७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिबारे अध्ययन शुरु



मेलम्ची । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनालाई हालै बाढीले क्षति पुर्याएपछि तत्काल मर्मतको सम्भावना नरहे पनि क्षतिको अध्ययन गरेर सुधारको योजना थालिएको छ ।

असारको पहिलो साता कति क्षति भयो भन्ने अनुमान गर्न अहिले नै कठीन भए पनि प्राविधिक आयोजनामा पुगेर र ड्रोन क्यामरामार्फत अध्ययन गरी क्षतिको अनुमान गर्न थालिएको हो ।

अध्ययनका क्रममा धेरै संरचना नदीजन्य पदार्थले पुरिएको भए पनि कतिपय पदार्थ पुनः नदीले बगाएकाले क्षति बाहिर देखिन थालेको छ । प्राविधिक टोलीले घटनास्थल पुगेर र मेलम्ची खानेपानी विकास समितिले ड्रोनमार्फत गरेको सर्वेक्षणमा केही संरचनामा क्षति पुगेको देखिएको छ । बाढीले ल्याएको ठूलो ढुङ्गा मुख्य बाँधको इनटेकको भागमा ठोकिएको र त्यसले क्षति पुर्याएको पाइएको छ । मेलम्ची खानेपानी विकास समितिका इञ्जिनीयरसहितको टोली यहाँ पुग्दा ठूलो ढुङ्गाले संरचनामा क्षति पुर्याएको देखिएको बताएका छन् ।

‘हेडवर्क’ को संरचना निरीक्षण गर्दा बाढी आउनासाथ मेलम्ची नदीले १० देखि २० मिटर नदीजन्य पदार्थ थुपारेर संरचना पुरेको पाइएको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार अहिले नदीले नै लेदो बगाएकाले त्यहाँका संरचना केही देखिएको छ । उनले भने, “निर्माणस्थलमा नदीले थुपारेको सबै नदीजन्य लेदोहरु उपकरण लगेर हटाएपछि सबै क्षति यकीन हुन्छ र हामीले थप काम गर्न सजिलो हुनेछ ।”

मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको झण्डै एक महिनापछि इञ्जिनीयर शेखर खनाल र निरज गुप्ता, परामर्शदाता कम्पनी र निर्माण कम्पनीका प्रतिनिधिसँग निर्माणस्थल पुगेका थिए । केही सातादेखि ‘हेडवर्क’ पुग्न प्रयास गरिएकामा यस पटक सम्भव भएको हो ।

अहिलेसम्म हेर्दा सो आयाजनामा झण्डै रु एक अर्ब ८० करोडको क्षति भएको छ । अब त्यहाँ कति समयपछि काम गर्न सकिन्छ र कसलाई काम गराउने भन्ने निर्णय गर्न बाँकी रहेको प्रवक्ता पन्तले बताए। यो काम कसरी गर्न सकिन्छ भन्ने छलफल भइरहेकोे छ । उनले भने, “तर सडक र पुल बनाउने काम पहिले हुनुपर्ने भएकाले कहिलेसम्म गर्न सकिन्छ भन्न सकिने अवस्था छैन ।”

पहिले निर्माणस्थलमा पुग्न सडक नै बन्नुपर्छ भने त्यसपछि मात्रै पुरिएका संरचना सफा गर्न सकिने समितिले जनाएको छ । अहिले धेरै नदीजन्य पदार्थ थुपारिएकोमा त्यो सफा गर्ने काम कति समयमा सकिन्छ भनी छलफल भइरहेको छ । उनले भने, “अहिले त्यसको लेखाजोखा भइरहेकाले अन्तिम प्रतिवेदन एकदुई दिनमा आउनेछ ।”

आयोजनामा दुई पटक ड्रोनबाट सर्वेक्षण भइसकेको छ । पहिलो पटक बाढी आएको भोलीपल्ट असार २ गते समितिले र पछिल्लो पटक परामर्शदाता कम्पनीले सर्वेक्षण गरेको हो । सामान्यतया अरु आयोजनामा त्यसको पूर्व सर्वेक्षणमा ड्रोन क्यामराको प्रयोग हुँदै आएको छ । आयोजनामा तत्काल मान्छे जाने अवस्था नभएकाले र आयोजनाको क्षतिको विवरण जानकारी पाउन प्रविधिको प्रयोग गरिएको थियो ।

सो स्थानमा लामो समयसम्म नदीले धार कहिले दायाँ र कहिले बायाँ गरेर जोखिम भएकाले प्राविधि पठाएर परीक्षण गरिएको थियो । पहिले समितिले ड्रोनलाई हेलिकप्टरबाट राखेर अपरेटरसहित निरीक्षण गरेको थियो । पछिल्लो पटक परामर्शदाताबाट अर्को चरणमा निरीक्षण भएको छ । उनले भने, “अहिले क्षतिको यकिन गरेर त्यसअनुसार योजना बनाउन खोजिएको हो ।”

निर्माणस्थलमा रहेका संरचना सफा गर्न धेरै उपकरण लैजानुपर्ने अनुमान गरिएको छ । त्यसका लागि पहिले प्रवेशमार्गको निर्माण अघि बढ्नुपर्ने प्रवक्ता पन्तले बताए । सडक र पुल बनाउनका लागि सडक विभागसँग समन्वय भइरहेको छ ।

आयोजनामा पुगेको क्षति र सडक, पुलमा पुगेको क्षतिको स्थलगत अवलोकनका लागि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगै खानेपानी मन्त्रालय सम्हाल्दै आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ सो स्थानमा पुगेका थिए । उनीहरुसँगै मन्त्रालय, विभाग, समितिका प्रतिनिधि पुगेर स्थलगत अध्ययन गरेका थिए ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ४ : २२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल