१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

चितवनमा ३५ बिघामा फूलखेती, तिहारलाई साढे दुई लाख माला



चितवन । तिहार नजिकिँदै जाँदा चितवनमा सयपत्री फूल तयार भएका छन् । यहाँका बारीमा सयपत्री फूल ढकमक्क फुलेका छन्, तिहारको पर्खाइमा । अबको दुई/तीन दिनमा फूल टिप्ने तरखरमा छन्, यहाँका किसान । सयपत्री फूलखेतीमा पछिल्ला वर्ष युवा पुस्ताको आकर्षण पनि बढ्दै गएको छ ।

सप्तरी राजविराजका शशन देवकोटाले भरतपुर महानगरपालिका-५ समीचोकमा पाँच कट्ठा जमिनमा सयपत्री फूलखेती गरेका छन् । बारीमा फूल टिप्ने बेला भइसकेको छ । लक्ष्मी पूजाको अघिल्लो दिनदेखि फूल टिप्न थाल्ने उनले योजना बनाएका छन् ।

‘पहिलो पटक सयपत्री फूल लगाएको हो । राम्रो भएको छ’, उनले भने । उनले कलकत्ते हाइब्रिड र कर्मा-५५५ जातको सयपत्री फूल लगाएका हुन् । पाँच कट्ठामा लगाएको फूलबाट करिब २ हजार माला बिक्री हुने उनको अनुमान छ । कृषिका विद्यार्थीसमेत रहेका उनलाई फूलमा लाग्ने रोगको बारेमा राम्रोसँग जानकारी छ ।

फूलमा कतै-कतै ढुसी र स्पाइडर माइट देखिने गरेको उनले बताए । राम्रो विषादीको प्रयोग गर्न जाने फूल बचाउन सकिने उनी बताउँछन् । देवकोटाले यो वर्ष एउटा माला ८० देखि १ सय रुपैयाँसम्म विक्री गर्ने योजनामा छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापकसमेत रहेका भरतपुर-१५ रामपुरका सूर्य ढुंगानाले १० कट्ठामा सयपत्री फूलखेती गरेका छन् । ‘फूल तयार भइसकेको छ । फूलको बुकिङ पनि सुरु भइसकेको छ । लक्ष्मी पूजाको दिनबाट टिप्न सुरु गर्छौँ’, उनले भने ।

१० कट्ठामा लगाइएको फूलबाट करिब १० हजार माला बनाउन सकिने उनको अनुमान छ । गत वर्ष लकडाउनका बेला बचेको समयलाई सदूपयोग गर्न उनले केही जग्गामा सयपत्री फूल लगाएका थिए । फूलको उत्पादन र माग दुबै राम्रो भएपछि उनले यो वर्ष पनि फूलखेती गरेका हुन् ।

यो वर्ष उनले अरु साथीलाई समेत समेटेर भरतपुर महानगरका विभिन्न स्थानमा सयपत्री फूलखेती गरेका छन् । मंगलपुर, फूलबारी लगायतका स्थानमा एक विघामा सामुहिक फूलखेती गरिएको उनले जानकारी दिए । ‘फूलको माग राम्रो छ । तिहारमा बेचेर सकिएन भने पनि मंसिर लाग्दै छ । विवाह टन्नै हुन्छन् । बिक्री भइहाल्छ’, उनले भने ।

पोहोर उनले सयपत्री फूलको विरुवा किनेर ल्याएर खेती गरेका थिए । यो वर्ष भने थाइल्याण्ड र भारतबाट फुलको बीउ ल्याएर विरुवा उत्पादन गरी फूलखेती गरिएको उनले बताए । चितवनमा मात्रै यो वर्ष करिब ४० हजार विरुवा बिक्री गरेको उनी बताउँछन् । दाङमा २० हजार विरुवा पठाइएको उनले बताए ।

अहिले भरतपुर र नारायणगढका केही व्यापारीले थोरैथोरै परीमाणमा फूल लैजान थालेको उनले बताए । ‘अहिले एउटा मालाको फूललाई ६० रुपैयाँमा दिएका छौँ । लक्ष्मीपूजाको दिनबाट त सय रुपैयाँ पर्छ । अहिले सस्तो परेकाले कोल्ड स्टोरमा राखेर तिहारसम्म टिकाउने भन्दै केही व्यापारीले छिटपुट लग्न थालेका छन्’, उनले भने ।

काठमाडौँ, पोखरा लगायत बाहिरी जिल्लाका व्यापारीलाई भने अहिल्यै नदिइने उनले बताए । लक्ष्मी पूजाको दिनबाट मात्रै बिक्री गरिने उनको भनाइ छ ।

भरतपुर–७ मा पनि युवाले सामूहिक रुपमा सयपत्री फूलखेती गरेका छन् । युवाले माली दाइ एग्रो इनोभेसन प्राली नामक संस्था स्थापना गरेर २७ कट्ठामा फूलखेती गरेका छन् । पर्वलाई लक्षित गरेर विभिन्न चरणमा फूलखेती गरिएको माली दाइका सञ्चालक इन्जिनियर सागर कार्कीले बताए । कार्कीसहित कृषिका विद्यार्थी अजयकुमार यादव र शिक्षक एक्सन लौडारीले सामूहिक फूलखेती गरेका हुन् ।

दशैँलाई नौ कट्ठा, तिहारलाई १५ कट्ठा र छठ तथा विवाहको सिजनका लागि भनेर तीन कट्ठामा फुल लगाइएको उनले बताए । ‘तिहारका लागि लगाइएको फुलबाट आठ हजार माला बनाउन सकिन्छ कि भन्ने अपेक्षा छ’, उनले भने, ‘हामी सस्तोमा माला दिन खोज्दै छौँ । सजावटका लागि चाहिने एक मिटरको मालालाई सय रुपैयाँ र घाँटीमा लगाइदिने मालालाई ८० रुपैयाँमा दिने योजना छ ।’

तिहारको लागि भने आठ सय किलो फूल र दुई हजारजति मालाको माग आइसकेको उनी बताउँछन् । तिहारलाई लक्षित गरेर भरतपुर–७ बुद्धचोकमा फूलको पसल राख्न लागिएका उनले बताए । ‘सामाजिक संस्था बेटर चितवनको समन्वयमा मालि दाई स्थापना भएकाले पसलमा संस्थाका स्वयमसेवक खटिन्छन् । त्यसबाट आएको नाफा सामाजिक काममा नै प्रयोग गर्छौँ’, उनले भने ।

यस वर्ष चितवनमा करिब ३५ बिघामा व्यावसायीक रुपमा सयपत्री फूलखेती गरिएको फ्लोरिकल्चर एशोसियसन नेपाल चितवनका कोषाध्यक्ष सुलभ श्रेष्ठ बताउँछन् । त्यसबाट एक लाख २० हजार मालालाई पुग्ने फूल उत्पादन हुने अनुमान छ ।

‘घरमै आफूले लगाउने भनेर पनि कतिपयले फूल लगाएका छन् । करिब ३५ बिघामा व्यावसायिक रुपमा नै लगाइएको छ । ती दुबैबाट गर्दा साढे दुई लाख माला बन्न सक्ने अनुमान गरेका छौँ’, उनी भन्छन्, ‘चितवनलाई त्यतिले मात्रै पुग्दैन । अरु थप एक लाख मालाको लागि चाहिने फूल बाहिरी जिल्लाबाट ल्याउनुपर्छ ।’

मालाको मूल्य निर्धारण भइनसकेकाले बाहिरबाट थप फूल नआए मालाको मूल्य बढ्न सक्ने उनी बताउँछन् । तिहारमा ८० देखि १ सय रुपैयाँसम्ममा एउटा माला बिक्री हुने व्यवसायीले बताएका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ८ : ४३ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले