२६ बैशाख २०८१, बुधबार | May 9, 2024

अफगानिस्तानबाट नेपालीको उद्धारको संयोजन गर्न समिति गठन



काठमाडौं । सरकारले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा रहेका नेपालीलाई उद्धारको संयोजन गर्न समिति गठन गरेको छ । सरकारले अफगानिस्तानमा समस्यामा परेका नेपालीलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकत्वमा समिति गठन गरेको हो ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले सो जानकारी दिएका हुन् । गृह मन्त्रालय, अर्थ मन्त्रालय, श्रम मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सीसीएमसीको सहसचिव तहको प्रतिनिधित्व हुनेगरी समिति बनाइएको उनले बताए ।

‘कदाचित कसैलाई हामी आफैंले ‘इभाक्वेट’ गरेर लिएर आउनुपर्यो भनेदेखि त्यसको संयोजन गर्ने, त्यसको व्यवस्थापन गर्ने गरेर सबै सरोकारवाला निकायलाई राखेर यो संयन्त्र बनेको हो,’ उनले भने । उनका अनुसार अफगानिस्तानमा औपचारिक क्षेत्रमा करिब १५ सय नेपाली रहेका छन् ।

उद्धारसँग सम्बन्धित सम्पर्कका लागि भाइबर र वाट्सएप सुविधासहितको मोबाइल नम्बर ९७७–९७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र ९७७–९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय) को व्यवस्था गरिएको छ । आफ्नो अवस्थाबारे जानकारी गराउन वा मन्त्रालयमा सो नम्बरमार्फत सम्पर्क गर्न सकिने जनाइएको छ ।

काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत नेपालीलाई तत्काल उद्धारका गर्न संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्र संघको कार्यालयलाई पत्राचार गरिसकेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाबारे नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एडभाइजरी पनि जारी भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आवश्यक सहयोगका लागि दूतावासका फोन नम्बर र इमेलमार्फत पनि सम्पर्क गर्न सकिने जनाइएको छ ।

यसअघि प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षित रूपमा तत्काल उद्धार गर्न कूटनीतिकलगायतका सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले तालिबान विद्रोहीहरू राजधानी काबुल नियन्त्रणमा लिने प्रयासमा रहेकाले भिडन्तका क्रममा नेपाली नागरिक अप्ठ्यारो स्थितिमा पर्न सक्ने भन्दै छिटोभन्दा छिटो हवाई उद्धार गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकमा परराष्ट्र मन्त्रालका सचिव पौड्यालले अफगानिस्तानमा भइरहेको घटनालाई केही समयदेखि नियालिरहेको जानकारी गराउँदै त्यहाँ रहेका नेपालीलाई सकुशल स्वदेश ल्याउन मन्त्रालयले गम्भीर रूपमा प्रयास गरिरहेको बताए ।

उनले भने, ‘अफगानिस्तानको स्थिति जटिल हुँदै गएको छ, त्यहाँ रहेका नेपालीको सुरक्षा चिन्ताप्रति सरकार चिन्तित छ, सुरक्षित रूपमा उद्धारका लागि मन्त्रालयले चासो र चिन्तकासाथ काम गरिरहेको छ, विभिन्न प्रयास भइरहेको छ ।’

अफगानिस्तानमा विदेशी सहायता परियोजना तथा विदेशी नियोगमा आकर्षक तलब सुविधाका कारण दक्ष कामदार जाने हुनाले त्यहाँ रहेका नेपालीको संख्या बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको पनि सचिव पौड्यालले स्पष्ट पारे ।

बैठकमा सभापति पवित्रा खरेल निरौलाले रोजगारीका लागि अफगानिस्तान पुगेका नेपाली नागरिक त्यहाँ भएको द्वन्द्वबाट असहज स्थितिमा रहनुपरेकाले तत्कालै योजना बनाएर स्वदेश ल्याउने कार्यमा विलम्ब गर्न नहुने सुझाव दिएकी थिइन् ।

यसअघि बैठकमा सांसदले रोजगारीका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई नेपाल वायुसेवा निगमको जहाज तत्कालै चार्टर गरेर ल्याउन सुझाव दिएका थिए ।

उनीहरूले कुनै पनि नेपाली नागरिकलाई स्वदेश आउन नपाएर त्यहीँ अप्ठ्यारोमा पर्न नदिन तथा विभिन्न सामाजिक सञ्जालमार्फत सम्पर्क स्थापित गर्ने सूचना जारी गर्न मन्त्रालयका पदाधिकारीको ध्यानाकर्षण गराएका थिए । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ७ : ३९ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s