५ पुस २०८२, शनिबार | December 20, 2025

रातो मच्छिन्द्रनाथको रथ आज बुङ्मती लगिने



ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज बुङ्मती लगिने भएको छ ।

मुलुकमा बढिरहेको दोस्रो लहरको नयाँ कोभिड भेरिएन्टका कारण यसबाट हुनसक्ने क्षतिलाई अनुमान गरी मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणायन लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलनानुसार यस वर्ष छिट्टै बुङ्मती लैजान लागिएको हो ।

आज दिउँसो तीनदेखि ४ बजेभित्रमा मच्छिन्द्रनाथलाई बुङ्मती ल्याउने तयारी गरिएको ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताए । उनले भने, “करुणामयलाई बोक्न मात्रै आठ जना पुजारी चाहिने भएकाले सक्ने जति पुजारी भगवान् लिन पाटन आउँछौँ ।” यसैगरी वडा २२ ले पनि कोरोनालाई ख्याल गरी बाजा बजाएर हुल गर्दै मच्छिन्द्रनाथ लिन नजान आग्रह गरिसकेको शाक्यले जानकारी गराए ।

बिहान ६ः५० देखि ७ बजेर ४ मिनेट जाँदासम्म भगवान् झिक्ने उत्तम साइत रहँदा सो समयमा साङ्केतिकरूपमा ल्याउने काम गरिने मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताए । उनले भने, “बुङ्मतीका मानिस आएर लोेकेश्वरलाई लाने चलनानुसार आएर लानु हुनेछ ।”

मुलुकमा कोरोना कारण सङ्क्रमणका साथै मृत्युदर पनि बढ्दै जाँदा लोकेश्वरलाई बुङ्मती पठाउँदा सुरक्षा व्यवस्था कडा गरिने भएको गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख खिमा वलीको भनाइ छ । “सदियौँ वर्षदेखि चलाउँदै आएको परम्पराअनुसार टोलटोलमा लगी रथयात्रा गर्न नपाएपछि पटक-पटक हामीले क्षमापूजा गराइरहेका छौँ । यसैगरी आज बिहान पनि क्षमापूजा गरियो,” उनको भनाइ छ ।

बिग्रँदो मौसम र समयका कारण भोटोजात्रा भने देखाउन नसकेको बताइएको छ । गत मङ्सिरमा मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियो । यही जेठ १ गते पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट सुस्तरी सुस्तरी लगभग डेढ सय मिटर पर सोह्रखुट्टे पाटीसम्म रथ तानेर परम्परा धान्ने काम सम्पन्न गरिएको थियो ।

त्यसैगरी बैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामयलाई रथारोहण गराइएको थियो भने चैतकृष्ण प्रतिपदाका दिन रक्तवलोकेश्वरलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराइएको थियो । उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा मच्छिन्द्रनाथ जात्रालाई मनाउने गरिन्छ ।

किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामरुकामाक्षबाट नेपाल ल्याएका थिए ।

काठमाडौं उपत्यकामा मुहार रातो भएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने चलन छ । रासस

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ११ : २१ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य