६ बैशाख २०८१, बिहिबार | April 19, 2024

अण्डर २३ मैत्रीपूर्णमा नेपाल र इन्डोनेशिया भिड्दै



काठमाडौं । छोटो समयको तयारी र कठिन प्रतिद्वन्द्वीको सामना गर्दै नेपालले पुनः एक पटक ‘एएफसी यू-२३ एसियन कप २०२२ छनोट’ खेल्दै छ ।

त्यसअघि नेपालले आज (शुक्रबार) इण्डोनेसिया यू-२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । यसअघि नै ताजकिस्तानको दुसन्वे पुगेको नेपाली टोली र इण्डोनेसिया एएफसी छनोट खेलअघि तयारी स्वरूप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।

नेपाल र इण्डोनेसियाबीचको खेल स्थानीय समयअनुसार अपराह्न ४ बजे सुरु हुनेछ ।

नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जन प्रतियोगिताको पूर्वसन्ध्यामा इण्डोनेसियासँगको मैत्रीपूर्ण खेल टोलीको कमी कमजोरी पत्ता लगाउत हुने र उक्त खेल कमजोरी सुधारको मौकासमेत हुने बताउँछन् ।

‘इन्डोनेसियाविरुद्ध खेलेपछि आफ्नो टिम कस्तो छ ? कुन स्तरमा छ, थाहा हुन्छ’, नेपाली राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहेका महर्जन भन्छन् ।

यस खेलले नेपाली टोलीको सुरुवाती ११ समेत पहिचान गर्नेछ । ताजकिस्तान उड्नुअघिसम्म नेपाली टोलीले अन्तिम २३ खेलाडी सम्मिलित भएर आफ्नो अभ्यास सत्र बढाउन सकेन ।

माल्दिभ्सको मालेमा भएको साफ च्याम्पियनसिप उपविजेता टोलीमा यू-२३ टोलीबाट छ जना खेलाडी रहेका थिए । यी खेलाडी बिहान काठमाडौं अवतरण हुँदा भोलिपल्टै ताजकिस्तान उडे ।

यद्यपि, नेपाली टोलीले ताजकिस्तान पुगेर दुई दिन अभ्यास सत्र बढाइसकेको छ । प्रशिक्षक बालगोपाल इण्डोनेसियाविरुद्ध खेलबाट नेपालको सुरुवाती ११ (प्लेइङ सेट)समेत तय हुने बताउँछन् ।

‘अभ्यास सत्र कम भएकाले सुरुवाती ११ समेत तय गर्न पाएको थिएन । खेलाडीसमेत जम्मा भएका थिएनन् । यस खेलले टिमको सुरुवाती ११ तय गर्नसमेत सहज हुनेछ’, प्रशिक्षक महर्जनले भने ।

यद्यपि, नेपाली टोलीमा १० जना खेलाडीले राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । साफ उपविजेता टोलीबाट मनीष डाँगी, आयुष घलान, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ, सुमन अर्याल र नितिन थापा रहेका छन् ।

यस्तै, राष्ट्रिय टोलीबाट खेलिसकेका अभिषेक रिजाल, दर्शन गुरुङ, राजन गुरुङ, एरिक बिष्ट र विशाल श्रेष्ठ छन् । राष्ट्रिय टोलीमा विशालले डेब्यु पाएका छैनन् ।

यता, कप्तान तथा गोलरक्षक अर्पण कार्की, शिशिर लेखी, रन्दीप पौडेल, सेसेहाङ आङ्देम्बे, अनिल महर्जन, रोशन पहाडी, राजिव लोप्चन जस्ता खेलाडीले टोलीमा साथ दिनेछन् ।

एएफसी छनोटको समूह ‘बी’मा रहेको नेपालले बलिया इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ । नेपालले समूह ‘बी’मा एसियाको शीर्षस्थानमा रहेको इरानसँग ८ कात्तिकमा खेल्नेछ । इराक फिफा वरीयतामा २२ औँ स्थानमा छ । यता, दोस्रो प्रतिद्वन्द्वी हो आयोजक ताजकिस्तान । फिफा वरीयतामा ११८ औँ स्थानमा रहेको ताजकिस्तानसँग नेपालले ११ गते खेल्नेछ ।

यस्तै, तेस्रो प्रतिद्वन्द्वी लेवनान ९७ औँ स्थानमा छ । लेवनानसँग नेपालले १४ गते खेल्नेछ । नेपाल भने १६८ औँ स्थानमा छ । यता, समूह ‘जी’मा रहेको इण्डानेसियाले एसियाली पावर हाउस अस्ट्रेलिया, चीन र ब्रुनाईसँग प्रतिस्पर्धा गर्नेछ ।

ताजकिस्तान उड्नुअघि नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले पछिल्लो साफमा नेपालले ल्याएको नतिजाबाट एक प्रकारको ऊर्जा रहेको र नेपालले बलियो प्रस्तुति दिने बताएका छन् ।

‘राष्ट्रिय छ खेलाडी र अन्य गरी धेरै खेलाडी छन् । साफ उपविजेता भएर आएकाले खेलाडीमा ऊर्जा छ । सिनियर टोलीबाट खेलिरहेकाले धेरै गाह्रो छैन । कुनै पोजिसनमा अभ्यास अभावका कारण कठिनाइ छ’, उनले भने, ‘खेलाडी मानसिक रूपमा बलिया छन् । खेलाडीले आफ्नो क्षमताअनुसार खेले भने राम्रो नजिता आउँछ ।’

नेपाली २३ टोली

गोलरक्षक-अर्पण कार्की (कप्तान), विशाल सुनार, अभिषेक बराल
डिफेण्डर-सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, शिव गुरुङ, अनिल महर्जन, अभिषेक लिम्बू
मिडफिल्डर-नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, एरिक बिष्ट
स्ट्राइकर-ऋतिककुमार खड्का, मनीष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, राजिव लोप्चन

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ८ : २० बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी