११ श्रावण २०८३, सोमबार | July 27, 2026

स्वास्थ्य मापदण्ड पालना गर्दै तिहार पर्व मनाउन प्रधानमन्त्री देउवाको आग्रह



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि कोभिड-१९ को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड-१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन आग्रह गरेका छन् ।

भाइटीकाका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले सरकारको निरन्तर प्रयास र नेपाली दिदीबहिनी तथा दाजुभाइको सहयोगले कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यमा उल्लेख्य प्रगति हासिल भएको उल्लेख गरेका छन् ।

सन्देशमा कोभिड-१९ को प्रभावलाई न्यूनीकरण गर्न सरकार निरन्तर क्रियाशील भएकाले होसियारीपूर्वक यस किसिमका पर्वलाई केही हदसम्म आपसीरुपमा बसेर मनाउन सक्ने सन्देशमा उल्लेख छ ।

सन्देशमा प्रधानमन्त्रीले यतिबेला संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकलाई विकास र प्रगतिको दिशामा अगाडि बढाइरहेको उल्लेख गर्दै आम नागरिक र राज्यका सबै निकायको आ-आफ्नै भूमिका एवं कार्यक्षेत्र रहने हुँदा सबैले आफ्नो भूमिकालाई बिर्सेर हिँड्न खोज्यौँ भने त्यसले हामी कसैलाई सफलता र खुसी दिन सक्दैन भनेका छन् ।

उनले तिहारजस्तो दिदीबहिनी र दाजुभाइको मिलन गराएर आपसी भाइचाराको सम्बन्ध बढाउने पर्वले हामी सबैलाई त्यो किसिमको प्रेरणा र खुसी देओस् भन्ने कामना गर्दै मुलुकमा शान्ति, अमनचयन र सुशासनको प्रत्याभूतिमा उचाइ हासिल गर्न मद्दत पुगोस् भन्ने कामनासमेत व्यक्त गरेका छन् ।

स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले यस पर्वले आम नेपाली दिदीबहिनी तथा दाजुभाइका बीच आपसी भाइचाराको सम्बन्ध विस्तार गर्नमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

भगवान् सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीको घरमा गई पाँच दिनसम्म बसेर रमाइलो गरेको हुँदा यसैको सम्झानास्वरुप यमपञ्चकका रुपमा पाँच दिनसम्म मनाइने, ढोकामा ओखरलाई फोडेर दिदीबहिनीले दाजुभाइको पूजा गर्दै दीर्घायूको कामना गर्ने विशेष दिनका रुपमा पनि भाइटीकालाई लिने गरिएको प्रसङ्ग सन्देशमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ६ : ५७ बजे

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्दैछ

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका केही संवेदनशील

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । साउन महिनाको दोस्रो सोमबार आज भगवान् शिवको आराधना

सुनसरी तनावग्रस्त : झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एकको मृत्यु, २२ जना घाईते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज बजारमा साउने सोमबारको बोलबम