नयाँ ढंगको पार्टी निर्माणका लागि नेतृ कल्पनाले दिइन अध्यक्ष प्रचण्डलाई ३३ बुँदे सुझाव

खबर कुरा
६ जेष्ठ २०७८, बिहीबार
                 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई नयाँ ढंगले अघि बढाउन यतिबेला देशभरका नेता, कार्यकर्ता र शुभचिन्तकहरुबाट सुझाव मागिरहेका छन् ।

पार्टी र आन्दोलनलाई अब कसरी अघि बढाउने भन्ने बारेमा सुझाव लिएका प्रचण्डले सकारात्मक सुझावहरुको आधारमा नयाँ ढंगले पार्टी संश्लेषण गर्ने जनाएका छन् ।

प्रचण्डले जेठ २ गते आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सुझाव मागेपछि नेता कार्यकर्ताहरुले पनि आआफ्ना सुझावहरु प्रचण्डको सचिवालयलाई पठाउन थालेका छन् । प्राप्त सुझावहरुका आधामार आगामी दिनमा विचार, राजनीतिक, संगठनात्मक, घाइते, अपांग एवं शहीद परिवार लगायत कार्यकर्ताको आचरण, व्यवस्थापन र जिम्मेवारीको बारेमा नयाँ ढंगले अघि बढाउने सोच प्रचण्डले राखेका छन् ।

नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य एवं महिला नेतृ कल्पना शर्माले अध्यक्ष प्रचण्डलाई सैद्धान्तिक, संगठनात्मक एवं अन्य गरी ३३ वटा सुझाव पठाएकी छिन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संगठन सुदृढिकरण, जनअपेक्षाको परिपूर्ति, कार्यकर्ताहरुको मनोबलमा अभिवृद्धि, अन्यदल भन्दा अब्बल दलको रुपमा पुनर्स्थापित गरी जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, थरुहट आन्दोलन, जनजाति आन्दोलन, दलित आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक सहभागिता, धर्मनिरपेक्षता समेतका उपलब्धिहरुको रक्षाको लागि स्पातिलो कम्युनिष्ट पार्टी निर्माणको लागि पेश गरेका बुँदागत सुझावहरुः

 

सैद्धान्तिकः
१) पार्टीको इतिहासको समीक्षा गर्दै २०६२/०६३ को परिवर्तन पछि पार्टीले अनुशरण गरेका रणनैतिक एवं कार्यनीतिक सिद्धान्तहरुको बारेमा कार्यकर्ता स्तरमा व्यापक प्रशिक्षण चलाउनु पर्ने ।

२) नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच भएको कार्यगत एकता र पार्टी एकताप्रतिको सैद्धान्तिक, राजनैतिक उद्देश्य सहित एकता भंग गर्ने षड्यन्त्रको सन्दर्भमा आम कार्यकर्ता र कार्यकर्ता मार्फत जनस्तरसम्म प्रशिक्षित/सुसूचित गर्नुपर्ने ।

३) नेपालको माओवादी आन्दोलन एकीकृत रुपमा कायम रहन नसक्नुका कारणहरु सहित जगैबाट माओवादी आन्दोलनको एकताका लागी क्रियाशिल हुन सम्पूर्ण कार्यकर्ता सहितको पार्टी पङ्तिलाई आव्हान गर्नुपर्ने ।

४) माओवादी पार्टीले जनता समक्ष गरेका प्रतिबद्धताहरु, प्राप्त उपलब्धिहरु र पुरा हुन नसकेको जनचाहनाहरुलाई समेटी आफुबाट भएका गल्ती कमजोरीहरुलाई स्वीकार गरी पूनः त्यस प्रकारका कमजोरी नदोहो-याउने विश्वास सहितको राजनैतिक स्वेतपत्र जारी गर्नुपर्ने ।

५) नेतृत्व, नेता, कार्यकर्ताहरुलाई जनतासँग सकेसम्म बढी घुलमिल गरी जनस्तरमा नै भौतिक रुपमा पार्टीको उपस्थितिलाई जीवन्त राख्नको लागि सोेही बमोजिमको मार्गचित्र तयार गरी लागुगर्ने ।

६) पार्टी र जनता बीचको सम्बन्धलाई मालिक र नोकरको रुपमा नभई एक अर्काका परिपूरकको रुपमा विकास गर्न आमपार्टी पङ्तिलाई जनहितमा परिचालन गर्ने ।

७) नेतृत्व र नेतृत्व पङ्तीले तल्लो कमिटी समेतसंग आवश्यक अन्तरक्रिया, छलफल, विचार विमर्श गर्न सक्ने गरीको संरचना तयार गरी जतिसक्दो बढी अन्तरक्रियात्मक ‘जनतासँग माओवादी’ भन्ने जस्तो छलफलमूलक कार्यक्रममा जोड दिनुपर्ने ।

८) योग्यता, क्षमता, क्रियाशिलता समेतका आधारमा पारदर्शी मूल्याङ्कन पद्दतिको अनुशरण गरी विनाकुनै भेदभाव जिम्मेवारी दिने र क्रमशः संगठनात्मक स्तरोन्नति गर्दै लैजानुपर्ने ।

९) समावेशिताको सिद्धान्तलाई व्यवहारमा पूर्णतया पालना गर्नुपर्ने ।

१०) एउटै माओवादी केन्द्र निर्माणको लागि विभिन्न समयमा अलग भएका समूहहरुलाई पहिलो प्राथमिकतामा राखि एकता प्रक्रियालाई अगाडि बढाई सर्वप्रथम सुदृढ, एकतावद्ध, शक्तिशाली माओवादी केन्द्रको स्थापना गरी त्यस्तो अग्रगामी शक्तिको अगुवाईमा एकीकृत कम्युनिष्ट पार्टीको निर्माण प्रक्रिया अगाडि बढाउनुपर्ने ।

११) माओवादी आन्दोलन तथा कम्युनिष्ट आन्दोलन पटक पटक विभाजित हुनुको कारण समिक्षा गरी सुधार गर्नुपर्ने पक्षको पहिचान गरी भविष्यमा सैद्धान्तिक, बैचारिक एकता सहितको अग्रगमनकारी पार्टीको निर्माण गर्ने तर्फ अग्रसर हुनुपर्ने ।

 

सांगठनिकः
१) ठूलो, भद्दा र अव्यवहारिक संगठनको सट्टा चुस्त, क्रियाशिल र व्यवहारिक कमिटी निर्माण गर्नुपर्ने ।

२) एउटै ठूलो कमिटी भन्दा धेरै तर चुस्त कमिटी निर्माणको लागि आवश्यक विधि तय गरी विधानमा समेत सोहि अनुसारको व्यवस्था उल्लेख गर्नुपर्ने ।

३) कमिटी र नेताहरुको पारदर्शी मूल्याङ्न प्रणालीको विकास गरी जिम्मेवारी प्रदानगर्दा उक्त मूल्याङ्नको नतिजालाई आधार मान्नुपर्ने ।

४) कार्यकर्ताहरुलाई आर्थिक परनिर्भरताबाट मुक्त गरी आर्थिक उपार्जन र जिविकोपार्जनको लागिआप्mनो क्षमता अनुसारको उत्पादनकार्यसँग जोडिन प्रोत्साहित गरी आवश्यक सहयोग समेत गर्नुपर्ने ।

५) नेता संगठन अधिनष्त र कार्यकर्ता जनता अधिनस्थ हुनेगरी प्रशिक्षित गर्नुपर्ने ।

६) अन्य दलहरुसंगको सांगठनिक प्रतिस्पर्धा र धेरै कार्यकर्ताहरुलाई संगठित गर्ने उद्देश्यका साथ साना तर असंख्य संख्यामा संगठन निर्माण गर्न सक्नेगरी पार्टी र जनवर्गिय संगठनहरुको संगठन संरचना निर्माण गर्नुपर्ने ।

७) कमिटीहरुको क्रियाशिलताको निरन्तर रुपमा अनुगमन गरी पार्टीको नीतिअनुरुप थप सक्रिय हुन प्रेरित गर्नुपर्ने ।

८) पार्टी कमिटी, नेताएवं कार्यकर्ताहरुको व्यवहारले नै जनतामा पार्टी प्रतिको धारणा विकसितहुने हुँदा कमिटीहरु एवं नेता कार्यकर्ताहरु सदैव जनताको भावनालाई आत्मसात गर्ने कुरामा कटिबद्ध रहनुपर्ने ।

 

अन्यः
१) पार्टीबाट प्राप्तहुने अवसर, राज्यबाट प्राप्तहुने अवसरमा सहिद, बेपत्ता परिवार र अपाङ्ग, घाइते योद्धा तथा परिवारका सदस्यहरु एवं पार्टीलाई संकटको समयमापनि हरतरहले सहयोग गर्ने व्यक्तिहरुलाई प्राथमिकता दिनुपर्ने ।

२) शहीद, बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरुको जीवनयापन लगायतका विषयमा पार्टीले गम्भिरतापूर्वक ठोस योजना बनाई कार्यान्वयन गर्नुपर्ने ।

३) सबै प्रकारका अवसरवादहरुको चंगुलबाट पार्टीलाई अलग गरी इमान्दारले मात्र पार्टीको गरिमा कायम राख्न सक्छ भन्ने कुरालाई नेतृत्वले सधैं ह्दयङ्गम गर्नुपर्ने ।

४) पार्टीलाई सत्तावा सुविधा प्राप्तगर्ने तर्फ भन्दा जनतालाई लक्षित गरी जनमुखी हुने दिशातर्फ अघि बढाउनु पर्ने ।

५) आफ्नो शक्तिलाई बलियो बनाएपछि मात्र अरुसंगको सौदावाजीलाई प्रभावकारी रुपमा जनअपेक्षा अनुरुप अघि बढाउन सकिने कुरालाई दृष्टिगत गरी सोहि अनुरुप नेतृत्व क्रियाशिल रहनुपर्ने ।

६) पार्टी, नेतृत्व र संगठनलाई वैज्ञानिक ढंगले व्यवस्थापन गरी प्रविधिमैत्री बनाई मितव्ययी र आर्थिक पारदर्शितातर्फ लक्षित गर्नुपर्ने ।

७) नेतृत्वलाई सकेसम्म बढि कमिटी, कार्यकर्ता र जनतासंग अन्तरक्रियाको अवसर प्राप्तहुने प्रणालीको विकास गर्नुपर्ने ।

८) जनताको सहयोगकै आधारमा पार्टीलाई राज्यसत्ता संचालनमा सहभागी गराउनुपर्ने भएकोले पार्टी पङ्क्तीलाई त्यसतर्फ लक्षित गर्नुपर्ने ।

९) राज्य संचालन र पहुंचको लागी बैदेशिक शक्तिहरु संगको समन्वय र अन्तरक्रियाको लागी विशेष संयन्त्र निर्माण गर्नुपर्ने ।

१०) राज्य संचालनमा आवश्यक पर्ने वित्तीय, न्यायिक, प्रशासनिक निकायमा दीर्घकालिन प्रभाव पार्न सक्ने गरी नियुक्ती लगायतका विषयमा गम्भिरतापूर्वक अध्ययन गरी लामो समयसम्मको विश्लेषणका आधारमा कार्य गर्नुपर्ने ।

११) नेतृत्वको अनुशरण कार्यकर्ताले र कार्यकर्ताको अनुशरण जनताले गर्नेगरी पार्टी, नेतृत्व, नेता, कार्यकर्ताहरु अनुकरणीय रुपमा स्थापित हुनेगरी आवश्यक नीतिनिर्देशन जारी हुनुपर्ने ।

१२) कुनै पनिविषय परिपक्व नहुँदै सार्वजनिक हुने गरेका कारण परिणाम निस्कन नसकेको अथवा असफल भएको देखिएको हुँदा विषयवस्तु परिपक्व नहुँदासम्म गोप्य राख्नुपर्ने कुरा विभिन्न घटनाक्रमबाट पुष्टि हुँदै आएको हुँदा त्यस तर्फ ध्यान केन्द्रित गर्नुपर्ने ।

१३) बुद्धिजीवि संगठनलाई पार्टीको थिङ्क ट्याङ्क (Think Tank) को रुपमा विकास गरी नेतृत्वले व्यापक विषयगत अन्तरक्रियापछि मात्र कुनै पनि विषयमा धारणा बनाउनु उपयुक्त हुने ।

१४) पार्टी एकता, सहकार्य वा कार्यगत एकता गर्दा तत्कालिन अवस्था मात्र नहेरी दिर्घकालिन प्रभावलाई विश्लेषण गरेर मात्र निश्कर्षमा पुग्नु उपयुक्त हुने ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*