार्यालयको गेटमा बस्यौँ,’ गुरुङले भने, ‘सिडिओ साबको फोन उठ्दै–उठेन, अंगरक्षकमार्फत खबर पनि पठायौँ, तर केही रेस्पोन्स आएन ।’

भित्रबाट केही खबर आएन, बरु उनीहरू त्यहाँ बस्दाबस्दै चितवनबाट गाडी हिँडेको भन्ने खबर आयो । तर, सो गाडी आउन तीन घन्टा लाग्ने अवस्था थियो । अस्पतालमा राति १ बजेसम्मका लागि मात्र अक्सिजन थियो । सिडिओ कार्यालय पुगेको टोली गेटमा बसिरहँदा अस्पतालकै अर्को टोली रुपन्देहीको छिपागढमा रहेको शंकर ग्यास उद्योगमा पुगेको थियो । ‘चितवनको गाडी आउन्जेल बिरामी बचाउन शंकर ग्यास उद्योगसँग हारगुहार गरेर ४० सिलिन्डर भर्न खोजिरहेका छौँ,’ अस्पतालका प्रमुख प्रशासकीय अधिकृत कमल ढकालले उद्योग परिसरबाट मध्यरात १ बजेतिर भने, ‘यहाँबाट लैजान सकियो र समयमै चितवनको अक्सिजन आइपुग्यो भने आजको संकट टर्नेछ । तर, यही शैलीले कतिन्जेल धान्न सकिएला ? सरकार गम्भीर हुनुप¥यो ।’

विद्युत् आपूर्ति नियमित नहुँदा रुपन्देहीमा रहेका उद्योगले पूर्ण रूपमा अक्सिजन उत्पादन गर्न सकिरहेका छैनन् । त्यसैले पनि समस्या देखिएको उनीहरू बताउँछन् । तर, बिजुली सुचारु गर्न वा अन्तरजिल्ला सहजीकरण गर्न प्रशासन कार्यालयले खासै पहल नगरेको गुनासो अस्पताल सञ्चालकहरूको छ । उक्त समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ६ : ५७ बजे

संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल

जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई

नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले ‘छ स्तम्भ,

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको