२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

बाँदरले गरायो उठिबास !



बैतडी । बाँदरले खेतीपाती नास गरेर गाउँमा आतंक मच्चाउन थालेपछि बैतडीको दशरथचन्द नगरपालिका-५, ६, ८ र १० का १ हजारभन्दा बढी परिवार गाउँबाट विस्थापित भएका छन् ।

भारतबाट नेपाली सिमानाका झुलाघाटमा छोडिएका बाँदरले खेतीपाती मात्र होइन, भान्साकोठामा पकाएको खाना समेत खोसेर खान थालेपछि दशरथचन्द नगरपालिका-८ धौल्याली गाउँका टेकराम टमाटा, चन्द्री टमाटा र शिवराम टमाटा लगायत दर्जनौं परिवार भारत पलायन भएका हुन् ।

बाँदर आतंकका कारण दशरथचन्द नगरपालिका-५ पल्लाचौडाली, वडा नम्बर ८ धौल्याली, साङडी, पुजरगाउँ र वडा नम्बर १० भटाला, झाका, बुड्डा, खडेनी, तिर लगायतका गाउँबाट करीब १ हजार ५०० भन्दा बढी परिवारले गाउँ छाडेर हिँडेका छन् । यही कारण दशरथचन्द नगरपालिकाका ५ वटा विद्यालय विद्यार्थी संख्या नपुग्दा बन्द भएको दशरथचन्द नगरपालिका शिक्षा शाखा प्रमुख मोसन नाथले बताए ।

बाँदर आतंकका कारण गाउँलेहरू परिवारसहित विस्थापित भएपछि दशरथचन्द नगरपालिका–८ मा रहेका रणशैनी आधारभूत विद्यालयमा ६ जना विद्यार्थी र ८ जना शिक्षक छन् । विद्यार्थी संख्या कम भएपछि विद्यालय जगदम्बा मावि रानी मुङ्गामामा समाहित भएको नाथले बताए ।

उनले भने, ‘विद्यार्थी संख्या नुहँदा शिक्षकले मात्र तलब खाएर बस्नुपर्ने भएपछि उक्त विद्यालय समायोजन गरिएको छ ।’ शिक्षा शाखा प्रमुख नाथका अनुसार दशरथचन्द नगरपालिका-१० को शान्तिप्रकाश आधारभूत विद्यालय, रणशैनी आधारभूत विद्यालय र ज्ञानेश्वर आधारभूत विद्यालय अन्य विद्यालयमा गाभिएका छन् । वडा नम्बर ६ को जगन्नाथ आधारभूत विद्यालय, दनपा-८ को रणसैनी आधारभूत विद्यालय र त्रिपुरासुन्दरी आधारभूत विद्यालय समायोजन भएका छन् ।

गाउँको विद्यालय बन्द भएर अन्तै समायोजन भएपछि बसाइँसराइँ गर्न नसक्ने परिवारका नेपाली विद्यार्थी सीमापारि भारतको पिथौरागढ जिल्लाको झुलाघाटस्थित राजकीय विद्यालय जाने गरेका छन् । गाउँका विद्यालय बन्द हुँदा भारतीय विद्यालयमा गएर पढ्नुपर्ने बाध्यता रहेको स्थानीय विद्यार्थी दिवान बिष्टले बताए । सीमापारि गएर अध्ययन गर्दै आएका बिष्टले भने, ‘गाउँमा भएका सबै विद्यालय बन्द भइसके । भारतीय सीमा नजिक बस्ने हामी जस्ता विद्यार्थीलाई भारततिरै गएर पढ्न सजिलो छ ।’

समाचार संकलन गर्न झुलाघाट पुग्दा भारतीय स्कूलबाट फर्किंदै गरेका नेपाली विद्यार्थी मोहित महरले नेपाली राष्ट्रिय गान थाहा नभएको बताए । विद्यार्थी संख्या नपुगेपछि ज्ञानेश्वर आधारभूत विद्यालय पनि दानेश्वर माविमा समायोजन भएको छ । गाउँमा रहेको विद्यालय अपायक पर्ने ठाउँमा मर्ज भएपछि स्थानीय साङ्डी गाउँका १५ जना विद्यार्थी सीमा पारि भारतीय स्कूल जाने गरेको स्थानीय रघुवीर थापाले बताए ।

भारतबाट हजारौंको संख्यामा हरिद्वारका बाँदर नेपाली सीमा नजिक झुलाघाटमा ल्याएर छाड्ने गरिएको छ । भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको मजिर काँडा ग्राम पञ्चायतको पूर्व सभापति सुरेन्द्र आर्यका अनुसार राज्य सरकारले रातिराति गाडीका गाडी बाँदरहरू ल्याएर झुलाघाटको जंगलमा छाड्ने गर्छ ।

‘यो खासमा नेपालको समस्या हैन,’ उनले भने, ‘यो चुनौती हाम्रो चुनौती हो ।’ राज्य सरकारले राति सुतेका बेला गाडीका गाडी ल्याउँछ । नेपालको बैतडी र भारतको पिथौरागढ जिल्लाको सीमा जोडिएको छ ।

बाँदरले दुःख दिन थालेपछि दशरथ चन्द नगरपालिका-१० बुड्डा गाउँका २० परिवारले गाउँ छाडेको स्थानीय स्वास्थ्य स्वयंसेविका मञ्जु चन्दले बताइन् । बाँदरकै कारण आफूले विगत २ वर्षदेखि खेतीपाती गर्न छाडेको चन्दले बताइन् ।

हरिद्वारका बाँदरले गाउँमा लगाएको खेतीपाती सखाप पार्न थालेपछि हुनेखानेहरू तराईतिर झरेको र गरीब विपन्न परिवार भारत गएपछि स्थानीय कैलपाल आधारभूत विद्यालयमा विद्यार्थी नहुँदा स्कूल बन्द हुने अवस्थामा पुगेको प्रधानाध्यापक लक्ष्मण थापाले बताए ।

बाँदरका कारण दरशथ चन्द नगरपालिका वडा नम्बर ४, ५, ६, ८ र १० को गाउँका किसानले खेतीपाती लगाउन छोडेर परिवार बसाइँ सर्न थालेपछि दशरथ चन्द नगरपालिकाले बाँदर धपाउन १० लाख रुपैयाँ बजेट खर्च गरेको उपप्रमुख मीना चन्दले बताए ।

उपप्रमुख चन्दले भने, ‘बाँदर धपाउन १० लाख बराबरमा मशिन ल्यायौं तर बाँदर भगाउन सकेका छैनौं ।’ आजको गोरखापत्र दैनिकमा गोकर्ण दयालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ७ : ०८ बजे

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३