१० श्रावण २०८३, आइतबार | July 26, 2026

एमसीसी जस्ताको त्यस्तै पारित हुन्छ : प्रधानमन्त्री देउवा



धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संघीय संसदबाट पारित हुने बताएका छन् ।

बाढीपहिरोबाट भएको क्षतिको निरीक्षणका लागि गृह प्रदेश सुदूरपश्चिममा रहेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा पत्रकारसँगको कुराकानीमा ‘एमसीसी जस्ताको त्यस्तै पारित हुने’ बताएका हुन् ।

‘एमसीसी नेपालकै कानुनको अधिनमा रहेर लागू हुने हो,’ प्रधानमन्त्री देउवाले भने,‘बाहिरी हल्ला फैलाएर त्यसको गलत प्रचार गरिएको छ, त्यस्ताे हाेइन, एमसीसी नेपालको हितमा छ, नि:शर्त पास गर्नुपर्दछ ।’

५० करोड अमेरिकी डलरको यो परियोजनाबाट नेपालमा विद्युतीय प्रशारण लाइन निर्माण गर्ने योजना रहे पनि संसदबाट पारित हुन सकेको छैन ।

यसैबीच प्रधानमन्त्री देउवाले बमौसमी बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । शुक्रबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा देउवाले बाढीपहिरोले ठूलो धनजनको क्षति भएको बताए । उनले सरकारले तत्कालीन र दीर्घकालीन राहत प्याकेज घोषणा गर्ने बताए ।

संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा र पर्यटनमन्त्री प्रेम आलेलाई लिएर बिहीबार सुदूरपश्चिम पुगेका देउवा आज शुक्रबार काठमाडौं फर्कने कार्यक्रम छ । पछिल्लो एक साताको बाढीपहिरोका कारण एक सय भन्दा बढीको ज्यान गएको गृह मन्त्रालयको तथ्यांक छ । किसानले भित्र्याउन लागेको धान पनि वर्षाले नष्ट गरिदिएको छ ।

सुदूरपश्चिम सरकार के हुन्छ ?

सुदूरपश्चिम प्रदेश सरकारको हेरफेर हुने चर्चा चलिरहँदा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले यसबारे छलफल नै नभएको बताएका छन् ।

शुक्रबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा देउवाले यसबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको र काठमाडौं गएर छलफल हुने बताए ।

बिहीबार मात्र बागमती सरकारमा नेकपा एकीकृत समाजवादी र कांग्रेसले आलोपालो मुख्यमन्त्री लिने सहमति भएको थियो । सुदूरपश्चिममा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । प्रदेश सभामा माओवादी दोस्रो दल हो ।

तर, पहिलो दल नेकपा एकीकृत समाजवादी र तेस्रो दल कांग्रेसका प्रदेश स्तरका नेताहरू सरकार हेरफेर हुनुपर्ने भन्दै नेतृत्वसँग लवइङि गरिरहेका छन् । एकीकृतबाट भौतिकमन्त्री रहेका दीर्घ सोडारी र कांग्रेस संसदीय दलका नेता रणबहादुर रावल मुख्यमन्त्रीका लागि दौडधुपमा रहे पनि प्रधानमन्त्री देउवाले यसबारे छलफल नै नभएको बताएका हुन् ।

सुदूरपश्चिममा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, कांग्रेसका १२ र एमालेका १० सांसद छन् । यसैगरी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका १/१ सांसद छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ९ : ३७ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले