१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा



काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण इन्द्रावती र भोटेकोशी नदीमा आएको बाढीका कारण नदीमा पानीको बहाव बढेर ती घर डुबानमा परेको हो ।

घर डुबानमा परेपछि जनप्रतिनिधि, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा डुबानमा परेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्नुका साथै सामानसमेत निकालेर अन्यत्र सारिएको छ । डुबान क्षेत्रमा परेका बजार क्षेत्रको बिहीबार पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा, वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, गाउँपालिका अध्यक्ष गुमानध्यव कुँवर, उपाध्यक्ष कल्पना श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल नेतृत्वको टोलीले स्थलगत अनुगमन गरी डुबानबाट भएको भौतिक क्षतिको यकिन विवरण सङ्कलन गरी जिल्ला विपद् व्यवस्थापन समितिमा पेश गर्न आग्रह गरेको छ ।

नदी छेउमा घर भएका कारण पानी पर्न थालेदेखि दुई/तीन दिनदेखि यहाँका मानिस घर छाडेर बाहिरै बस्दै आएका र बुधबार राति आएको ठूलो बाढीले बस्ती नै डुबानमा परेपछि सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको सहयोगमा सामान अन्यत्र सारेको पीडित सुदर्शन रायले बताए ।

दुवै नदीमा बाढी आएको र पछिल्लो समयमा इन्द्रावती नदीले बगर क्षेत्रलाई कटान गर्दै भोटेकोशी नदीलाई धकेलेपछि झन् बस्ती भएकोतिर बहाव बढेपछि घर एक तलासम्म पुरिएको छ । डुबानबाट त्यहाँका विन्दा श्रेष्ठ, नानीबाबु मिजार, रामकाजी श्रेष्ठ, राजु श्रेष्ठ, सुवास राय, रामप्यारी गिरी, दिलीप श्रेष्ठ, सुदर्शन राय, लोकदर्शन राय र श्याम बस्नेतलगायत त्यहाँका ११ घरपरिवार सो ठाउँबाट अन्यत्र सरेका छन् ।

त्यससँगै नदीबाट दोलालघाट पुरानो बजार क्षेत्रमा टहरा बनाएर बस्दै आएका माझी समुदायको टहरासमेत डुबानमा परेको गाउँपालिका अध्यक्ष कुँवरले बताए । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले डुबानमा परेका परिवारको अन्त ठाउँमा पनि घर भएका कारण सुरक्षित ठाउँमा सारिएको र पानीको बहाव झन् बढ्न सक्ने भएकाले थप समस्या हुन नदिन सुरक्षा उपाय अपनाउन प्रहरी प्रशासन परिचालन गरेको बताए ।

नदीमा बाढी आएर दोलालघाट बजार क्षेत्र र मण्डनदेउपुर नगरपालिकाको सिपाघाट क्षेत्र डुबानमा परी पूर्ण तथा आंशिक क्षति भएकाले विपद्बाट प्रभावितको सुरक्षित बसोबास, खाद्यान्न, गैरखाद्य सामग्री जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा व्यवस्थापन गरिरहेको प्रजिअ पोखरेलले बताए ।

समितिले बिहीबार डुबान क्षेत्रको स्थलगत अनुगमन गरी बाढी तथा डुबान प्रभावितलाई तत्काल आवश्यकपर्ने खाद्य तथा गैरखाद्य सामग्री गाउँ/नगरपालिका र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा गर्ने र स्थानीय तहबाट पहिचान भएका थप आवश्यक सामग्री व्यवस्थापनका लागि प्रभावितहरूको विवरण यकिन गरी गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय वाग्मती प्रदेशमा अनुरोध गर्ने निर्णय गरेको छ ।

बाढीका कारण दोलालघाटमा रहेको पक्की पुल रहेको स्थानमा नदीले बगाएर ल्याएको ढुङ्गा, गिट्टी, बालुवा आदिका कारण नदीको उचाइ बढेकाले तत्काल व्यवस्थापन गर्न सम्बन्धित निकायमा अनुरोध गर्नेसमेत जिल्ला समितिले निर्णय गरेको छ ।

त्यससँगै समितिले चाखोला र दोलालघाटको पुरानो बजारसम्मको इन्द्रावती र भोटेकोशी नदीको तटबन्ध गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सिफारिश गर्ने र उक्त स्थानमा बाढी पूर्वसूचना प्रणाली जडान गर्न जल तथा मौसम पूर्वानुमान विभागमा अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ८ : ४९ बजे

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज