११ मंसिर २०८३, शुक्रबार | November 27, 2026

सार्वजनिक यातायात खुल्यो, खुलेन सडक



गलेश्वर । कोरोना भाइरसको दोस्रो लहरका कारण जारी निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा जिल्लाभित्र चल्ने सार्वजनिक यातायातका साधन सञ्चालन खुला गरिए पनि बाढीपहिराले सडक अवरुद्ध हुँदा सञ्चालन हुनसकेका छैनन् ।

पहिराले बेनी-जोमसोम सडकसहित म्याग्दीका भित्री सडक अवरुद्ध भएका छन् । असारको शुरुआतसँगै परेको अविरल वर्षाका कारण झरेको पहिराले बेनी-जोमसोम, बेनी-दरबाङ र जिल्लाका भित्री सडक अवरुद्ध भएका हुन् । साउन १ गतेदेखि नै जिल्लाभित्र चल्ने सार्वजनिक यातायात खुला गरिए पनि जिल्लाका कुनै पनि ग्रामीण सडकमा बस चल्न सक्ने अवस्था नरहेको यातायात व्यवसायीले बताएका छन् ।

म्याग्दी यातायात व्यवसायी समितिका अध्यक्ष सुमन श्रेष्ठले आन्तरिक सार्वजनिक यातायातका साधन खुला गरिए पनि बाढी र पहिराका कारण अवरुद्ध बनेका सडक सञ्चालन गर्न नसक्दा यातायातका साधन सञ्चालन हुन नसकेका बताए । “सार्वजनिक यातायात त खुला भयो तर, सडक खुला गर्न सकिएन, दिउँसो बनायो, राति पानी परेपछि पहिरो गएर सडक अवरुद्ध हुन्छ”, श्रेष्ठले भने, “जिल्लाका प्रायः सबै ग्रामीण सडक पहिराले अवरुद्ध छन्, सार्वजनिक यातायातका साधन सञ्चालन गर्न सकिएको छैन ।”

बेनी-जोमसोम र बेनी-दरबाङ सडक अवरुद्ध हुँदा ठूलो समस्या उत्पन्न भएको छ । हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने बेनी-जोमसोम सडकमा माथिबाट पहिरो र तलबाट नदी कटानले गर्दा विभिन्न नौ ठाउँमा अवरुद्ध हुने गरेको छ भने पश्चिम म्याग्दी र बागलुङका १४ वटा गाउँलाई जोड्ने बेनी-दरबाङ सडकको समस्या पनि बेनी-जोमसोम सडकको जस्तै रहेको यातायात व्यवसायीले बताएका छन् । यहाँ सडक माथिबाट ढुङ्गासहितको पहिरो आउने र म्याग्दी नदीको कटानका कारण सडक भासिने गरेको छ ।

बेनी-बरङ्जा, बेनी-पुलाचौर र बेनी-झीँ यी तीन सडकबाहेक जिल्लाका अन्य १७ वटा ग्रामीण सडक अवरुद्ध छन् । छ किलोमिटर दूरीको बेनी-पुलाचौर, आठ किमी दूरीको बेनी-बरङ्जा र सात किमी दूरीको बेनी-झीँ सडकमा पनि साना यातायातका साधन मात्र सञ्चालन भएका छन् । म्याग्दी यातायात व्यवसायी समितिका अध्यक्ष श्रेष्ठका अनुसार यी तीनवटा सडकमा पनि जीपबाहेक ठूला सवारी सञ्चालन हुनसकेका छैनन् । पहिराका कारण सडक साँघुरिएकाले ठूला सवारी सञ्चालन हुन नसकेका उनको भनाइ छ ।

यहाँका सडक अवरुद्ध भएपछि टाढा-टाढा पुग्ने यात्रु बीच बाटोमा अलपत्र परेका छन् । पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । वर्षा निरन्तर भइरहेका कारण राजमार्गका सडक सञ्चालन हुन केही समय लाग्ने बताइएको छ । रासस

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ९ : २५ बजे

Your email address will not be published.

दसौँ राष्ट्रिय खेलकुद : पौडी प्रतियोगितामा बागमती टिम च्याम्पियन

नेपालगन्ज । दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत नेपालगन्जमा भएको २३औँ पौडी प्रतियोगितामा

रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय

दसौँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा आर्मी क्लब विजयी

सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल

विद्युत् महसुलमा लाग्ने भ्याटलाई सहज बनाउने तयारी

पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलमा

ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा संस्था