बुटवल । नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीले विहिबार राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । अभियानको एक समारोहका बीच नेकपाका लुम्बिनी प्रदेश इन्चार्ज एवं पुर्व मन्त्री चक्रपाणि खनाल बलदेवले उद्घाटन गरे ।
उद्घाटन समारोहमा बोल्दै इन्चार्ज खनालले अन्तर्राष्ट्रिय घटनाक्रम र आन्दोलनहरुले नेपालका वामपन्थी पार्टीहरु निराश हुनु नपर्ने बरु उत्साहित हुनु पर्ने अवस्था रहेको बताए । विश्वव्यापी रुपमा पुँजिवाद भन्दा कम्युनिस्टहरुले अंगिकार गरेको समाजवाद ठीक रहेछ भन्ने मान्यता स्थापित हुँदै गएको खनालले दाबी गरे ।
ब्राजिलमा चौथो पटक कम्युनिस्ट नेता राष्ट्रपतिमा निर्वाचित भएका र लाखौं जनता विजयउत्सव मनाउन सडकमा उत्रिएको घटना नेपालका वामपन्थीका लागि सकारात्मक भएको उनले बताए । दीपक भट्ट जस्ता बिचौलिया दलाललाई प्रयोग गरेर केपी ओलीले नेपालमा कम्युनिष्ट एकता भताभुङ्ग बनाएको खनालले आरोप लगाए ।
खनालले जेन जी आन्दोलनले विश्वव्यापी रुपमा पुराना दल र नेतृत्वप्रति राम्रो काम गरेको भएपनि जबरजस्त नकारात्मक धारणा स्थापित गरिदिएको बताए । उनले अब पार्टीमा युवाहरुको सहभागिता बढाउनुपर्नेमा जोड दिए । पार्टीमा युवा पंक्ति नबढाउने हो भने नेकपा पनि मोहनविक्रम सिंह, नारायणमान बिजुक्छे, मोहन वैद्यको पार्टी जस्तो खुम्चिएर एकाध जिल्लामा सीमित हुनुपर्ने जोखिम रहेको स्पष्ट पारे ।
नेपाली कम्युनिष्ट पार्टी रुपन्द्येहीको दुई महिने जागरण अभियानको बुटवलमा उद्घाटनमा बोल्दै नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) का नेता तथा लुम्बिनीका पूर्वमन्त्री सुदर्शन बरालले वर्तमान सरकारले पुलिस स्टेट बनाउन लागि परेको बताए । उनले पूर्वप्रधानन्यायधिशलाई सुरक्षा चुनौतीको वाहनामा पक्राउ गर्नेदेखि वहालवाला मन्त्रीलाई समेत १२ बजे राती थुन्नु भन्ने आदेशले सरकार पुलिस स्टेट बनाउन अग्रसर रहेको बताए ।
उनले सरकारको आलोचना गर्ने प्रेसदेखि लिएर न्यायलय, प्रहरी सबैलाई आफ्नो मातहतमा राख्ने काम भएको दावी गरे । उनले सरकारकै गृहमन्त्री सुधन गुरुङसँग हदबन्दी भन्दा बढी जग्गा देखिएको भएपनि कारवाही नभएको बताए ।
‘हदबन्दी भन्दा बढी भएको जग्गा सरकारले कब्जा गर्न सक्छ ?’ उनले प्रश्न गरे । उनले सुशासन, पारदर्शीताको कुरा गर्ने सरकारका मन्त्रीसँग हदबन्दी भन्दा जग्गा र सुन हुने कुरा आफैमा आश्चर्यजनक रहेको बताए ।
‘गिट्टी कुट्ने बुवा आमाको भिडियो आउँछ , मन्त्रीको सुन देखिन्छ’ उनले भने –‘रास्वपाका सांसद हुने वितिकै सुन फल्छ ।’
नेकपाले जागरण अभियान अन्तर्गत सदस्यता विस्तार र संगठन विस्तार, आगामि स्थानीय तहको निर्वाचनको तयारी तथा सरकारका गलत कदमका विरुद्ध जनतालाई बुझाउने कार्यक्रम रहेको नेकपा रुपन्देही इन्चार्ज निर्मल जिसिले बताए । यस्तै जागरण अभियान उद्घाटन समारोहमा नेकपा रुपन्देही संयोजक बाबुलाल यादव, पूर्व प्रदेश सांसद दीपा विश्वकर्मा, नेता पुष्पराज ढकाल (क्षितिज) लगायतले बोलेका थिए ।
















प्रतिक्रिया