८ बैशाख २०८१, शनिबार | April 20, 2024

किन हुन्छ सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि बारम्बार आक्रमण ?



काठमाडौं । कञ्चनपुरमा सोमबार साँझ भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी नगरपालिका-८ को कञ्जभोज नजिकै नेपाल-भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्कर समूहले आक्रमण गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ ।

गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्र ऐरका अनुसार नेपालतर्फ विभिन्न सामान तस्करी भइरहेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीसँग भेट भएपछि उनीहरूले एक्कासि ढुंगामुढा गरेका थिए ।

एसपी ऐरका अनुसार तस्कर समूहले आक्रमण गरेपछि सशस्त्र प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । तर ३०/४० मिटरनजिकै भारतीय भूमि भएकाले उनीहरूलाई नियन्त्रणमा लिने प्रयास सफल भएन । त्यसपछि सशस्त्र प्रहरीले सोको जानकारी एसएसबी र भारतीय प्रहरीलाई दिएको थियो । त्यसपछि भारतीय सुरक्षाकर्मीले सो घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको जानकारी नेपाल पक्षलाई दिएको छ ।

भारतीय तस्कर समूहले डिउटीमा रहेका सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको यो नै पहिलोपटक होइन । ३१ जेठ २०७७ मा पनि भारतीय टोली र सशस्त्र प्रहरीबीच सर्लाहीको नारायणपुर नाकामा झडप भयो । त्यसदिन अवैध रूपमा नेपाल पस्न खोजेका थोरै संख्याका भारतीयलाई रोक्न खोज्दा केही क्षणमै भेला भएका सयौं भारतीय व्यापारी सशस्त्र प्रहरीमाथि जाइलागेका थिए । प्रतिकारस्वरूप सशस्त्र प्रहरीले गोली चलाउँदा एक भारतीयको मृत्यु भयो भने तीन सशस्त्र प्रहरी र दुई भारतीय घाइते भए ।

यसअघि सोही वर्षको १८ जेठमा पनि जिल्लाको विष्णु गाउँपालिका-२ पकडीस्थित फेनहरा नाकामा खटिएका सशस्त्र प्रहरीमाथि ठूलो संख्यामा आएका भारतीय व्यापारीहरूले आक्रमणको प्रयास गरेका थिए । त्यतिखेर पनि उनीहरूले सशस्त्रको हतियार खोस्ने प्रयास गरेका थिए । तर, सशस्त्रले हवाइफायर गरेर भिड तितरबितर बनाएको थियो ।

४ साउन २०७७ मा पनि नेपाल-भारत सीमा क्षेत्रको अर्को नाका झापाको गौरीगन्ज गाउँपालिका-५ मा भारतीय तस्कर समूह सशस्त्र प्रहरी टोलीमाथि खनियो । त्यस दिन नेपाल-भारत सीमा क्षेत्रको १५२ नम्बर पिल्लर पूर्व मल्हाटोलीनजिकै भारतीय तस्कर समूह सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि खनिएको थियो । झडपका क्रममा सशस्त्रका दुई जना जवान घाइते भएका थिए । हवाई फायरपछि तस्कर समूह फरार भएको त्यसबेला सशस्त्र प्रहरीले जनाएको थियो ।

यस्तै, कोरोनाका कारण सीमानाका बन्द रहेको अवस्थामा एक वर्षअघि दुई भारतीय महिलालाई रौतहट प्रवेशमा रोक लगाउँदा भारतीयद्वारा सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको थियो । त्यसक्रममा एक सशस्त्र प्रहरी हबल्दार घाइते भएका थिए । त्यसपछि स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गर्नुको साथै एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको थियो ।

त्यस्तै, सीमावर्ती भारत बहराइच जिल्लाको भादापुरुवाबाट आएका तीन/चार जना भारतीयले एक वर्षअघि सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए । जबर्जस्ती बर्दिया पस्न खोजेपछि उनीहरूलाई रोक्न खोज्दा सशस्त्रमाथि आक्रमण गरिएको थियो । हतियारबिना तैनाथ सशस्त्र प्रहरीले खर्बुजा लिन नेपाल छिरेका भारतीयलाई नसोधेर किन नेपाल पसेको भन्दै सोधपुछ गर्दा विवाद भएको थियो ।

गुलरिया नगरपालिका-८ को ५७ नम्बर पिलरनजिक भारतीय नागरिकले त्यहाँ तैनाथ दुई जना सशस्त्र प्रहरीलाई दुव्र्यवहार गर्न थालेपछि स्थिति तनाव भएको थियो । सीमानजिक रहेको भारतीय गाउँ भादापुरुवाबाट पनि करिब २० जनाले लाठी लिएर नेपाली सीमाभित्र प्रवेश गरेर सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए । त्यसबेला खेतमा काम गरिरहेका स्थानीयले प्रतिवाद गरी भारतीयलाई त्यहाँबाट लखेटेर भारत पठाएका थिए ।

नेपाल-भारत सीमा क्षेत्रमा बेलाबखत गस्तीमा खटिएका सुरक्षाकर्मीमाथि तस्कर समूहबाट आक्रमण हुँदै आएको छ । सीमाबाट हुने तस्करी रोक्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीलाई करिब १ हजार ८ सय ८० किलोमिटर क्षेत्रमा फैलिएको नेपाल-भारत सीमामा काम गर्नु चुनौतीपूर्ण छ ।

नेपालमा सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीले पाएको छ । सीमा सुरक्षा र सीमामा हुने अवैध गतिविधि नियन्त्रण गर्नु सशस्त्रको दायित्व हो । आफ्नो जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा कानुन पालना गर्नु सशस्त्रको दायित्व हो । त्यसैले सीमा क्षेत्रका तस्करहरूका लागि सशस्त्र प्रहरी टाउको दुखाइको विषय बनेको छ । वर्षौँदेखि सामान तस्करी गर्दै आएका भारतीय तस्करलाई सीमामा सशस्त्र प्रहरीको उपस्थिति चित्त बुझेको छैन ।

तस्करी गर्न नपाएकै कारण उनीहरूले बारम्बार सशस्त्र प्रहरीलाई तारो बनाएको सशस्त्र प्रहरी अधिकारीको भनाइ छ । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार, आपराधिक प्रवृत्तिका व्यक्ति खुला सिमानाको मौका छोप्दै अवैध काम गर्न खोज्छ । सुरक्षाफौजले त्यस्तो काम गर्न दिँदैन । यसले उनीहरूमा ‘बदला’ लिनुपर्छ भन्ने जाग्छ र कम टोली भएको मौका पारेर जाइलाग्छ ।

‘आफ्नो सीमा क्षेत्रमा आपराधिक गतिविधि हुन नदिनु सशस्त्र प्रहरीको दायित्व हो । यही दायित्व निर्वाह गर्ने क्रममा डिउटीमा खटिएका सशस्त्र प्रहरीमाथि आपराधिक मनोवृत्ति बोकेका समूहबाट समयसमयमा आक्रमण हुँदै आएको छ, सशस्त्र प्रहरीले त्यसको कडा ढंगले प्रतिकार गर्दै आएको छ । अर्को कुरा, त्यस्ता व्यक्तिको मनोविज्ञान नै सुरक्षाफौजमाथि आक्रमण ग¥यो भने उनीहरूको मनोबल कम हुन्छ भन्ने हुन्छ तर सुरक्षाफौजको मनोबल घट्ने होइन, झन् बढ्छ,’ सशस्त्र प्रहरी प्रवक्ता अर्यालले भने ।

अहिले भारत तथा चीन दुवैतर्फका सीमावर्ती ४० जिल्लामा सशस्त्र प्रहरीका २ सय २७ बीओपी छन् । तिब्बतसँगको सीमामा रहेका थप सातवटा र बाँकी नेपाल-भारत सीमामा रहेका बीओपीमा गरी कुल २० हजार जनशक्ति सरकारको पछिल्लो निर्णयपछि सीमा सुरक्षामा मात्र खटाइएको छ । आजको राजधानी दैनिकमा रोशन श्रेष्ठले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ७ : ०८ बजे

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र