७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

कोरोना कहर : २८ वटा सिनेमा हल सधैंका लागि बन्द



काठमाडौं । १६ महिनादेखि जारी कोरोना संक्रमण महामारीका कारण एकपछि अर्को गर्दै सिनेमा हल बन्द हुन थालेका छन् । यो अवधिमा काठमाडौं उपत्यकाका नौ र उपत्यकाबाहिरका १९ गरेर २८ वटा सिनेमा हल बन्द भइसकेका छन् ।

हल सञ्चालकको संस्था नेपाल चलचित्र संघको तथ्यांकअनुसार यी सिनेमा हल अब नखुल्नेगरी सधैंका लागि बन्द भएका हुन् । सिनेमा हलमा जडान गरिएका फिल्म प्रदर्शन गर्ने डीसीएन, क्युब जस्ता सर्भसमेत सम्बन्धित कम्पनीलाई फिर्ता गरेर उनीहरूले सिनेमा हल बन्द गरेका छन् ।

कोरोना महामारीकै कारण सिनेमा हलको भविष्य अनिश्चित देखेर काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिजले सातवटामध्ये चारवटा सिनेमा हल भत्काएको छ । गोपीकृष्ण मुभिजअन्तर्गतको गोपी, कृष्ण, राधा र मिरा गरी चारवटा सिनेमा हल भत्काइएको सो हलका म्यानेजर प्रदीप दाहालले बताएका छन् । हल भत्काएर सो ठाउँमा गोपीकृष्णले यतिबेला गोपीकृष्ण मल निर्माण सुरु गर्दै छ । गोपीकृष्णले अब ओम, नम र शिवाय गरी तीनवटा सिनेमा हल मात्र सञ्चालन गर्ने पनि दाहालले बताएका छन् ।

यस्तै, क्यूएफएक्स सिनेमा कम्पनीले सो समूहका तीनवटा सिनेमा हल बन्द गरेको छ । काठमाडौंको हात्तीसारस्थित जयनेपाल सिनेमा घर र कमलपोखरीस्थित कुमारी सिनेमालाई क्यूएफएक्सले बन्द गरेको हो । जयनेपाल सिनेमा घर नेपालकै अहिलेसम्मको जेठोमध्येको सिनेमा घर पर्छ । कुमारी सिनेमाले पनि चार दशकभन्दा लामो इतिहास बोकिसकेको छ । यसरी लामो इतिहास बोकेका सिनेमा घर कोरोनाको महामारीकै कारण बन्द गर्नुको विकल्प नरहेको क्यूएफएक्स सञ्चालकको भनाइ छ ।

काठमाडौंको बालाजुमा रहेको गंगा चलचित्र मन्दिर पनि कोरोना महामारीकै कारण सधैंका लागि बन्द भएको छ । यो सिनेमा हलमा गंगा ‘क’ र गंगा ‘ख’ गरी दुईवटा फिल्म हल रहेको थियो । यी दुवै हल सधैंका लागि बन्द गर्न बाध्य भएको सो हलका सञ्चालक मदनमान बज्राचार्यले बताएका छन् ।

तीन दशक लामो इतिहास बोकेको सिनेमा हल बन्द गर्नुपर्दा आफूलाई निकै दुःख लागेको बज्राचार्यले बताएका छन् । तर, सिनेमाको व्यापार कहिलेबाट सुरु हुने भन्ने निश्चित नरहेको र भाडा तिरेर हल राख्न सक्ने अवस्था नभएकै कारण यसलाई सधैंका लागि बन्द गर्नुको विकल्प नरहेको पनि बज्राचार्यको दुखेसो छ ।

कोरोना संक्रमणका कारण अनिश्चित भविष्य देखेरै काठमाडौं उपत्यकाका नौवटा सिनेमा हल बन्द गरिएको नेपाल चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानले बताएका छन् । प्रधानका अनुसार काठमाडौं उपत्यकाबाहिरका सिनेमा हल पनि कोरोनाको महामारीपछि धमाधम बन्द भएका छन् ।

यसैगरी, मोफसलका १९ वटा सिनेमा हल भत्काइँदै छ । बिर्तामोडको कृष्ण टाँकिज, धुलावारीको तृष्ण हल, मोरङको सुकुना सिनेमा हल, विराटनगरको बाबा चलचित्र मन्दिर, धनकुटाको केटिवी सिनेमा हल, इनरुवाको कमल टाँकिज, जनकपुरको मिलन फिल्म हल र लवकुश फिल्म हल भत्काउन लागिएको हो ।

त्यस्तै, चितवन टाँडीको नारायणी चलचित्र मन्दिर, नवलपुरको गणपति चलचित्र मन्दिर, बर्दघाटको मोहिनी चलचित्र मन्दिर, कैलालीस्थित पहलवानपुरको सिनेमा हल, दाङस्थित लमहीको सिनेमा हल, तुलसीपुरस्थित बिष्णु टाँकिज, पाल्पाको सन्तोष चलचित्र मन्दिर, बाग्लुङको कालिगण्डकी चलचित्र मन्दिर, नुवाकोटको त्रिशूलीमा रहेको सिनेमा हल र तनहुँको दमौलीमा रहेका उत्तरशिला हल, कुस्माको सिद्धेश्वर हल पनि बन्द भएको अध्यक्ष प्रधानले बताएका छन् ।

यी सबै सिनेमा हलले नेपाल चलचित्र संघ र चलचित्र विकास बोर्डमा पत्र पठाएर सधैंका लागि बन्द गरिएको जानकारी गराएका छन् । सरकारले सही नीति नल्याएको खण्डमा एक वर्षभित्र अझै अहिलेको भन्दा दोब्बर संख्यामा सिनेमा हल बन्द हुने अध्यक्ष प्रधानको भनाइ रहेको छ । यो आर्थिक वर्षमा सिनेमा हललाई विद्युत् शुल्क मिनाहा गर्ने घोषणा बजेटमा गरिए पनि अझै मिनाहा नगरिएको गुनासो अध्यक्ष प्रधानको रहेको छ ।

नेपाल चलचित्र संघका महासचिव तथा प्रवक्ता अशोक शर्माले कोरोना महामारीको अवस्था यसरी नै अझै केही वर्ष जाने हो भने सबै सिनेमा हल बन्द भएर भत्काउनुपर्ने अवस्था आउने बताए । कोरोनाको समयमा सबैभन्दा चाँडो बन्द हुने र सबैभन्दा ढिलो खुल्ने तर दर्शक नआउने व्यवसाय सिनेमा हल नै भएको पनि उनको कथन छ । सोही कारण नेपाली सिनेमा हलको भविष्य कोरोनाका कारण अनिश्चित रहेको उनले बताए । आजको राजधानी दैनिकमा डब्बु क्षेत्रीले लेखेका छन ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ६ : २१ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल