१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

मेलम्ची आयोजना बन्यो बगर, तत्काल पानी ल्याउन असम्भव



काठमाडौं । दुई पटकको बाढीले क्षतविक्षत बनाएको मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकावासीको तिर्खा मेटाउने विषय थप अन्योल बनेको छ ।

असार १ र साउन १७ गतेको बाढीले आयोजनाका भौतिक संरचनामा क्षति पुर्याएपछि आयोजना नै अनिश्चित भएको छ । लेदोसहितको बाढीले हेडवक्स निर्माणस्थल पुरिएर बगर भएको छ ।

निर्माणस्थलमा पुग्ने सडक, हेडवक्स, पुल र सुरुङको पुनः निर्माण नभई पानी पठाउन सकिने अवस्था छैन । मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले भने, “पुरिएका सबै संरचना सफा गर्नु पर्यो । वैकल्पिक माध्यमबाट पानी पठाउन सकिने अवस्था हो तर त्यो पनि निर्माण गर्नुपर्छ । पहिला सडक बन्नुपर्छ, अब कसरी अगाडि बढ्ने भन्ने कुराको निश्चित भइसकेको छैन ।”

असार १ गतेको भन्दा साउन १७ गतेको बाढी ठूलो रहेको हेलम्बु गाउँपालिकाले जनाएको छ । खोलाले लेदोसहितको माटो बालुवा ल्याएर बगर क्षेत्र विस्तार गरिरहेको छ । खोलाको उचाइ पनि बढाइरहेको छ । जसले गर्दा मेलम्ची आयोजनाका हेडवक्सदेखिका सबै संरचना पुरिएका छन् । नदीले धार परिवर्तन गरेको छ ।

हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सेनाले भने, “हिमालको तल्लो भेगमा पहिरो गइरहेका छन् । भेनाथाङमा ठूलो पहिरो गइरहेको छ । अझै ७५ प्रतिशत त्यो पहिरो झर्न बाँकी रहेको भनिएको छ । त्यसले नदी थुनिने, अझै बाढी आउने सम्भावना छ । जुनसुकै बेला पनि बाढी आउन सक्ने अवस्था छ । मेलम्ची आयोजना सबै पुरिएर बगर भएको छ । ”

बाढीले आयोजनाका भौतिक संरचना पुरिएका छन् । पुलहरू बगाएका छन् । निर्माणस्थलमा बालुवा, ढुङ्गा् गिट्टी थुप्रिएर बगर भएको छ । बाढी आउने र पहिरो जाने क्रम नरोकिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । तत्काल निर्माणस्थल पुगेर काम सुरु गर्न सक्ने अवस्था छैन । बाटो अवरुद्ध भएका कारण कुनै पनि औजार लिएर जान सक्ने अवस्था नरहेको पन्तको भनाइ छ ।

उनका अनुसार आयोजना निर्माणस्थलमा पुग्ने पहुँचमार्ग र पुल बाढीले बगाएकाले ट्र्याक खोल्नुपर्ने अवस्था छ । तर वर्षातमै ट्र्याक खुला गर्न सकिने अवस्था छैन । मेलम्ची बजारदेखि १६ किलोमिटर अगाडि टिम्बुअगरी खण्डमा मोटरबाटो बगाएको छ । सो स्थानमा नयाँ ट्र्याक खोल्नुपर्छ । समितिका अनुसार करिब आठ स्थानमा नयाँ ट्र्याक खुलाउनुपर्नेछ ।

हेडवक्स करिब १५ मिटर पुरिएको समितिले जनाएको छ । हेडवक्समा करिब पाँच लाख घनमिटर गिट्टी, बालुवा र ढुङ्गा थुप्रिएको छ । त्यसलाई हटाउन करिब ४० करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । अस्थायी ड्याम र पुलहरू सबै बाढीले बगाएको छ ।

हाल सुरुङभित्र पानी भरिएको छ । अम्बाथानको सहायक सुरुङ टालिएर अवरुद्ध छ । आयोजनामा करिब तीन अर्ब बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ तर विस्तृत अध्ययन हुन बाँकी नै छ ।

बाढीले आयोजनाको सुरुङमा भने क्षति पुर्याएको छैन । आयोजनाका अनुसार माथिल्लो तटीय क्षेत्रको भौगर्भिक अवस्थाबारे अध्ययन नगरी मेलम्ची आयोजना के हुन्छ भन्न सक्ने अवस्था छैन । जुनसुकै बेला लेदोसहितको बाढी आउन सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रको अध्ययन गरी दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता रहेको खानेपानी मन्त्रालयले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ६ : ४३ बजे

कोप-३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउँछौँः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना

काठमाडौं गोर्खाजलाई आठ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

काठमाडौं । मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङप्रेरित

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीका साथै केन्द्रीय

सेयर बजारमा हरियाली, नेप्से र कारोबार दुवै बढ्यो

काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार शेयर बजारमा हरियाली

हुलाकी राजमार्गले धमाधम तान्दै निजी क्षेत्रको लगानी

नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको