७ श्रावण २०८३, बिहिबार | July 23, 2026

खपत बढाउन प्रोत्साहन हुने गरी नयाँ विद्युत् महसुल दर



काठमाडौं । विद्युत् नियमन आयोगले प्रचलित विद्युत् महसुल दरलाई औसतमा १ दशमलव शून्य ४ प्रतिशतले घटाएर नयाँ दर लागू गरेको छ । आयोगले निर्यातबाहेकका उपभोक्ताको हकमा उक्त अनुपातमा महसुल दर घटाएको हो ।

नेपाल विद्युत् प्राधिकरणले गत भदौ १५ गते नयाँ विद्युत् महसुल दरको मस्यौदा पेश गरेको थियो । आयोगले सरोकारवालाहरूको राय सुझावसहित सार्वजनिक सुनुवाइ नै गरेर प्रस्तावित महसुल दरलाई गत सोमवार अन्तिम रूप दिएको हो । नयाँ विद्युत् महसुल दर भने बुधवार औपचारिक रूपमा सार्वजनिक गरिएको छ, जुन मङ्सिर १ गतेबाट लागू हुने आयोगको भनाइ छ ।

आयोगले ५ एम्पियरबाट मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने विपन्न नागरिकलाई विद्युत् शुल्क नलाग्ने व्यवस्था गरेको छ । उनीहरूले मासिक न्यूनतम ३० रुपैयाँ भने तिर्नुपर्नेछ । यसबाट झन्डै २२ लाख ग्राहक लाभान्वित हुनेछन् ।

आयोगले गार्हस्थ्य महसुल दर औसतमा २ दशमलव ८४ प्रतिशतले घटाएको छ । त्यसमा सिंगल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका गार्हस्थ्य उपभोक्ताको मासिक न्यूनतम शुल्कको २५ रुपैयाँले घटाएर क्रमशः रू. १००, रू. १२५ र रू. १५० कायम गरिएको छ । सिंगल फेजबाटै मासिक ४०० युनिटभन्दा बढी विद्युत् खपत गर्ने ५ एम्पिएर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पिएरका गार्हस्थ्य उपभोक्ताको मासिक न्यूनतम शुल्क पनि २५ रुपैयाँले घटाइएको छ र क्रमशः रू १५०, रू. १७५, रू. २०० र रू. २५० कायम गरिएको छ ।

सिंगल फेजबाट आपूर्ति लिएर मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने गार्हस्थ्य उपभोक्ताको विद्युत् शुल्क ५० पैसाले घटाएर प्रतियुनिट ९ रुपैयाँ ५० पैसा कायम गरिएको छ । सिंगल फेजबाट आपूर्ति लिएर मासिक ४०० युनिटभन्दा माथि विद्युत् खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको शुल्क १ रुपैयाँले घटाएर प्रतियुनिट ११ रुपैयाँ कायम गरिएको आयोगको भनाइ छ ।

विद्युत्को आन्तरिक खपत बढाउने गरी नयाँ महसुल दर लागू गरिएको आयोगका सदस्य रामप्रसाद धितालले बताए । ‘आशा छ, अब विद्युत् खपतमा वृद्धि हुनेछ,’ उनले भने ।

सरकारको नीतिअनुरूप गार्हस्थ्य उपभोक्तालाई इन्डक्शन चूल्होजस्ता घरायसी विद्युतीय उपकरणमा प्रोत्साहन हुने गरी नयाँ महसुल दर ल्याइएको उनको भनाइ छ । विद्युतीय सवारीसाधनको उपयोग बढाउन थ्री फेजबाट विद्युत् आपूर्ति लिने ग्राहकको हकमा भने मौसमी महसुल दर लागू गरिएको छ । अब त्यस्तो ग्राहकलाई असारदेखि कात्तिकसम्म वर्षायामको महसुल दर र मङ्सिरदेखि जेठसम्म सुक्खायामको महसुल दर लागू हुने आयोगको भनाइ छ ।

४०० युनिटसम्म विद्युत् खपत गर्ने गार्हस्थ्य उपभोक्ताको वर्षायामको इनर्र्जी शुल्कप्रति युनिट रू. १ ले घटाएर १० रुपैयाँ ५० पैसा कायम गरिएको छ । यस्तै, मासिक ४०० भन्दा बढी युनिट विद्युत् खपत गर्ने उपभोक्ताको वर्षायामको इजर्नी शुल्क प्रतियुनिट १ रुपैयाँ ५० पैसाले घटाएर प्रतियुनिट १० रुपैयाँ ५० पैसा र सुक्खायामको इनर्जी शुल्क ५० पैसाले घटाएर ११ रुपैयाँ ५० कायम गरिएको छ । आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ७ : २५ बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ