दुर्गमका दु:ख : घाम लाग्दा काम, नलाग्दा बेकाम

खबर कुरा
१८ आश्विन २०७८, सोमबार
                 

मनाङ । नार गाउँकी रिन्जेन डोल्मा लामा शुक्रबार योजना सम्झौताका लागि पालिका कार्यालय च्याँखु पुगिन् । नार्पाभूमि गाउँपालिका केन्द्रबाट नार पुग्न कम्तीमा पाँच घण्टा हिँड्नुपर्छ । झिसमिसेमै घरबाट निस्किएकी उनी ९ बजेतिर कार्यालय पुगेकी थिइन् ।

उनी पुग्दा पालिका कार्यालय क्षेत्रमा पानी परिरहेको थियो । घाम नलागेका कारण उनको काम हुन पाएन । बाढी-पहिरोले यसपालि च्याँखुमा बाल्ने लघु जलविद्युत् आयोजना पूरै बगायो । विद्युत् नभएपछि सोलारमा निर्भर छ, नार्पाभूमि । ‘घर छिटो फर्किउँला भनेर बिहानै आुको । झन् कामै भएन’, उनले भनिन्, ‘पहिले पनि यस्तै भएको हो । सिमसिम पानी पर्‍यो भने कार्यालय नै खुल्दैन ।’

शुक्रबार योजना सम्झौता गर्नेको भीड थियो कार्यालयमा । घाम नलागेका कारण कसैको काम हुन सकेन । ‘पालिका पुग्न पूरै दिन छुट्याउनुपर्छ । बल्लबल्ल पुग्यो, सोलार नचलेर काम रोकिन्छ’, उनले भनिन्, ‘छिटो काम नभए भोलिपल्ट पनि लाग्छ । यसरी दुस्ख मात्र भयो । कि सोलारको पावर थप्नुपर्‍यो, नत्र बिजुली ल्याउनुपर्‍यो ।’

यस वर्ष हिमाली क्षेत्रमा वर्षाले धेरै क्षति पुर्‍याएको छ । बाटाघाटा बगाएको छ, लघु जलविद्युत्‌को नामोनिशान छैन । ‘बिजुली ल्याउन धेरै प्रयास गरेको हो । बाढीले बाटो बगाएपछि मर्मतको सामान ल्याउन पाएको छैन’, पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र पण्डित भन्छन्, ‘घाम भए काम छ, घाम नभए काम छैन । दिनभर घाम कुरेरै बित्छ । चाहेर पनि काम गर्न सक्दैनौँ ।’

गाविस हुँदा नार र फु गाउँका नागरिक सरकारी सेवा लिन भीमकाय भीर छिचोलेर सदरमुकाम चामेसम्म पुग्थे । चामे पुग्न उनीहरूलाई डेढ दिनको बाटो हिँड्नुपर्छ । त्यो पनि कठिन उकालो । स्थानीय तह बनेपछि कोतो र चामेबाट हुँदै आएको काम च्याँखु पुगेको छ । च्याँखुमा पालिका कार्यालय बनाइएको छ । बैंक पुगेको छ, प्रहरी पनि पुगेका छन् । हुनत च्याँखुबाट पनि दुईवटै गाउँ पुग्न आधा दिन लाग्छ ।

आर्थिक र प्रशासनिक सबै काम पालिका केन्द्रबाटै हुने भएपछि गाउँलेको दुस्ख घटेको छ । तर, घामले काम रोकिदिँदा भने कहिलेकाहीँ रिसाउँछन् । कार्यालय भर्खर बनाएकाले पर्याप्त व्यवस्थापन नभएको गाउँपालिका अध्यक्ष मिङ्मा छिरिङ लामाले बताए । ‘बर्खामा सोलार चल्दैन, हिउँदमा बिजुली बल्दैन । बर्खा लागेपछि विद्युत् नै चाहिन्छ । हिउँदमा चाहिँ पानी जम्छ, बिजुली बल्दैन’, उनले भने, ‘दुर्गमको दुस् ख यस्तै हो । बिजुलीले काम गरेन भने कार्यालय भएर पनि के अर्थ भो र ?’

धेरै पटक केन्द्रीय प्रसारण लाइन जोड्न माथिल्ला सरकारसँग आग्रह गरे पनि सुनुवाइ नभएको उनको भनाइ छ । ‘कहिले काठमाडौं धाएँ, कहिले पोखरा । सबैलाई निवेदन बुझाएको छु’, उनले थपे, ‘हुन्छ, गर्दिन्छु भन्छन् तर गर्दिँदैनन् ।’

जनसंख्याको हिसाबले यो पालिका नेपालकै सबैभन्दा सानो हो । साविक नार र फु गाविस मिलेर पालिका बनेको हो । यहाँको जनसंख्या ५६१ मात्र छ । भौगोलिक विकटताका कारण नार्पाभूमिलाई छुट्टै पालिका बनाइएको हो ।

नार्पाभूमिमा विद्युत् मात्र होइन, सडक र संचार सुविधासमेत पुगेको छैन । सडक संजालले नछोएको पालिका हो, नार्पाभूमि । ‘खल्तीमा मोबाइल छ, कहिल्यै घण्टी बज्दैन । फोन गर्नुपर्दा डाँडा खोज्दै हिँड्नुपर्छ’, सोही पालिकाका कर्मचारी विष्णुप्रसाद पोखरेल भन्छन्, ‘कोतोबाट उकालो लागेपछि कतै फोन टिप्दैन ।’

नेपाल सरकारको योजनाअनुसार पालिका केन्द्रमा इन्टरनेट पुगेको छ । त्यसले पनि घाम नलाग्दासम्म काम गर्दैन । हिउँद लागेपछि यहाँका नागरिक हिउँ छल्न बेँसी झर्छन् । १५ कात्तिकदेखि चैतको मध्यसम्म गाउँभन्दा अलिक तल क्याङ र मेतामा हुन्छन् । कोही भने व्यापार गर्न जिम्मु बोकेर शहर पस्छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*